गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको कार्यसमिति बैठकमा डा. गोविन्द केसीको अनसनको समर्थनका विषयमा बहस भएपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्ने गरी टुंगो लगाइएको छ।
त्यसका लागि बैठकले प्रवक्ता तथा डा. गोविन्द केसी अभियानका अभियन्ता डिला खरेललाई जिम्मेवारी तोकेको छ।
बैठकमा खरेलले डा. गोविन्द केसीको समर्थनमा एनआरएन अगाडि बढ्नुपर्ने विषय बैठक सूचीमा प्रवेश गराएपछि यसले बहसको रूप लिएको थियो। कार्यसमितिका केही पदाधिकारीले यो राजनीतिसँग पनि जोडिएको हुँदा एनआरएन यसमा सामेल हुन नमिल्ने तर्क गरेपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्ने निर्णय गरिएको थियो।
एनआरएन अष्ट्रेलियाको बैठकले नेपाल महोत्सव सिड्नी, मेल्वर्न, व्रिसबेनमा र एडिलेडमा भव्य रूपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
नेपाल महोत्सवमा एकरूपता ल्याउन नेपाल सवहाउस, पर्यटन प्रवर्द्धन तथा अन्य संस्कृतिक कार्यक्रमको रूप रेखा सामान राख्ने पनि निर्णय भएको छ । एनआरएन अष्ट्रेलियाले यो वर्ष आगामी नोभेम्बर महिनामा ब्रिसबेन र सिड्नीमा तथा डिसेम्बरमा मेलवर्नमा नेपाल महोत्सव आयोजना गर्दैछ । संस्थाले आगामी वर्ष सन् २०१९ जनवरी मा राष्ट्रिय उद्यमी सम्मेलन गर्ने भएको छ।
आमरण अनसनमा रहेका डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानून बन्नुपर्ने माग गर्दै आएका छन्। काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेज सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने लगायत अध्यादेशमा भएको व्यवस्था हटाइएपछि केसीले पुन: जुम्लाबाट अनसन सुरू गरेका थिए।