ग्लोबल नेपाली
संयुक्त राज्य अमेरिकामा कराते स्कुल (डोजाङ) स्थापना गर्ने पहिलो नेपाली शान्त थोकरले गत डिसेम्बरमा अर्को इतिहास बनाए।
कराते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री थोकरले गत डिसेम्बरमा कराते प्रतियोगिता आयोजना गर्दै इतिहास रचेका थिए। उनी अमेरिकामा कराते प्रतियोगिता आयोजना गर्ने नेपाली मूलका पहिलो व्यक्ति बने।
थोकरभन्दा अघि पनि करातेका धेरै प्रशिक्षक तथा खेलाडी अमेरिका गएका थिए। तर कसैले प्रतियोगिता आयोजना गर्ने आँट गरेका थिएनन्। थोकरले पाँच वर्षअघि हिम्मत गरेका थिए।
कोभिड-१९ को महामारी र त्यसपछिको खेल तालिकाको चापका कारण युएसए कराते महासंघबाट समय मिलाउन गाह्रो भइरहेको थियो। लामो प्रतीक्षापछि सन् २०२४ डिसेम्बरमा प्रतियोगिता आयोजनाका लागि महासंघबाट समय मिल्यो।
अमेरिकाको न्यूयोर्कस्थित क्वीन्समा गत डिसेम्बरमा थोकरको नेतृत्वमा आइएमए कराते च्याम्पियनसिप पहिलो पटक आयोजना गर्दा सात देशका खेलाडीले प्रतिस्पर्धा गरे। पाँचदेखि ४५ वर्ष उमेरका खेलाडीले विभिन्न तौल समूहमा भाग लिएको प्रतियोगितामा २५० बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलाडीहरूले काता र कुमुते गरी १३२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए।
नेपाली समुदायको तर्फबाट पहिलो पटक कराते प्रतियोगिता आयोजना गरेपछि १८ वर्षदेखिको अमेरिका बसाइ पूर्ण भएको थोकरले महसुस गरेका छन्।
'सबै स्कुलको आ-आफ्नो च्याम्पियनसिप हुन्छ। त्यसैले मैले पनि आफ्नो स्कुलतर्फबाट प्रतियोगिता आयोजना गरेको हुँ,' प्रतियोगिताको सफल आयोजनापछि बिदा मनाउन नेपाल फर्किएका थोकरले सेतोपाटीसँग भने, 'नेपाली समुदायको तर्फबाट पहिलो पटक कराते च्याम्पियनसिप आयोजना गर्न सफल भएकोमा खुसी लागेको छ।'
![thokar-karate4-1739377592.jpg](https://www.setopati.com/uploads/posts/thokar-karate4-1739377592.jpg)
नेपालमा सेतोकान करातेको स्थापित प्रशिक्षक भएका थोकर सन् २००५ मा पहिलो पटक अमेरिका गएका थिए। त्यति बेला उनी सोतोकान करातेको विश्व च्याम्पियनसिप खेल्न दुई खेलाडी लिएर प्रशिक्षकको भूमिकामा अमेरिका पुगे। अमेरिकाबाट फर्किएपछि उनले नेपालको माहोल ठीक पाएनन्।
नेपाल सोतोकान करातेको महासचिव, प्रमुख प्रशिक्षक तथा कराते महासंघको रेफ्री कमिटीमा समेत रहेका उनी नेपाली खेलकुदमा हुने अनावश्यक राजनीतिले दिक्क थिए। अझ माओवादी द्वन्द्वका कारण सहज रूपमा काम गर्ने वातावरण पनि थिएन।
दुई वर्षपछि, सन् २००७ मा उनी दोस्रो पटक अमेरिका गए। त्यसपछि उनले अमेरिकामै करातेबाट करिअर बनाउने सोचे। त्यति बेला अमेरिकामा नेपालबाट गएका करातेका धेरै प्रशिक्षक र खेलाडी थिए। तर कसैले करातेमा व्यावसायिक करिअर बनाएका थिएनन्।
अमेरिका बस्न थालेको दोस्रो वर्ष, अर्थात् सन् २००८ मा उनले न्यूयोर्कमा कराते स्कुल खोले। योसँगै उनी अमेरिकामा कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली बने।
'इन्टरनेसनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्क आइएमए स्कुल' स्थापना गर्न उनलाई चुनौती पनि भयो।
'त्यति बेलासम्म अमेरिकामा नेपालीको करातेको स्कुल थिएन। त्यसैले निकै अप्ठ्यारो भयो,' थोकरले भने, 'अमेरिकाको नीति नियमबारे धेरै थाहा थिएन। त्यहीँ बस्ने वकिल खगेन्द्र क्षेत्रीले धेरै सहयोग गर्नुभयो। मेरो पहिलो स्कुल स्थापनामा उहाँको योगदान र प्रोत्साहनले आँट आएको थियो।'
अहिले अमेरिकामा धेरै नेपालीले कराते स्कुल खोलिसकेका छन्। यसका लागि थोकरले सुझाव तथा सल्लाह पनि दिन्छन्।
पहिलो स्कुल उनले १० वर्षसम्म निरन्तर चलाउन सफल भए। त्यसपछि सो स्कुल आफ्नै विद्यार्थीलाई चलाउन दिएर दुई वर्ष आराम गरे। पछि फेरि न्यूयोर्कमा नयाँ स्कुल खोले। 'आइएमए कराते निहोन डो' नाममा नयाँ स्कुल खोलेर अर्को अध्याय सुरू गरेका थोकरका अहिले दुइटा स्कुल सञ्चालनमा छन्। दोस्रो स्कुल 'निहोन कराते डो' गत वर्षदेखि सञ्चालनमा आएको हो।
उनका कराते स्कुलहरू युएसए कराते अन्तर्गत आधिकारिक रूपमा दर्ता छन्। आइएमए कराते स्कुलमा नेपाल, दक्षिण एसियाली र अरू देशका खेलाडी छन्। नयाँ स्कुलमा भने नेपाली विद्यार्थी छैनन्, सबै विदेशी छन्। दुवै स्कुलमा गरी दुई सय प्रशिक्षार्थी छन्।
करातेमै करिअर बनाउने सोचले अमेरिका गएका थोकरलाई अरू काम गर्नुपरेको छैनन्। निरन्तर मेहनत र करातेमा हासिल गरेको दक्षताले आफ्नो व्यावसाय विस्तार गरिरहेका छन्।
अमेरिकाको १८ वर्षे बसाइमा उनले ७ हजारभन्दा बढीलाई कराते सिकाइसकेका छन्। दुइटा स्कुलमा उनीसहित पाँच जना प्रशिक्षक छन् जसमध्ये एक जना उनकै छोरा समीर छन्। अरू तीन जना म्यान्मा, जापान र मलेसियाका हुन्।
दोलखा पुर्ख्यौली घर भएका थोकर करातेमा लागेको ४० वर्ष भइसक्यो। नेपालमा हुँदा तीन डान लिएका उनी अहिले सातौं डानका कराते प्रशिक्षक हुन्।
सुरूमा उनले वादोकाइ कराते खेले। उनका पहिलो प्रशिक्षक मानबहादुर तामाङ हुन्। त्यसपछि पेम्बा तामाङबाट कराते सिके। पेम्बा विश्व करातेको माथिल्लो स्तरमा पुग्ने थोरै नेपालीमध्ये पर्छन्। हाल जापानमा रहेका उनी करातेबाट इन्स्ट्रक्टरको कोर्ष गर्ने पहिलो गैरजापानी व्यक्ति हुन्। पेम्बा सेतोकान कारातेको विश्व विजेता पनि हुन्।
![448493119_10224789847002655_2195267776105865209_n-1739435950.jpg](https://www.setopati.com/uploads/posts/448493119_10224789847002655_2195267776105865209_n-1739435950.jpg)
थोकरले अमेरिका पुगेपछि चौथोदेखि सातौं डानसम्मको परीक्षा पास गरेका हुन्। उनी पान अमेरिकन कराते महासंघका अन्तर्राष्ट्रिय रेफ्री पनि हुन्। नेपालमा छँदा राष्ट्रिय रेफ्री थिए। सन् २००७ देखि भने उनी युएसए कराते अन्तर्गतको रेफ्री छन्।
अमेरिकन करातेमा समेत आफूलाई सफल प्रशिक्षकका रूपमा उभ्याएका थोकर अमेरिकी करातेमा सम्भावना धेरै भएको बताउँछन्।
'तपाईं क्वालिफाइड हुनुहुन्छ भने अमेरिकामा करातेको धेरै अवसर छन्। करातेमा दत्तचित्त भएर लागियो भने अरू सोच्नुपर्दैन,' थोकरले भने, 'क्षमता भयो भने अमेरिकामा सफल हुन सकिन्छ। नेपालमा भने अनावश्यक राजनीति र खुट्टा तान्ने प्रवृत्ति छ। यो हिसाबले नेपालमा भन्दा अमेरिकामा सजिलो छ भन्ने लाग्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]