नेपालको सुदूर पश्चिम क्षेत्रमा मनाइने गौरा पर्व अमेरिकाका विभिन्न सहरहरूमा मनाइएको छ। भाद्र पञ्चमीका दिनबाट सुरु भई पूर्णिमाका दिन देवी पार्वतीको विशेष पूजा अर्चनाका साथ एक साता सम्म मनाइने गौरा पर्व सुदूरपश्चिमको मौलिकता, संस्कृति र परम्परा जोगाउनका लागी मनाइएको आयोजकहरूले जनाएका छन्।
विगत केही वर्ष देखि गौरा मनाउँदै आएको टेक्सास राज्य स्थित सुदूर पश्चिम नेपाली समाज, टेक्सासले हिजो स्थानीय नेपाली हिन्दु मन्दिर परिसरमा पूजा अर्चनाका साथै देउडा नाच समेतको आयोजना गरेको संस्थाका सभापति प्रेम शाहीले बताए। स्थानीय भक्त्तालु महिलाहरूले आफ्नो सौभाग्यको प्रार्थना सहित गौरा देवी अथार्त पार्वतीको पूजा अर्चना गरेका थिए। देवी पार्वतीलाई देवी गौरी भनेर पनि मानिन्छ।

यसै गरी अमेरिकाको न्युयोर्क स्थित सुदूरपश्चिमेली समुदायले पनि गौरा पर्व मनाएको छ। न्युयोर्क निवासी तथा जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिस्टका अनुसार नेपालको सुदूरपश्चिमबाट आई न्युयोर्कमा बसोबास गर्ने समुदायलाई एकीकृत गर्ने उद्देश्यले गठित सुदूर पश्चिम समाज, न्युयोर्कले आइतबार एक कार्यक्रमको आयोजना गरी पूजा अर्चना तथा देउडा नृत्यका साथ गौरा बनाएको हो।
