ग्लोबल नेपाली
चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) पढाइ पूरा गरेपछि डा. केशव पौडेलले साढे एक वर्ष त्रिवि शिक्षण अस्पतालमा काम गरे। त्यसपछि स्वास्थ्य मन्त्रालय पुगे।
मन्त्रालयमा काम गरेको साढे एक वर्ष भएको थियो। देश सशस्त्र द्वन्द्वको चरमोत्कर्षमा थियो। उनको मन त्यसै बिथोलिए जस्तो भयो। स्वदेशमै रमाऊँ कि अलिक विकसित मुलुकमा गएर एमडी (चिकित्साशास्त्रमा स्नातकोत्तर) पढूँ भनेर मन दोधारमा पर्यो। अन्ततः विदेश जाने र एमडी पढ्ने निष्कर्षमा पुगे।
यसरी केशव सन् २००५ मा अमेरिका गए।
'नेपालबाहिर कुन देश उपयुक्त होला भनेर बुझ्दा अमेरिका उचित लाग्यो,' केशवले भने, 'दुई-तीन वर्ष अमेरिका बसेर एमडी सक्छु अनि फर्किन्छु भन्ने सोचले गएको थिएँ। बस्दा बस्दै २० वर्ष भयो, फर्किने मेसो मिलेको छैन। समय कुरिरहेको छु।'
नेपालबाट पढाइका लागि विदेश जाने अधिकांश व्यक्ति पढाइ सकेर फर्किने सोच बनाउँछन्। बस्दै जाँदा परिस्थिति फरक ढंगले विकसित हुँदै जान्छ। आखिर उतै बसाइ हुन्छ।
यस्तै भएको हो डा. केशवको जीवनमा पनि।
उनलाई मात्रै होइन, धेरैलाई किन यस्तो हुन्छ?
यो जिज्ञासामा उनले जबाफ दिए, 'युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया जाँदा बाटो फराकिलो हुन्छ। गाह्रो भए पनि मान्छे पुगेको हुन्छ। त्यहाँ गएपछि फर्किने बाटो साह्रै साँघुरो हुने रहेछ।'
विकसित देशको भौतिक सुविधा र भोगविलासले पनि नेपालजस्ता देशका नागरिकहरू स्वदेश फर्किन नचाहने वा फर्किन नसक्ने अवस्था भएको उनले देखेका छन्। भौतिक सुविधा पाएपछि मान्छे त्यसैमा जानी–नजानी अलमलिँदो रहेछ भन्ने उनको अनुभवले बताएको छ।
उनका अनुसार विदेशमा केही वर्ष बसेर त्यहाँको अवसर लिन सक्ने भएपछि नेपाल फर्किँदा अवसर गुम्ने हुन सक्छ। फेरि त्यही देशमा गएर पहिलेको अवसर लिन प्रारम्भिक अवस्थादेखि मेहनत गर्नुपर्छ। त्यतिन्जेलमा आफ्ना साथीहरू अर्को ठूलो अवसर लिने अवस्था पुगेका हुन्छन्।
यसरी तुलनात्मक रूपमा आफू कमजोर हुन्छु भन्ने सोचका कारणले पनि नेपाल नफर्किने निर्णय लिनुपर्ने हुन्छ। विकसित देशको भौतिक सुविधा भोगेको र राम्रो कामको अवसर पाएको व्यक्तिले त्यो सबै त्यागेर नेपाल फर्किन निकै बलियो मनोवैज्ञानिक तयारी गर्नुपर्छ।
'म पनि एमडी पूरा गरेर तीन वर्षमा फर्किन्छु भनेरै गएको हुँ तर आफ्नो सँगै परिवारको आवश्यकता पनि थपियो। छोरो जन्मियो, अब केही वर्ष बसौं भन्ने भयो,' उनले भने, 'एक-दुई वर्ष मात्र बस्ने भन्दाभन्दै केटाकेटी ठूला हुन्छन्। उनीहरूलाई पढाउने कुरा आउँछ। समय बितेको पत्तै हुँदैन। यसरी नै म बसेको पनि २० वर्ष भयो।'
अमेरिकामा एमडी पढाइ पूरा गरेलगत्तै उनले कलेजमा पढाउने र बिरामी जाँच्ने अवसर पाए। बढी समय पढाउनमा धेरै खर्च हुन्थ्यो।
उनले व्यवस्थापक भएर काम गर्ने सोच बनाए अनि एमबिए (व्यवस्थापन विषयमा स्नातकोत्तर) पढे। यो पढाइ पूरा गरेपछि उनी चिकित्सकभन्दा बढी व्यवस्थापक भए।
कामकै सिलसिलामा सन् २०१३ मा केशव न्यूयोर्कबाट न्यू-मेक्सिको पुगे। त्यहाँ पुगेपछि उनको व्यावसायिक जीवन फराकिलो बन्दै अघि बढ्यो। न्यूयोर्कबाट न्यू-मेक्सिको गएपछि 'लभल्यास हेल्थ सिस्टम' मा काम गरे। त्यहाँ मेडिकल डाइरेक्टर र सिनियर मेडिकल डाइरेक्टर हुँदै रिजनल मेडिकल डाइरेक्टर भए। न्यू-मेक्सिको विश्वविद्यालयमा क्लिनिकल सहायक प्रोफेसर भए।
न्यू-मेक्सिकोमा 'सोसाइटी अफ हस्पिटल मेडिसिन' को अध्यक्ष पनि भए। उनलाई लभल्यास हस्पिटलले 'हेल्थ केयर हिरो अवार्ड' ले सम्मान गर्यो।
न्यू-मेक्सिकोमै रहँदा डा. केशव एनआरएनए (गैरआवासीय नेपाली संघ), अमेरिकाको अध्यक्ष भए। दुई कार्यकाल चलाएपछि एनआरएनएको महासचिव भए। हाल उपाध्यक्ष छन्।
डा. केशवले 'अमेरिकन कलेज अफ फिजिसियन' को राष्ट्रिय कमिटीमा सदस्य भएर पनि काम गरेका छन्। सन् २०२२ देखि उनी नेपाली समुदायको बाक्लो बसाइ रहेको नर्थ क्यारोलिनामा छन्। त्यहाँको 'युनाइटेड हेल्थकेयर' मा क्षेत्रीय चिकित्सा निर्देशकको जिम्मेवारीमा छन्। उनको जिम्मवारी चिकित्सकीय र व्यवस्थापकीय दुवै छ।
उनले अमेरिका र नेपालका विभिन्न व्यवसायमा लगानी पनि गरेका छन्। अमेरिकाकै केही ठाउँमा क्लिनिक खोलेका छन्। होटल र ग्रोसरी स्टोरमा पनि लगानी छ। कतिपय व्यवसायमा निष्क्रिय लगानी छ।
नेपालमा भने ग्रिन सिटी हस्पिटल, भैरहवाको टाइगर प्यालेस र आइटी क्षेत्रमा लगानी गरेका छन्।
उनले नेपालको र अमेरिकाको स्वास्थ्य क्षेत्र नजिकबाट नियालेका छन्। नेपालमा चिकित्सकहरू काबिल भए पनि नीतिनियम र कानुनले अप्ठ्यारो पार्ने गरेको उनको भनाइ छ। उनले नेपालमा विश्वसनीयता, जिम्मेवारी र पारदर्शिता अभाव देखेका छन्।
'अहिले पनि कागजमा रेकर्ड रख्ने सिस्टम छ। पूर्ण रूपमा डिजिटल प्रविधिमा जान नसक्दा बीमा कार्यक्रम बदनाम छ। बीमा कार्यक्रम र अस्पतालबीच आरोप-प्रत्यारोप छ,' उनले भने, 'नेपालमा धेरै काम व्यक्तिगत पहुँचका आधारमा हुन्छ। मिल्ने काम नहुने र नमिल्ने काम हुने अवस्था छ। उत्तरदायित्व र पारदर्शिताको अभाव छ।'
विदेशमा रहेका धेरै नेपालीले नेपालमा लगानी गरेका भए पनि राज्यले त्यसको उचित मूल्यांकन नगरेको डा. केशवको गुनासो छ।
नेपाल सरकारले संविधानप्रदत्त अधिकार अनुसारको गैरआवासीय नागरिकता नदिई एनआरएनलाई भिसाको प्रक्रियामा अलमल्याउन खोजेको उनको आरोप छ।
'हामी (गैरआवासीय नेपाली) ले भूकम्प र बाढीपहिरो जस्ता विपत्तिमा धेरै काम गरेका छौं तर सरकारले हामीलाई चोट पर्ने गरी अध्यादेश ल्याइदियो,' उनले भने, 'हामीलाई नेपाल आउन निःशुल्क भिसा चाहिएको होइन। हामीलाई नेपालको माया थोरै छ भनेर सोच्न भएन। एक पटकको नेपाली सधैंको नेपाली हो तर सरकारले आफ्नै नागरिकलाई भिसामा राख्न हुँदैन भनेर बुझ्न सकेन।'
नेपाल सरकारले संविधानमा व्यवस्था भए अनुसार एनआरएनए नागरिकता दिनुपर्ने उनको माग छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]