पार्टी राजनीतिमा धेरै समयदेखि सक्रिय रहे पनि राष्ट्रिय राजनीतिमा शिवमाया तुम्बाहाङ्फेको चर्चा २०७४ सालपछि मात्रै भएको हो। पहिलो पटक सांसद बनेकी शिवमायाले उपसभामुखको जिम्मेवारी पाइन्।
झन्डै दुई वर्ष उपसभामुख भएपछि उनी कानुनमन्त्री बनिन्। भूमिसुधार मन्त्री पनि भइन्।
अब उनले दक्षिण कोरियाका लागि राजदूतको जिम्मेवारी सम्हाल्ने भएकी छन्। नेकपा एमाले स्थायी कमिटी सदस्य (राजदूत भएपछि निष्क्रिय) रहेकी शिवमायाको अबको भूमिका कूटनीतिमा रहनेछ।
त्यसो त २०७३ सालमा पनिर उनी इसराइलका लागि राजदूत सिफारिस भएकी थिइन्। तर तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेपछि त्यो बाटो रोकियो।
यसपटक भने उनले राजदूतको जिम्मेवारी सम्हाल्ने भएकी हुन्।
अब कूटनीतिक क्षेत्रमै सक्रिय हुने हो भन्ने प्रश्नमा शिवमायाले भनिन्, 'राजदूत हुनु भनेको सक्रिय राजनीतिबाट टाढिनु होइन। अहिले जिम्मेवारीको हिसाबले मात्र कूटनीतिक क्षेत्रमा काम गरिने हो। राजनीतिक क्षेत्रको गतिविधिसँगै कूटनीतिक क्षेत्रको गतिविधि पनि जोडिएको हुन्छ। हामीले हेर्दा यो अलि टाढा जस्तो देखिए पनि राजनीतिबाट विमुख भएर कूटनीति अगाडि बढ्दैन। सिंगो मुलुकलाई कूटनीतिक क्षेत्रबाट के सेवा दिन सकिन्छ भनेरै म यता लागेकी हुँ।'
मुलुकका लागि यो व्यक्ति जरूरी छ भन्ने ठानेरै सरकारले यो निर्णय गरेको अनुभूति आफूलाई भएको उनले बताइन्। त्यस्तै राजदूत बनेर कुनै पनि देशमा गइसकेपछि देशको प्रतिनिधि भएर काम गर्नुपर्ने उनको भनाइ छ।
चार दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय ६० वर्षीया शिवमाया २०७३ सालमा राजदूत सिफारिस हुँदा मानसिक रूपमा तयार भइसकेकी थिइनन्। त्यो बेला कूटनीतिक क्षेत्रमा जान्छु भनेर आफैलाई बुझाउन पनि धेरै समय लागेको थियो। त्यो बेलादेखि नै मनस्थिति बनाउँदै आएर होला, अहिले भने अनौठो नलागेको उनले बताइन्।
कूटनीतिक क्षेत्रको कामको अनुभव भयो भने राजनीतिक क्षेत्रमा पनि फाइदा हुन्छ भन्ने उनलाई लागेको छ।
हेर्नुस् शिवमायासँग यिनै विषयमा गरिएको भिडिओ कुराकानीः