अमेरिकाको लस एन्जल्सस्थित क्याथोलिक चर्चले बालयौन दुर्व्यवहारसम्बन्धी १३ सयभन्दा बढी उजुरी मिलाउन पीडितहरूलाई ८८ करोड डलर क्षतिपूर्ति तिर्ने भएको छ।
क्यालिफोर्निया राज्यको कानुनले विगतमा भएका बालयौन दुर्व्यवहारका उजुरी ब्युँताउन तीन वर्षको समय तोकेपछि चर्चले क्षतिपूर्ति दिन लागेको अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट' ले लेखेको छ।
बालयौन दुर्व्यवहारका १३ सय ५३ उजुरीमध्ये केही घटना सन् १९४० दशकका छन्। धेरैजसो घटना लस एन्जल्सका पादरीले, केही सर्वसाधारणले र केही लस एन्जल्स बाहिरका पादरीले उक्त चर्चमा काम गर्दा भएका थिए।
लस एन्जल्सका मुख्य पादरी (आर्चविशप) होजे गोमेजले पत्र लेख्दै 'हरेक घटनाका लागि आफू हृदयदेखि दु:खी भएको र यो क्षतिपूर्तिले पीडित पुरूष र महिलालाई थोरै भए पनि राहत दिने आशा गरेको' बताएका छन्।
पीडितहरूको सम्पर्क परिषदले मुख्य पादरीबाट स्वीकारोक्ति आउनुलाई प्रशंसनीय मानेको छ। तर जतिसुकै रकम क्षतिपूर्ति दिए पनि पीडित बालबालिकाले दशकौंसम्म चुपचाप भोगेको पीडाको भर्पाइ नहुने उसले जनाएको छ।
यो क्षतिपूर्तिका लागि चर्च र पीडितका वकिलहरूले लामो समय वार्ता गरेका थिए। लस एन्जल्सको क्याथोलिक चर्चले आफ्नो बचत, लगानी, सम्पत्ति र ऋणबाट क्षतिपूर्ति दिने पनि मुख्य पादरी उल्लेख गरेका छन्।
क्याथोलिक चर्चले विश्वभरि नै दशकौंदेखि बालयौन दुर्व्यवहारको आरोप खेप्दै आएको छ। विगतमा चर्चले त्यस्तो घटना ढाकछोप गर्दै आएकोमा पछिल्ला केही दशकयता छानबिन गराउन थालेको छ। धेरै पादरीले जेल सजाय पाएका छन् भने पछिल्ला दुई पोपले विगतमा भएका बालयौन दुर्व्यवहारका घटनामा माफीसमेत मागेका छन्।