चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती। घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल। पहाडको अग्लो स्थान। शान्त वातावरण। पाखाभरि ढकमक्क फुलेका लालीगुराँस। बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने।
अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताए।
‘घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ’, उनले भने,‘हामी पर्यटकको पर्खाइमा छौं, पर्यटकलाई स्वागत गर्न आतुर छौं।’
जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ। चैत–वैशाख गुराँस फुल्ने याम हो। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन्।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रजातिका छन्। घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनहरूमा उल्लेख छ।
लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयबासीसमेत रहेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।
‘वनैभरि राताम्मे फुलेका गुराँसका रंगले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ’, उनले भने, ‘गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ।’
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन्।
घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०/७० विदेशी र १०० जति नेपाली पर्यटक भ्रमणमा आएका छन्।
‘घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्यांक हामीले राख्ने गरेका छौं’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि २०७६ चैतदेखि रोकिएको पर्यटकको उपस्थिति गत फागुनदेखि हुन थालेको छ।’
काठमाडौंबाट आठ जनाको समूहमा घोडेपानी घुम्न आएकी अक्षता भट्टराईले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताइन्।
गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाइन्।
फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन्।
‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको व्यवस्था मिलाएका छौं’, उनले भनिन्, ‘घोडेपानीमा रहेका २७ होटललाई सुविधा र पूर्वाधारका आधारमा दुई समूहमा वर्गीकरण गरेका छौं, ११ होटललाई (क) र १६ लाई (ख) समूहमा वर्गीकरण गरेर फरक फरक दररेट बनाइएको हो।’
एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ।
यसअघि सबै होटलले प्रतिव्यक्ति एक रात बास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु एक हजार पाँच सय शुल्क लिने गरेका थिए। घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन्। गत फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शुल्कको नयाँ दर २०७८ चैत १ गतेदेखि लागू हुने उपसिमतिका अध्यक्ष पुनले बताइन्।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ।
समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्।