द वासिङटन पोस्टले अमेरिकाको आगामी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारलाई अनुमोदन नगर्ने फैसला गरेपछि दुई लाख ५० हजार सबस्क्राइबर घटेका छन्।
अमेरिकामा प्रायः जसो पत्रिकाले हरेक राष्ट्रपतीय निर्वाचनमा कुनै न कुनै उम्मेदवारलाई अनुमोदन गर्छन्। पोस्ट आफैले पनि सन् १९७६ मा डेमोक्रेटिक पार्टीका जिमी कार्टरलाई अनुमोदन गरेपछि सन् १९८८ बाहेक हरेक चुनावमा कोही न कोहीलाई अनुमोदन गरेको थियो।
सबभन्दा धेरै पाठक भएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले पनि यो वर्ष डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई अनुमोदन गरेको छ।
पोस्टले पनि उनैलाई अनुमोदन गर्ने अपेक्षा थियो। पोस्टको सम्पादकीय लाइन निर्धारण गर्ने र विचार पृष्ठ हेर्ने सम्पादकीय बोर्डले ह्यारिसाई अनुमोदन गरेको लेख लेखिसकेपछि पोस्टका मालिक जेफ बेजोसले गत हप्ता यसपालि कसैलाई अनुमोदन नगर्ने निर्णय गरेका थिए।
अरू धेरै व्यवसाय गर्ने अमेजनका संस्थापक बेजोसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई खुसी पार्न वा उनी रिसाउलान् भनेर डराएर यस्तो निर्णय गरेको भनेर सम्पादकीय बोर्डका सदस्य लगायत कर्मचारी र पूर्व कर्मचारीहरूले व्यापक विरोध गरेका छन्।
अमेरिकाको सरकारी संस्था नासासँग ३.४ अर्ब डलरको करार भएको बेजोसको कम्पनी ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पले ट्रम्पसँग भेट गरेकै दिन बेजोसले अनुमोदन नगर्ने निर्णय गरेका थिए।
त्यसैले ट्रम्पले चुनाव जितेमा आफ्ना अरू व्यवसायमाथि रिस पोख्न उनले नोक्सान पुर्याउलान् भनेर डराएर बेजोसले त्यस्तो निर्णय लिएको भनेर विरोध भइरहेको छ। अन्तरिक्षको होडमा बेजोसका प्रतिद्वन्द्वी र स्पेस-एक्स कम्पनीका मालिक एलन मस्कले सारा शक्ति लगाएर ट्रम्पलाई जिताउन लागेकाले पनि बेजोसलाई दबाब परेको हुन सक्छ।
ट्रम्पले पहिले नै चुनाव जिते सरकारको प्रभावकारिता बढाउन मस्कलाई आफ्नो मन्त्रिमण्डलमा राख्ने घोषणा गरिसकेका छन्। मस्कको कार कम्पनी टेस्लाले अमेरिकी सरकारको विद्युतीय गाडी प्रवर्द्धन गर्ने नीति अनुसार अनुदानमा अर्बौं डलर पाइरहेको छ।
उनको अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेस-एक्सले पनि नासा लगायत सरकारी संस्थासँग अर्बौं डलरको करार गरेको छ। ट्रम्पले जिते मस्कको कम्पनी स्पेस-एक्स कम्पनीले अन्तरिक्ष होडमा धेरै पछाडि पार्लान् भनेर डराएर बेजोसले ह्यारिसलाई अनुमोदन नगरेका हुन सक्छन्।
उनको निर्णयको व्यापक विरोध भएपछि पोस्टमै एउटा लेख लेख्दै उनले सो निर्णयको बचाउ गरेका छन्। पत्रिकाले अनुमोदन गर्दैमा प्रभावित भएर कसैले पनि सो उम्मेदवारलाई भोट नहाल्ने जिकिर गर्दै, बरू एउटा उम्मेदवारलाई अनुमोदन गर्दा पत्रिकाको निष्पक्ष छविमा प्रश्न उठ्ने बताएका छन्। साथै ब्लु ओरिजिनका प्रमुख कार्यकारी डेभ लिम्पको ट्रम्पसँग भेट एक्कासि तय भएको दाबी गर्दै आफूलाई सो बैठकबारे केही थाहा नभएको र अनुमोदन नगर्ने निर्णय आफूले पहिल्यै लिइसकेको बताएका छन्।
उनले बचाउ गरे पनि डेमोक्रेटिक पार्टीका समर्थक र ट्रम्पको अराजक व्यवहार र राजनीतिका कारण आजित भएका धेरै तटस्थ पाठकले समेत पोस्टको सबस्क्रिप्सन छाडेका छन्।
बेजोसको निर्णयपछि दुई लाखभन्दा बढीले सबस्क्रिप्सन छाडेको भनेर अमेरिकाको नेस्नल पब्लिक रेडियोले सोमबार जनाएको छ।
पोस्टका करिब २५ लाख सबस्क्राइबर रहेको मानिएकामा १० प्रतिशत जतिले बेजोसको निर्णयपछि छाडेको भनेर एक्सियस अनलाइनले पनि लेखेको छ।
द लस एन्जलस टाइम्सका मालिकले पनि ह्यारिसलाई अनुमोदन गर्न रोकेकाले हालै सम्पादकीय बोर्डका प्रमुखले राजीनामा दिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)