नेपालले पछिल्ला चार आर्थिक वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली निर्यात र ६५ अर्ब रूपैयाँको बिजुली आयात गरेको छ।
यो अवधिमा नेपालले ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली भारत र बंगलादेशलाई बेचेको हो। त्यस्तै ६४ अर्ब ७४ करोड रूपैयाँको बिजुली किनेको छ।
नेपालले सन् २०२१ नोभेम्बर (२०७८ कात्तिक १७) देखि भारतमा बिजुली निर्यात गर्न थालेको हो। पहिलो पटक ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो। त्यसयता हरेक वर्ष निर्यात बढ्दै गएको छ।
हाल नेपालले भारतमा १०९०.९ मेगावाट बिजुली निर्यात गर्ने अनुमति पाएको छ।
भारतसँगै नेपालले बंगलादेशमा पनि बिजुली निर्यात गरिरहेको छ। २०८१ कात्तिक ३० देखि बंगलादेशमा बिजुली निर्यात सुरू भएको हो। भारतीय प्रसारण लाइन प्रयोग गरेर ४० मेगावाट बिजुली निर्यात गरिँदै आएको छ।
भारत र बंगलादेश गरी बर्खाको समय कुल ११३०.९ मेगावाट बिजुली नेपालले निर्यात गरिरहेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बंगलादेश गरी साढे १७ अर्ब रूपैयाँको बिजुली निर्यात गरेको थियो। त्यस वर्ष विद्युत प्राधिकरणले भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख गरी कुल १७ अर्ब ४५ करोड ६७ लाख रूपैयाँको बिजुली बिक्री गरेको हो।
हिउँदको सुख्खा याममा भारतबाट बिजुली आयात पनि गरिँदै आएको छ। गत वर्ष १२ अर्ब ९२ करोड रूपैयाँको बिजुली आयात गरिएको प्राधिकरणको तथ्यांकले देखाउँछ।
प्राधिकरणका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बिजुली निर्यात बढेको छ।
आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८३ करोड ३५ लाख युनिट (१६ अर्ब ८१ करोड ३ लाख रूपैयाँको) बिजुली आयात गरिएको थियो। त्यसै वर्ष १ अर्ब ९४ करोड २६ लाख युनिट (१६ अर्ब ९३ करोड रूपैयाँ) बराबरको बिजुली भारत निर्यात गरिएको थियो।
त्यही आर्थिक वर्षदेखि नेपालले बिजुली आयातभन्दा निर्यात धेरै गरेर खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको दाबी प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए।
त्यसअघिका दुई आर्थिक वर्ष नेपालले घाटाको बिजुली व्यापार गरेको थियो। अर्थात्, निर्यातभन्दा आयात धेरै थियो।
आर्थिक वर्ष २०७९/८० मा १९ अर्ब ४४ करोड रूपैयाँको बिजुली आयात भएको थियो भने १० अर्ब ४५ करोडको निर्यात भएको थियो। त्यस्तै, २०७८/७९ मा १५ अर्ब ४६ करोडको बिजुली आयात गरेर ३ अर्ब ८८ करोड रूपैयाँको निर्यात गरिएको थियो।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतमा दुई तरिकाले बेच्छ — एउटा, द ऊर्जा एक्सचेन्ज (आइएक्स) को 'डे अहेड तथा रियल टाइम मार्केटमा' प्रतिस्पर्धी दरमा बेच्छ। अर्को, मध्यकालीन विद्युत सम्झौताअनुसार भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) लाई बिक्री गरिन्छ।
निर्यात गरिएको बिजुलीको औसतदर प्रतियुनिट ८ रूपैयाँ ७२ पैसा छ।
भारत र बंगलादेशमा बर्खा याममा मात्र दैनिक निर्यात भइरहेको ११३०.९ मेगावाट बिजुली वर्षभरि दिन सक्ने हो भने ९ अर्ब ९० करोड ६ लाख युनिट बिजुली बिक्री हुन्छ। यसबाट नेपालले ८६ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्न सक्छ।
तर अहिले बर्खा याममा मात्र बिजुली निर्यात हुन्छ। हिउँदमा आफैलाई अपुग हुन्छ। अपुग समयमा भारतबाट आयात गर्नुपर्छ।
नेपालको विद्युत जडित क्षमता ३६ सय मेगावाट नाघेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार नेपालको बिजुली माग 'पिक आवर' (धेरै खपत हुने समय) मा २२ सयदेखि २३ सय मेगावाट छ। बिजुली उत्पादन ३ हजारदेखि ३१ सय मेगावाट भइरहेको ढकालले जानकारी दिए।
'भारत र बंगलादेशमा निर्यात भइरहेकाले बिजुली खेर जाने समस्या छैन,' उनले भने।
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता भइसकेको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा दीर्घकालीन विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको थियो। २०८० पुस १९ गते उक्त प्रारम्भिक सम्झौताले मूर्तरूप पायो। त्यो सम्झौतापछि जलविद्युत क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित छन्।
ऊर्जा उत्पादकहरूले १० वर्षमा भारत निर्यात गर्ने १० हजार मेगावाट बिजुली उत्पादन गर्न आफूहरू सक्षम भइसकेको प्रतिक्रिया दिँदै आएका छन्।
सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि ४६ खर्ब लगानी आवश्यक पर्ने उल्लेख गरिएको छ। उत्पादित २८ हजार मेगावाटमध्ये १३ हजार देशमै खपत गर्ने र १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य छ।
***