सहमतिमै यौन सम्पर्क गरे पनि गलत र फरक बाटो अपनाउँदा जेलको चक्कर काट्नु पर्ने हुनसक्छ अस्ट्रेलियामा।
एक नेपाली युवाले गएको वर्ष सन् २०१७ को मार्च महिनामा युरोपतिरबाट वर्किड होलिडेमा आएकी एक २३ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा ४ वर्षको जेल सजाय पाएका छन्।
३० वर्षीय नेपाली युवा ईन्द्र भण्डारीले अब कम्तिमा पनि चार वर्ष जेलमा बिताउनु पर्नेछ। चार वर्षपछि उनी रिहा हुन सक्नेछन्। तर, उनले बलात्कार गरेको स्वीकारेका भने छैनन्। सहमतिमै आफूले यौनसम्पर्क गरेको न्यायाधीश समक्ष बताए पनि असावधानी अपनाएको कारण पनि जोड्दै उनीमाथि सजाय सुनाइएको छ। उनले आफ्नो स्पष्टिकरणमा ती २३ वर्षीय साथी र आफू नाइट आउटमा गएको र पार्कमा, पबमा रमाइलो गरेको र सहमतिमै सबै चीज भएको भन्दै बचाउ गरेका थिए।
भिक्टोरियाको अदालतका न्यायाधीश रिचार्ड स्मिथले उनको बचाउमा पर्याप्त आधार नभएको र कण्डमबिना यौनसम्पर्क राखेको कारण पनि सजायका भागिदार रहेको भन्दै सजाय सुनाएकी थिइन्।
युवतीले भने घुमघाम र रमाइलो गरे पनि उसले बिनास्वीकृति यौन दुर्व्यवहार गरेको बताएकी छिन्। अस्ट्रेलियामा यतिखेर हजारौं नेपाली विद्यार्थी उच्च अध्ययनका लागि पढ्न आए पनि यहाँको नियम,कानूनको अध्ययन र जानकारीको अभावले पनि संगीन सजायको भागिदार बन्दै छन्। आदेशपछि अब भण्डारीलाई जेल सजाय पूरा गरे पनि उनलाई देश निकालासमेत हुनसक्ने जनाइएको छ।