भाद्र मेला (फाला) को रमझमले मुस्ताङको रमणिय गाउँ ठिनी तातेको छ । तीन दिन चलेको मेला सोमबार सकिएको जनमुक्ति युवा क्लब ठिनीका सचिव निरज थकालीले बताए ।
मेलामामा याक नाच, झाँकी, लोपोन्मुख ढुङग्री नाच, थकोर्चेन राजाको पालामा गरिने योद्धा नाच तथा सांस्कृतिक कार्यक्रमका साथै परम्परागत नाटक प्रस्तुत गरिएको थियो । तल्लो मुस्ताङमा रहेका पाँच गाउँ मध्ये एक विशेष र प्राचीन कालमा राजा बस्दै आएको ठिनी गाउँका बासिन्दा संस्कृति, परम्परा, भेषभुषा र पर्व जोगाउन लागि परेका छन् ।
मेला अवलोकनका लागि अन्य गाउँबाट समेत मान्छेहरु आएको गाउँ मुखिया कुल बहादुर थकालीले बताए । सोमबार बिहान गाउँका ठुला लामा, बुद्धिजिवि, भलादमी र अन्य सबै थकाली भेषभुषामा बाजागाजासाथ उपस्थिति भएका थिए । उनीहरुले दानवको पुत्ला बनाएर नष्ट गरि असत्य माथि सत्यको जित भएको उद्घोष गरे ।
मेलामा सक्रिय जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकाली भन्छन्, असत्य माथि सत्यको जित वा दानव माथि देउताको जित भएको देखाएका हौं ।
बेलुकी भने आयलामाद्वारा विशाल अग्नि प्रज्वलन गरि उक्त अग्निबाट निस्किएको तरल पदार्थलाई सबैले प्रसादका रुपमा ग्रहण गरेका थिए । हरेक वर्ष मेलाको अन्त्यमा यसरी नै आयलामा द्वारा आशिर्वाद लिई ३ दिने ठिनी भाद्र मेला (फाला) अपौचारिक रुपमा समापन गरिन्छ ।
मेला सफल पार्न ठिनी गाउँ समाज, ठिनी आमा समूह र जनमुक्ति युवा क्लब सक्रिय बनेका थिए ।