‘हेल्लो, मःम टु गो! हाउ क्यान आई हेल्प यु?’
पहिलो वाक्य अंग्रेजीपछि संवाद नेपालीमा सुनिन थाल्छ।
‘अर्डर’ लिने बोल्न थाल्छन्, ‘हजुर, कुन मःम?’
‘...’
‘यहीँ खानुहुन्छ कि लैजानुहुन्छ?’
अधिकांश ग्राहक ‘लैजाने’मा पर्छन्।
‘तयार गर्न एकछिन समय लाग्छ,’ व्यस्तता हेरी ग्राहकलाई सूचना दिइन्छ, ‘२० मिनेटमा आउनुस् न है।’
लिने नेपालीमा बोल्यो भने अर्डर गर्ने पनि नेपाली नै हो भनिराख्नु परेन। तर, अमेरिकाको कुनै ठाउँमा ग्राहक–विक्रेताबीच यस्तो संवाद एकाधबाहेक टेक्ससमा मात्र सुन्न पाइन्छ। एक–दुई होइन, यहाँ यस्ता थुप्रै दोकान छन्, जहाँ विक्रेता–ग्राहकबीच नेपालीमा संवाद हुन्छ।
हामी अहिले डालस सहर, अर्भिङको ‘फ्रेस फुड स्टोर’मा छौं। अमेरिकाका ग्यास स्टेसन इन्धनका लागि कम, खुद्रा सामानका लागि बढी प्रचलित छ। खुद्रा दोकान भनेकै ग्यास स्टेसन, ग्यास स्टेसन भनेकै खुद्रा दोकान। यो त्यही हो।
जुलाईको दोस्रो साताको कुरा,
टेक्ससको घाम थाप्लोमा टेक्छ, सडकको राप अनुहार सेक्छ। तन्दुर रोटी सेकाउने घ्याम्पोमाथि मुन्टो झुन्ड्याउँदा कस्तो होला! सडकछेउका घाँस सुकेको खरबारीजस्तो देखिन्छ। सडक र घामको तातोले डढेलो त सल्किँदैन नि?!
बाहिर उराठलाग्दो भए पनि यहाँका ग्यास स्टेसन छिर्दा गाउँ–ठाउँकै चिया पसल पुगेजस्तो लाग्छ। फ्रेस फुड सेन्टर त्यस्तै ‘हब’ हो, जहाँ नेपालीको आऊजाऊ चलिरहन्छ।
अझ, ग्यास स्टेसनको एउटा कुनो ओगटेर बसेको ‘मःम टु गो’ले नेपाली माहोललाई अझै जीवन्त बनाइदिन्छ। फोनमा हुने संवाददेखि, टेबुलसम्म नेपाली नै नेपाली। आफ्नै भाषा त छँदैछ, आफ्नै स्वाद पनि!
त्यो स्वाद हो, मःम।
मःमको दुई ‘म’ लाई छुट्याउन बीचमा दुई थोप्लो कसले घुसारिदियो? नेपालीपन यहीँदेखि सुरु भयो कि!
दुई अक्षरको यो खान्की अब एउटा परिकार मात्र रहेन। मःमले बिभिन्न स्वादहरुसँग तालमेल गरिसक्यो। संसार घुम्न थालिसक्यो। मःमको आकार, बुट्टा कसको हो थाहा छैन, तर यसको स्वादले ‘नेपाली झण्डा’ बोकिसक्यो! कतिले मःमलाई तिब्बती खान्की भन्छन्, कतिले ‘किन नेपाली दाबी नगर्ने’ भन्न थालेका छन्।
यस सवालमा मःम टुगोका सञ्चालक प्रदीप गिरी मध्यमार्गी हुन्। ‘आकार–प्रकार जसको भए नि स्वादचाहिँ नेपाली नै हो,’ दाबी–भीडन्त भयो भने डालसका नेपाली युवा व्यवसायी प्रदीपको नारा पक्का यही हुन्छ!
‘चीन, कोलम्बिया, ताइवानतिर पनि हाम्रो मःमजस्तै आकारको परिकार छ,’ प्रदीप भन्छन्, ‘एक दुई पश्चिमा देशमा पनि मःम जस्तै देखिने खानेकुरा पाइन्छ। अमेरिकी स्टोरहरुमा पाइने डम्प्लिङ देख्दा ठ्याक्कै हाम्रो मःम हो। तर, स्वाद फरक छ।’
प्रदीपको बुझाइमा बुट्टा र आकार मःम होइन। मःमको पहिलो सर्त हो, स्वाद। त्यो स्वाद मःमको डल्लो मात्र नभइ अचार पनि हो।
त्यो स्वादको सर्जक काठमाडौंको नेवारी समुदाय हो भन्नेमा प्रदीप ढुक्क छन्। गम्भीर खोज–अनुसन्धान भने होइन। प्रदीप मात्र होइन, मःमका थुप्रै पारखीहरु यसै भन्छन्। तीब्बत र काठमाडौंबीच पुरानो व्यापारिक साइनो छ। काठमाडौंका नेवारहरुले थाप्लोमा भारी र जिब्रोमा मःम एकै खेप ओसारे होलान्। र, आफ्नै रैथाने स्वाद दिएर पोको पारे होलान्।
पछि, ठेलागाडा र सानो टपरीले मःमको बजारिकरण ग¥यो। बाँके कोहलपुरका प्रदीप यही टपरी मःम खाएर हुर्केका हुन्। झोल अचारसँग तातो मःमको डल्लो खाँदा आवाजको झल्को अझै सुन्छन्, सरप्प!
प्रदीप मःम व्यवसायी मात्र होइनन्, पहिले मःमको पारखी हुन्। आफूलाई ‘मःम लभर’ भनेर चिनाउँछन्। ‘भर्खरै भात खाएर टन्न छु भने पनि मःमचाहिँ खान सक्छु,’ उनी भन्छन्, ‘अरु चिज टन्न खाँदा अमन हुन्छ, मःम हुँदैन।’
पढ्न अमेरिका आइसकेपछि प्रदीपको छटपटी सुरु भयो। मःम खान नपाउँदाको छटपटी। नेपाली रेष्टुरेन्टमा पाइने मःमले नेपालको स्वाद दिँदैनथ्यो। बजार चहार्दै खाएको मःमको मजा यहाँ कहाँ पाउनु? घरमा मःम बनायो, खायो, धित मार्ने उपाय यही एउटा थियो।
एकदिन प्रदीपसँग श्रीमती अञ्जना गिरीसँग मःम खाँदै भविष्यको योजना बुन्दै थिए। खाइरहेको मःमले नै बाटो देखायो। सल्लाह गरे, मःमको व्यापार किन नगर्ने?
‘हामीलाई मःमकै व्यापार गर्नुथियो,’ उनी भन्छन्, ‘किनभने यो नेपाली स्वाद हो। मःम हामीलाई मन पर्छ। अरुलाई पनि मन पर्छ। मन पर्ने खानेकुरा बनाउँदा रमाइलो पनि हुन्छ।’
यसपछि उनीहरु ठाउँ खोज्नतिर लागे। ‘कमर्सियल किचन’ भेट्टाए। कमर्सियल किचन पकाउने ठाउँ मात्र हो। त्यहाँ बसेर बेच्न पाइँदैन। अनलाइन या फोनमार्फत् ग्राहकसम्म पुगिन्छ। उनले खोजेको पनि यस्तै थियो, ‘डेलिभरी’ गर्ने। किनकि, त्यतिबेलासम्म डालसको अर्भिङ क्षेत्रमा मःम डेलिभरी गर्ने कमै थिए। घण्टाको २५ डलर तिरेर एउटा चुल्हो भाडामा लिए।
‘सुरु–सुरु भएकाले हाम्रो सम्पर्क थिएन,’ उनले सुनाए, ‘अर्को कुरा मःमबारे यहाँका मानिसहरु त्यति जानकार पनि थिएनन्। तर, एउटा फाइदा के भयो भने अनलाइन र फोनमार्फत् ग्राहकसम्म पुग्न सजिलो भयो।’
यसपछि ‘फ्रेस फुड स्टोर’को कुनो भेटियो। देख्दा मात्र कुनो, ‘पार्टटाइम/फुलटाइम’ गरी नौ जनाले रोजगारी पाएका छन्। काम गर्ने सबै नेपाली। प्रदीप आफैंचाहिँ यहाँका ‘पार्टटाइम’ कारिन्दा हुन्। पसलले गति नसमात्दासम्म उनी रातदिन यहीँ खटिन्थे। अहिले ‘पिकअप’ लिन थालेको छ। दिउँसो बिभिन्न कम्पनीमा लेखाको काम गर्छन्। बिहान–बेलुका मःम टुगोमै हुन्छन्। दिनभर दोकान सम्हाल्ने अञ्जना हुन्छिन्। दैनिक औषत २५ सयदेखि तीन हजार डलर कारोबार हुन्छ।
प्रदीप-अञ्जना दम्पत्तिले मःम मात्र बेचेकाचाहिँ होइनन्। फ्राई राइस, चाउमिन पनि बेच्छन्। सुरु–सुरुमा विद्यार्थीलाई लक्षित गरेर पाँच डलरमै खाजा खुवाउँथे। अहिले उनको लक्ष्य मःममै छ। त्यसैले थरी–थरी स्वादमा थरी–थरी रङका मःम सिर्जना गर्दैछन्। यस्सो हेर्दा, मःम व्यापारी भन्दा मःम सर्जक पो हुँदैछन् प्रदीप दम्पत्ति!
काठमाडौंका ठेलागाडामा बेचिने मःमको सम्झनामा झोल मःम बेच्छन्। काठमाडौंको ‘बोता’ रेष्टुरेन्टको मःम त प्रदीपले चाखेका छैनन्, तर सुनेको आधारमा साँधेको मःम तयार पारेका छन्। बोताको स्वादसँग कति मिल्छ, उनैलाई थाहा छैन। तर, नामको जसचाहिँ बोतालाई नै दिन्छन्।
प्रदीपको लक्ष्य व्यापारमै छ, त्यसैले उनी उदाउँदा व्यवसायी हुन्। जो ठाउँ र लगानीको सीमिततालाई बुझेर व्यवसाय गर्दैछन्। व्यवसाय पनि एउटा शील्प हो। अहिले यी दुई मःम शील्पी हुँदैछन्।
पढेकै बिजनेस! बजारिकरण कसरी गर्ने भन्ने पनि उनलाई राम्ररी थाहा छ। फेसबुकमा मःम टुगोको पेज बनाएका छन्। पेजमा मःमको फोटो त सबैले हाल्छन् नै, अनुमति लिएर ग्राहकसँगको सेल्फी पनि टाँसिदिन्छन्। मःम जमघटको फोटो खिच्ने बहानामा पनि ग्राहक बढेको महसुस भएको छ प्रदीप दम्पत्तिलाई।
कहिले उनीहरू काठमाडौंको छोयला सम्झिन्छन्, र मःमलाई छोयलाको स्वाद दिन लागिपर्छन्। कहिले झानेको मःम तयार पार्छन्। कहिले नेपालको रारा चाउचाउको याद आउँछ, चाउचाउ फ्राई गरेर त्यसमाथि दुई–चार डल्ला मःमले सजाइदिन्छन्। चाउचाउ कि मःम त? यो खान्की पनि मःम नै हो। चाउचाउ त मःमको स्वादलाई तिख्खर बनाउने सहायक मात्र रे!
कहिले चाउमिन र मःमलाई एकैठाउँमा घोलघाल पार्दिन्छन्। र, नाम दिन्छन्, चाउमिन मःम। दुवै खाउँ–खाउँ लाग्ने, तर एकैचोटी दुइटा चिजलाई पैसा खर्च गर्न माया लाग्नेहरुलाई त स्वाद परिगो! कहिले फ्राइ राइसभित्र मःम घुसारिदिन्छन्। कहिले प्लेटको बीचमा पास्ता राखेर मःमको पर्खाल ठड्याइदिन्छन्। अमेरिका घुम्न आएका बखत आमालाई मुलाको अचार र सेलरोटी बनाउने जिम्मा दिए। मःमबाहेक यो पनि चल्तीको मेनु हो। कुनै दिन सेलरोटीको प्वाल मःमले टाल्दे भने?
नेपालीहरुले चिने–जानेको खाना मात्र होइन, पश्चिमाहरुको खान्कीसँग नेपाली मःमको दोस्ती गराउने सोचमा छन् उनी। मेक्सिकीहरुको मिठो स्वाद बुरिटोसँग मःम मिसाएर बनाएको ‘मःम बुरिटो’ नयाँ उदाहरण हो। पिज्जा र मःमको जोड पनि तयार पारेका थिए, तर बनाउन समय लाग्ने भएपछि अहिलेलाई बन्द छ। समोसा चाटको अवधारणामा चाट मःम चलिरहेकै छ।
यसरी दुनियाँथरी खानासँग मिसाउँदा मःमको मौलिक स्वाद रहला त अनि?
‘सही प्रश्न,’ प्रदीप भन्छन्, ‘तर, हामीले मःमको स्वादचाहिँ बिगारेका छैनौं। मौलिक स्वाद नै भएको मःमसँग अरु खाना मिसाएको मात्र हो। यसले बेग्लै स्वाद त दिन्छ तर, मःमको असली स्वादचाहिँ मार्दैन। के पनि हो भने, खाना स्वाद र स्वास्थ्यको कुरा हो। यदि ग्राहकलाई मन परेन भने अस्वीकार गरिहाल्छन्। त्यसैले हामीले मःमसँग अरु खाना जोडेर बनाएका कति खानेकुरा चलेनन्, बन्द ग¥यौं।’
कुनै पनि कुरा ठ्याक्कै उही रङ, उही स्वाद, उही आकारमा विश्वव्यापीकरण हुँदैनन्। खाना पनि त्यस्तै हो। उही कच्चापदार्थ, उही विधि प्रयोग गरेर कुनै भुगोलको खाना अर्को भूगोलमा उही स्वादमा बन्दैन। नेपाली खाना त अझै हातकै बढी प्रयोग हुन्छ। नेपाली खाना भनेकै हातको स्वाद। हात, हावा र पानीले जिब्रोको स्वादमा फरक पारिहाल्छ।
यही बुझेर प्रदीप नेपाली जिब्रोको मःमलाई विश्वव्यापी स्वाद दिँदैछन्। उनी भन्छन्, ‘मःमलाई अमेरिकाभरी चिनाउन मन छ।’
त्यसका लागि ‘कुनो अवधारणा’ अर्थात्, सानो ठाउँ नै प्रभावकारी हुने ठान्छन्। नेपालको पान पसलको मुखजत्रो आकारमा अमेरिकाका सहरभरी ‘मःम टुगो’ को फ्रेन्चाइजी भएको सपना देख्छन् बेला–बेला। त्यसैले मःमलाई अमेरिकी स्वादको लौरो टेकाउँदैछन्।
त्यसो त उनको मान्यता के छ भने मःमको असली स्वादचाहिँ भत्काउनु हुँदैन। ‘नाम मात्र नेपाली भएर हुँदैन,’ उनी भन्छन्, ‘हामीले नेपाली स्वादलाई विश्वव्यापीकरण गर्ने हो भने नाम मात्र होइन, स्वाद पनि उही हुनुपर्छ। खानेको जिब्रोअनुसार खानाको स्वाद तोडमोड गर्नुभन्दा नेपाली खानामा बानी पार्नुपर्छ। पिरो खानेकुरा हो भने पिरो नै बनाउनुपर्छ।’
एउटा अवरोध के देख्छन् भने, मःम बनाउन खर्चिलो छ भन्छन् उनी। मःम बनाउँदा हातकै बढी प्रयोग हुन्छ। उपाय के त? ‘मःमको किमा र बुट्टा तयार पार्ने मेसिन बने सजिलो हुन्थ्यो कि?’ प्रदीप भन्छन्।
तर, कुरा के पनि हो भने नेपाली खाना, हातको स्वाद। भनाइ नै छ, हातै मिठो!