अस्ट्रेलियामा रहेको नेपाली चिकित्सकको टोलीले सिड्नीको मेरिल्यान्ड्समा रेल्वे टेरेस मेडिकल प्राक्टिस नामक आफ्नै निजी क्लिनिक सञ्चालनमा ल्याएका छन्।
सिड्नीमा रहेका नेपाली चिकित्सकहरू डा. प्रविण पाठक , डा. सुरेन्द्र खनालको संयुक्त पहलमा आइतबारदेखि नेपाली समाजको बाक्लो उपस्थिति रहेको मेरिल्यान्ड्स इलाकामा मेडिकल सेन्टर खोलिएको हो।
सो क्लिनिकमा मानसिक रोग विज्ञ डा. घनश्याम चापागाईं, बालरोग विशेषज्ञ भुवन कँडेल र महिला रोगसम्बन्धी जानकार डाक्टर अन्जु पाण्डेले पनि सेवा प्रदान गर्ने कुरा मेडिकल सेन्टरले जनाएको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले सेन्टरको उद्घाटन गर्दै नेपाली विशेषज्ञताले विश्वभर ख्याति पाउनु मुलुकका लागि गर्वको विषय भएको बताइन्।
राजदूत शेर्पाले यससँगै नेपाली चिकित्सकहरूले अस्ट्रेलियामा रहेका नेपाली बा आमा र विद्यार्थीका विषयमा पनि केही सरल र सहज उपचारको पहल गरिदिए सुनमा सुगन्ध हुने बताइन्।
कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्काले नेपाली चिकित्सकहरूको यो प्रयास वास्तवमै नेपाली समाजको लागि एउटा महत्वपूर्ण कदम भएको बताए ।
कार्यक्रममा नेपाली समाजकी अगुवा इन्द्रा वन,एनआरएनका अभियन्ता तथा विभिन्न नेपाली समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
‘नेपाली विद्यार्थीहरूको लागि हामीले स्वास्थ्य बीमा मार्फत् नै सेवा दिने सोच बनाएका छौं,’ क्लिनिक सञ्चालक डा. प्रविण पाठकले भने।
हाल विद्यार्थीहरूले स्वास्थ्य बीमा गराए पनि कतिपय चिकित्सकीय चेक जाँचमा भने केही प्रतिशतले पैसा थप्नुपर्ने हुन्छ । तर यस मेडिकल सेन्टरले भने स्वास्थ्य बीमाको रकमभित्रै विद्यार्थीलाई सहुलियत उपचार दिने योजना अगाडि बढाएको डा. पाठकले बताए ।
कतिपय अवस्थामा बिरामीले भाषागत समस्याका कारण आफ्ना वास्तविक समस्या डाक्टरसँग भन्न नसकिरहेको अवस्थामा नेपालीहरूको निकै बाक्लो उपस्थिति रहेको यो क्षेत्रमा नेपाली चिकित्सक सम्मिलित मेडिकल सेन्टरले निकै महत्वपूर्ण भूमिका खेल्ने चितवन समाजका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता बुद्धि डल्लाकोटीले बताए ।