नेपाली लोकपप व्याण्ड नेपथ्यका गायक अमृत गुरुङको गाउँ कस्कीको पोखरा–लेखनाथ वडा नं २२ कालाबाङ घरेडीमा आइतबार पर्यटन मेला लाग्यो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं ४को दोस्रो वार्षिक अधिवेशनमा मेला लागेको हो ।
पोखरा उपत्यका नजिकैका गाउँमा गुरुङ, दलित र बाहुनका १५६ घर छन् । त्यहाँ आइतबार जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा अधिबेशन भयो । गाउँलेले पञ्चै बाजाले स्वागत गरेका थिए । उनीहरुले पाहुनालाई लोकल परिकार खुवाएर आनन्दित तुल्याए ।
करिब डेढ सयको हाराहारीमा पोखराबाट गाउँमा पाहुना आईपुग्दा मेलाकै झल्को मिलेको थियो । ती मध्ये आधा जतिले गाउँमै रात बिताए । मनसुनको बिहानी गाउँको शिरान चक्र हाल्ने डाँडाबाट अन्नपूर्ण, माछापुच्छे लगायत हिमालले दर्शन दिएका थिए । डाँडाबाट फेवातालको पनि सुन्दर रुप देखिन्छ ।
गाउँमा गुम्बा र शिवालय छन् । ग्रामीण जीवनशैली छ । त्यहाँ विसं २०७१ चैतदेखि १८ घरमा होमस्टे पर्यटन शुभारम्भ गरिएको छ । एशियन फोरमले उनीहरुलाई सघाएको हो । अधिबेशनका अबसरमा आइतबार भिटोफ पोखराले कालाबाङ घरेडी सामुदायिक होमस्टे र ल्वाङ सामुदायिक होमस्टेलाई एक्सिलेन्ट लिडरसिप अवार्ड समेत दिएको थियो ।
बिहान नेपथ्यका गायक अमृत गुरुङको जन्मघरमा भिड लाग्यो । ढुँगा र माटोले बनेको दुई तले घरमा स्थानीय शुक्रराज माविका शिक्षक रामेश्वर ढकाल र श्रीमती ज्योति ढकाल बस्दै आएका छन् ।
‘अमृत दाईको घर पर्यटकीय आकर्षण बन्न सक्छ’, भिटोफ पोखराका संस्थापक अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘हामी दाईसँग कुरा गरेर त्यो घरमा उहाँका सामानहरु बाजा, कपडा, एल्बम लगायत सजाएर संग्रहालय बनाउन अनुरोध गर्नेछौं ।’
सामुदायिक होमस्टेका उपाध्यक्ष प्रकाश गुरुङले कालाबाङ उत्कृष्ट गाउँ पर्यटनको नमुना बन्दै गएको जानकारी गराएका थिए । गाउँमा खेतीपाती गरेको, धान काटेको, दाइँ हालेको, भैंसी दुहेको, दही मोथेको, गोरु जोतेको दृश्य हेर्न पाइन्छ। त्यस्तै अग्र्यानिक तरकारी र कफि उत्पादन गरिन्छ ।
कार्यक्रममा भिटोफ प्रदेश नं ४ ले पहिलोपटक प्रदान गरेको क्याप्टेन रुद्रमान स्मृति ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार २०७३बाट कान्तिपुरका लालप्रसाद शर्मा र नागरिकका सन्तोष पोखरेल सम्मानित भए । त्यसैगरि अधिबेशनले रविन्द्रराज पौडेलको संयोकत्वमा नयाँ कार्यसमिति चयन गर्यो ।
कालाबाङ पोखराको लेकसाइडबाट करिब १३ किमि दुरीमा छ । सिद्धार्थ राजमार्गको स्याङ्जा जाने सडक खण्डको तिलहारबाट राजमार्ग छाडेर करिब २.५ किमि उकालो चढेपछि गाउँमा पुगिन्छ ।
[caption id="attachment_82149" align="alignnone" width="826"]
पाहुनाको स्वागतका लागि तयार पञ्चेबाजा टोली। तस्बिरः सेतोपाटी[/caption]
[caption id="attachment_82161" align="alignnone" width="826"]
अध्यक्ष तारानाथ पाहरी कार्यक्रलाई सम्बोधन गर्नै[/caption]
[caption id="attachment_82159" align="alignnone" width="826"]
पत्रकार अमृत भादगाउँले विशेष मायाको चिनो ग्रहण गर्दै[/caption]
[caption id="attachment_82158" align="alignnone" width="826"]
पत्रकारद्वय सन्तोष पोखरेल र लाल प्रसाद शर्मा उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार ग्रहणपछि[/caption]
[caption id="attachment_82157" align="alignnone" width="826"]
नवनिर्वाचित भिटोफ पोखराका कार्यसमिति सदस्यहरू[/caption]
[caption id="attachment_82154" align="alignnone" width="826"]
नेपथ्यका गायक अमृत गुरुङको जन्मघर[/caption]