हवाला, हुन्डी। झट्ट सुन्दा नै बेग्लै र अनौठा लाग्छन यस्ता शब्दहरु। पैसाको ब्यापार जसले बनेको छ धन्दा अपार। सामान्य रुपमा हेर्ने हो भने यो सर्वसाधारण र ब्यापारी दुबैको फाइदाको बिषय हो। आजको आजै बैंकभन्दा छिटो अनि रेटभन्दा बढी दाम पाइने यो ब्यापार संसारका कुना कुनामा यसरी फैलिएका छन् मानौं यो बिना कमाइ र पठाइ दुवै अधुरा हुनेछन्। यो हिजोको रक्तचन्दन ब्यापार जस्तो भएको छ, भारतवाट आउने चिन जाने, फाइदा नेपालीले लिने भनेझैं। यस भित्र लुकेका केही रहस्यका बारेमा खोतल्ने प्रयास हो यो।
नेपालजस्ता अविकसित र बिकासोन्मुख राष्ट्रका लागि त यो राज्यको कानुनले नभेट्ने र नदेख्ने मिस्टर इन्डिया नै बनेको छ हुन्डीको ब्यापार। पैसा बिदेशबाट पठाइन्छ तर कुन च्यानल भएर कहाँ पुग्छ पत्तो भने हुँदैन। तर पाउनेले बैंक खातामा टुप्लुक्कै पठाएकै दिन पाउँछ। पठाउनेले आफ्नो परिचय पत्रसहितको ब्यहोराले पैसा बिधिवत रुपमा बैंक मार्फत बिदेशमा खोलिएका कानुनी मान्यता प्राप्त मनी ट्रान्सफरमा पठाउछन्। डलर, येन, युरो होस वा कोरियन वन पठाएको पैसा कहा जान्छ त अनि कसरी यसले बैंक भन्दा बढि मुल्य पाउछ। यो भने खोजीको बिषय हो।
तपाईंले नेपाल पठाएको पैशा कहाँ पुग्छ र कुन च्यानल मार्फत प्रयोग हुन्छ। नेपाल नपुगीकन त्यसले कसरी नेपालमा बैद्यताका साथ बैंक मार्फत कारोबार गर्छ यहाँ अर्को गम्भीर प्रश्न उब्जिन्छ।
सरदर बिदेशमा कारोबार गर्ने मनी ट्रान्सफरमध्ये धेरैले राष्ट्र बैंकमार्फत पैसा ओसार पसारको अनुमति पनि लिएका छन् तर अनुमति कागजमा र कारोबार अरु मार्फत भैरहेको त छैन।
साँच्चै राष्ट्र बैंकसँग ४९ वटा कारोबारी संस्थाहरुले मनी ट्रान्सफरको अनुमति लिएको देखिन्छ तर यीमध्ये कतिले राष्ट्र बैंक मार्फत आधिकारीक पैसा नेपाल ल्याएका छन् भनेर हेर्ने हो भने औंलाले गन्ने केहीको नाम मात्र देखिन्छ रेकर्डमा।
अस्ट्रेलियामा पनि करिब दुई दर्जन नेपाली मनी ट्रान्सफर कम्पनीहरु बिधिवत रुपमा कार्यरत देखिन्छन्। अस्ट्रेलिया सरकारको अनुमति लिएर खोलिएका यी पैसा ओसार पसार गर्ने संस्थाहरुले अस्ट्रेलियन ट्रान्जेक्सन रिपोर्टस एनलाइसीसी सेन्टर (अस्ट्रयाक)को निगरानीमा पनि रहनुपर्छ। यो अस्ट्रेलियाको बैंक, बित्तीय संस्था,सांगठनिक अपराध ,कर छली ,सामाजिक दुरुपयोग र रेमिट्यान्सको निगरानी गर्ने संस्था पनि हो। हरेक तीन महिनामा अस्ट्रयाकमा प्रतिबेदन पेश गर्नु पर्ने हुन्छ।
करिब एक लाखको हाराहारीमा नेपाली रहेको अस्ट्रेलियाको सम्वन्धमा बजार पनि निकै ठुलै छ। यहाँबाट नेपाल पैसा पठाउनेहरुको दिनमै लामो सुचि हुन्छ तर राष्ट्रबैंकसँग यहाँको रेमिन्ट्यासको प्रश्न गर्ने हो भने त्यो न्युन देखिन्छ। कतै दुईचार हजारको नाफा घाटाले तपाईंको पैसा गलत ठाउँमा त प्रयोग भैरहेको छैन। यदी यस्तो पैसा तपाइले थाहा नपाउदाँ नपाउदैं गलत ब्यक्ति र गिरोहमा पुगेमा त्यसको कारबाहीको जिम्मेबार तपाईं पनि बन्न सक्नुहुनेछ। किनभने पैसा तपाईंको परिचयसहित अन्य स्थानमा स्थानातरण हुने गर्दछ।
अस्ट्रेलियन सरकार र यसको निकाय (अस्ट्रयाक)ले पनि यसरी यहाँबाट पठाइएका पैसामाथि शंका लागेमा खोजिनीति गर्छ र गरिरहेको पनि छ। सस्पीयस ट्रान्जेक्सन खतरा हुने डरले कारोबारीहरुले लामो समयसम्म एउटै खाता प्रयोग गर्दैनन्। कम्पनीको नाम र ब्यक्तिको खाता तीन, चार महिनामा फरक फरक हुने कारण पनि त्यही हो। कम्पनी र खाताको प्रकृति फरक फरक हुदैजाँदा धेरै मान्छे बैंकको खराब सूचीमा चढ्छन्। सानो लोभ र लाभले खाता र कम्पनी सुम्पिनेहरुको लागि भबिष्यका लागि डरलाग्दो संकेत पनि हो। मानौ कमनवेल्थ बैंकको सूचीमा खराब सम्प्रेषणमा पर्दा करिब आठवटा अन्य अन्र्तगतका संस्थाहरुमा पनि बित्तीय कारोबारमा प्रश्न चिन्ह उठन सक्छ। यहाँका थुप्रै कारोबारी कमनवेल्थ र एएनजेड बैंकमा कारोबार गर्नवाट बन्चित भैसकेका छन्।
जबसम्म रेमिट्यान्स प्रोभाइडर अस्ट्रयाकमा दर्ता भएर हरेक व्यक्तिको रेमिट्यान्स अर्डर बैंकबाट अन्तराष्ट्रिय ट्रान्सफर गरेर पठाउँछ, त्यसलाई हवाला भन्न मिल्दैन, किनकि त्यो शाब्दिक अर्थमा व्यक्तिले गरेको अन्तराष्ट्रिय बैक ट्रान्सफर भन्दा फरक हुन्न। यसका लागि अस्ट्रेलियाका रेमिटियान्स प्रोभाइडरहरुले राष्ट्र बैंकसग अनुमति र लाईसेन्स लिएर साधारण कमिसन पनि पाउँछन्।
तर जब एक दिनमा १०० भन्दा बढिको रेमिट्यान्स अर्डर लिएर केवल एक दुई ट्रान्जेक्सन बैंक मार्फत अन्तराष्ट्रि ट्रान्सफर गरिन्छ, त्यो हवाला हो, सीड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सिना बताउँछन्।
किनकि त्यहाँ कयौं मनि अर्डरलाई रिपोर्ट हुन्न नसक्ने अधार तयार हुन्छ। रेमिट्यान्स प्रोभाइडरले गलत रिपोर्टिङ गरे भने र त्यो पैसा टेरोरिस्ट फाइनान्सिङमा गयो भने साधारण ग्राहक समेत कानुनको दायारामा आउँछन्। अर्कोतर्फ सबै रेमिट्यान्स अर्डर बैंक टान्सफर मार्फत डेस्टिनेसन कन्ट्रि नेपाल नजानाले नेपालबाट पैसा बाहिर जान मद्दत पुगेको छ, तिम्सिनाले बताए। यदि यस्तो हर्कत बैकमार्फत कसैले गरे पनि त्यो हवाला हो, यसमा शंका छैन, तिम्सिना बताउँछन्।
अस्ट्रेलियामा हुन्डीविरुद्ध एसीसीसी अर्थात अस्ट्रेलियन कन्जुमर एन्ड कम्पीटिसीन कमिसनमा पनि एउटा मुद्दा नपरेको होइन। तर बजारमा खराब प्रतिस्पर्धाको हकमा उनिहरुको संग्लग्नता नदेखिएपछि मुद्दा डिसमीस भएको थियो। बजारमा सबै बसेर एउटै रेट निर्धारण गरेको भन्दै केही ब्यक्तिले उनीहरुविरुद्ध एसीसीसीमा उजुरी गरेका थिए।
नेपाल सरकारको कमजोरीका कारण पनि यतिबेला नेपालका हुण्डीवालहरु मैलाएका छन् राज्यले बिदेश पैसा लाने कानुनी प्रावधान नखोल्दिदाँ करौडौ नेपाली रुपैयाँ यतिखेर हवाला मार्फत बिदेशीएको छ। यहाँ डलर लिने डलर हङकङ, ग्वान्जाउ ,सिंगापुर पठाउने नेपालबाट लिएको पैसा त्यही लियो त्यतै बाँड्यो बस सकियो खेल, यता यतै कमिसन उता उतै कमिसन। राज्यको कमजोर कानुनको फाइदा पनि उठाएका छन् यतिखेर केही ब्यापारीले। नेपालमा भ्रष्टाचार गरेर कमाएको पैसा हुन्डीवाल मार्फत छोराछोरीका नाममा बिदेश पठाउने र पुनश्च उनीहरुले बिदेशमा कमाएको भन्दै नेपाल फर्काउने र कालोलाई सेतो बनाउने केही तथ्य पनि फेला परेको छ। नेपालको कानुनले हुण्डीलाई अपराधका रुपमा घोषित गरेपनि कतिपय देशमा भने यो कानुनी मान्यता भित्र रहेको कारण हुण्डीले पश्रय पाइरहेको छ। साँच्चै दुईचार हजारको मुख नर्हेने र देशको माया गर्ने हो भने राज्यको मौद्रीक नीति अनुरुप देशमा पैसा पठाउदा देशलाई धेरैनै फाइदा पुग्ने छ। तर राज्यले पनि यसलाई झन्झटिलो नभइ सहज कानुनका रुपमा ब्याख्या गर्नु जरुरी छ।
भर्खरै अस्ट्रेलियामा गठन भएको सीटीजनसीप लस बोर्ड, अस्ट्रेलियाले आतंकबाद र यस सम्बन्धी जोडिएका अस्ट्रेलियन नागरिकलाई समेत नागरिकता खारेजी गरेर देश फर्काउन सक्ने कानुन ल्याएको छ। नेपालले पनि दोहोरो नागरिकताको बिधेयक ल्याइसकेको अवस्थामा हाम्रा लागि पनि यो बोर्ड कर्यान्वयन हुनेछ। हुन्डीको रकम आतंकबादसम्म पुगेको रहेछ र त्यो प्रमाणित भयो भने नागरिकता खारेजी हुन पनि बेर लाग्दैन।