चितवनलगायत तराई क्षेत्रमा गर्मीले जनजीवन अस्तव्यस्त बनिरहेको छ।
तापक्रम बढेका कारण विद्यालयहरूले बिदा दिइरहेका छन्।
उखर्माउलो गर्मीले आजित बनाइरहँदा नजिकका पहाड, खोला, झरनाहरूमा मान्छेको उपस्थिति बढेको छ।
चितवनमा भरतपुरबाट एक घण्टाको अवधिमा पुगेर शीतलको अनुभूति गर्न सकिने केही गन्तव्यहरू छन्।
लामो झरना
लामो झरना इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ।
नारायणघाट–मुग्लिन सडकको जलबिरेबाट करिब ५ सय मिटर माथि रहेको करिब ६० मिटर लम्बाइको यो झरनाले गर्मीयाममा पर्यटकलाई मोहित बनाउँछ।
गर्मी छल्न भनेर यहाँ धेरै पर्यटक पुग्ने गरेका छन्। यहाँ पुग्न भरतपुरबाट गाडीमा ३० देखि ४० मिनेट लाग्छ।
रिग्दी खोला
नारायणघाट–मुग्लिन सडकसँगैको रिग्दी खोला पनि गर्मी छल्ने मुख्य गन्तव्य बनिरहेको छ।
इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको सीमानामा पर्ने यो खोलामा बग्ने सफा पानी र सुन्दर दृष्यले पर्यटकलाई पनि लोभ्याउँछ।
रिग्दी खोला चितवनको सबैभन्दा उचाइमा रहेको सिराइचुलीलगायतका क्षेत्रबाट उत्पत्ति भएर त्रिशूली नदीमा मिसिने उत्तर वाहिनी खोलो हो।
यहाँ पुग्न भरतपुरबाट गाडीमा करिब आधा घण्टा लाग्छ।
चौकीडाँडा
चौकीडाँडा भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो।
साविकको कविलास गाविसमा पर्ने चौकीडाँडा पुग्न नारायणघाट–मुग्लिन सडकको भोर्लेबाट करिब ९ किलोमिटर कच्ची बाटो उकालो लाग्नुपर्छ।
समुद्री सतहबाट १२ सय मिटर उचाइमा रहेको यो पहाडी गाउँमा बस्नका लागि होमस्टेहरू छन्।
चौकीडाँडाबाट प्याराग्लाइडिङ पनि चल्छ। भरतपुरबाट छोटो समयमै पुगिने पहाड भएकाले पर्यटकको रोजाइमा यो ठाउँ पनि पर्ने गरेको छ।
यहाँ पुग्न भरतपुरबाट गाडीमा एक घण्टा लाग्छ। राजमार्गभन्दा माथि कच्ची बाटो भएकाले साना गाडीहरूलाई सजिलो छैन। मोटरसाइकल र ग्राउण्ड क्लियरेन्स बढी भएका गाडीहरू चौकीडाँडा सजिलै पुग्न सक्छन्।
गैरीबारी झरना
गैरीबारी झरना कालिका नगरपालिकामा पर्छ।
खोलेसिमल–शक्तिखोर सडकको गैरीबारी चोकबाट करिब २ किलोमिटर पर पर्छ यो झरना। यो झरनालाई व्यवस्थित बनाउन कालिका नगरपालिकाले यस वर्ष १० लाख रुपैयाँ खर्च गरेको छ।
झरनासम्म जाने सिँडी, विश्रामस्थल, गोलघर, शौचालय, चेञ्जिङ रुम, रेलिङ, धारो, पौडी खेल्न सहज हुनेगरी ड्याम निर्माण गरिएको छ। यहाँ पुग्न भरतपुरबाट ४५ मिनेटजति लाग्छ।
सिन्ती झरना
सिन्ती झरना पनि कालिका नगरपालिकामै पर्छ। शक्तिखोर–सिद्धी सडकबाट १५ मिनेटजति हिँडेपछि यो झरनामा पुगिन्छ।
५० मिटर लामो यो झरनालाई व्यवस्थित बनाउन कालिका नगरपालिकाले यस वर्ष १५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
यो बजेटले झरनासँगै पोखरी निर्माण, सिँडी, रेलिङ, गोलघर, शौचालय, चेञ्जिङ रुम, विभिन्न स्थानमा कुसीहरु निर्माण भइरहेको छ। भरतपुरबाट करिब २४ किलोमिटर पूर्वतर्फ पर्ने यो झरना करिब एक घण्टामा पुग्न सकिन्छ।
यी बाहेक इच्छाकामनाका उपरदाङगढी, मायाटार क्षेत्र पनि गर्मीको समयमा पर्यटकको रोजाई बनिरहेका छन्। भरतपुरदेखि करिब डेढ घण्टा यात्रा गरेर मायाटार पुग्न सकिन्छ।
चितवनको पुरानो सदरमुकाम पनि रहेको बहादुर शाहका नाती शत्रुभञ्जन शाहले निर्माण गरेको किल्ला उपरदाङगढी मायाटारभन्दा ७ किलोमिटर नजिक पर्छ।