‘बिदेशीको हरियो डलर, डलरले बिगार्यो कलर...’, प्रेमराजा महत यो गीत गाइसकेपछि अमेरिका तिर हानिए।
अमेरिकामा हरियो डलर कमाउँदा कलर फेरिएको भेउ उनले कतिको पाए त्यो प्रश्न अनुत्तरित छ। तर, यता अस्ट्रेलियाको पहेँलो डलर कमाउन पनि सहज छैन। पहेँलो डलरको चक्करमा कयैन युवायुवतीले जीवनलाई घनचक्करमा पारेका प्रसस्तै उदारहण भेटिन्छन्।
विदेशिएका युवा पुस्ता जसले पाश्चात्य शैलीको सीको गर्ने नाममा आफूलाई गुमनाम बनाउन थालेका छन्। उनीहरुको विषय हो यो।
‘कर्म गरे फल पाइन्छ,’ कामलाई धर्म मान्नेले यस देशको विकासको बाटो कोरेका हुन्। चार जनाले चौबाटोमा खेलेको क्यारेमबोर्ड हेर्ने २४ जनाको हुल यहाँ भेटिन्न। काममा विभेद हुँदैन, मजदुरको पोशाकमा ठाटिएका युवा पुस्ता फेसनदार युवतीको पहिलो च्वाइस हुनेगर्छ।
अष्ट्रेलियामा टाइ सुट लगाउनेभन्दा कट्टु लगाउनेले बढी पैसा कमाउने गर्छन्। उमेरको खासै ख्याल गरिँदैन, काम सबै उमेरका लागि मानौं आवश्यकता हो।
अस्ट्रेलियामा काम गरेपछि चाहेको खान र लाउन पुग्छ। महंगो भनेको कोठा भाडा र यातायात हो। खाद्यान्न र लुगा फाटो त खासै फरक होइन।
कुरा राम्रा मात्र होइन, नराम्रा पनि छन्।
ड्रग्समा झुलेका अनि मदिरामा भुलेकाको कमी छैन बजारमा। जताततै बार र डिस्कोहरू छन्, अनि २४ सै घन्टा स्वागतमा तम्तायार छन् टोल टोलका जुवा खालहरू।
राम्रालाई अवसर पनि छ। यही अनि बिग्रनेलाई कसुरवार पनि भन्दैनन् कोही।
अष्ट्रेलियामा बडा गजबको समाज छ। कसैलाई कसैको पछि लाग्ने फुर्सद छैन। गर्नेले दिन दुगुना अनि रात चौगुना प्रगति गरेकै छन्, बिग्रने झन् झन् बिग्रदै गएका पनि छन्।
अस्ट्रेलिया आम नेपालीका लागि उत्कृष्ट गन्तब्य हो। जसले आफ्नो अध्ययनपछि भविष्यको नयाँ खाका कोर्ने प्रसस्त अवसर पाउँछन्।
यो ठाउँ फेरि हराउनेका लागि दलदल पनि हो र भासिनेको लागि भासको भीर पनि। यतिखेर कयैन युवा पुस्ता कुलतको शिकारमा फसेका पनि छन्। यहाँ प्रतिवन्धित केही छैन। डलर भए, सबै सहजै पाइन्छ। वषौ कमाएको डलर एक रातमै क्यासिनोमा सकेर ओठ तालु सुकाउनेदेखि हप्ताभरी कमाएको पैसा पोकरमा एकै घन्टामा फाल्ने नेपाली पनि छन्।
पौरख गरेर नाम कमाउनेदेखि समुन्द्र हेरेर मन भुलाउने अनि भिसा बिगारेर लागूऔषधमा झुलेका पनि छन् कयौं नेपाली।
नेपालबाट उच्च अध्ययनमा हिँडेका कयैन युवा यस्तै यस्तै घटनामा फसेर गुमनाम भएका खबरहरु आइरहेका छन्।
अनी कहिलेकाँही दुर्व्यसनले ज्यानै गुमाएका दुखद घट्ना पनि सुन्न पाइन्छ।
अस्ट्रेलियामा ड्रिंक्स, ड्रीम्स अनी ड्रग्स पछिल्लो पुस्ताका नराम्रा कुलतका रूपमा देखिएका छन्। बियर र हुस्कीको चुस्कीबाट प्रारम्भ भएको फेसन, सहजै पैसा कमाउने सोचमा जुवाको लत अनि बिस्तारै ड्रग्ससम्म पुगेपछि जीवननै बर्बाद भएका कैयन घटनाहरु घटेका छन्।
यस्तै जुवाको लतका कारण एक नेपाली चेलीले आत्महत्याको बाटो रोज्नु परेको दुखद् घटना पनि हामीले सुन्यौ।
६ दिन मरेर कमाउने अनि पैसा बैंकमा आएको रातभर आरएसल र ट्याबहरूमा रूलेट अनि ज्याकपटमा सिद्धाउनेको पनि यहाँ कमी छैन।
नेपालमा बग्रेल्ती खुलेका इन्टिच्यूट जस्तै कलेजको डिप्लोमामा दशक बिताउनेको तातीले कलेजले त पैसा कमाएकै होलान्, तर नेपालमा बसेर छोराको डिग्री आश गर्ने बाबुआमाको आँखा भने टोलाइसेकेका छन्।
अस्ट्रेलियाको नेपाली समाजमा मिहेनत र पसिनाको कमाइ एकै घन्टामा सकेर खुइखुइ गर्दै घर पस्नेको घरबार बिग्रेको अनगिन्ती कथा पनि छन्।
महंगो पढाइ र पैसा कमाउनुपर्ने दबाबले धेरै विद्यार्थी प्रारम्भमै केही बिचलित हुने गर्छन्। नपढुँ फेल हुने डर, काम नगरौं युनिभर्सिटीको फी तिर्ने सकस।
काम र पढाइको संयोजन र धैर्यधारण गर्न नसक्दा पनि कयैन नेपाली विद्यार्थी कुलतको बाटोमा फसेको देखिएको छ। त्यसैले नयाँ पुस्ताले फरक बाटो कोर्ने नाममा गलत फेसन ग्रहण गर्नुअघि धेरै कुरा सोच्नु जरूरी छ।
कमाइ र क्रेडिट कार्डसमेत जुवामा हारेपछि हरेक दिन (आरएसएल) जुवा घर पुग्ने एक जोडीसँगको जम्काभेटमा उनीहरूले नाम बताउन नचाहे पनि वास्तविकता भन्न पछि परेनन्।
‘पछिल्लो १५ वर्ष कमाएको पैसा यही जुवामै सकियो, खल्तीमा अलिकती दाम भयो कि हामी आइहाल्छौ, केहि फर्काउन सकिन्छ कि भनेर। तर,……’ उनको बाक्य बिचमै अड्कियो।
यो जोडी आएदेखि नेपाल गएको छैन। ‘अर्को वर्ष जान्छु भन्दा भन्दै उमेर नै आधि गयो, घर पुग्ने पैसै भएन’, उनीहरूले भने।
यस्तो पनि छ यहाँको जीवनको अर्को पाटो। चाडै धनी हुने सपना कहिले बिपनामा परिणत नभएपछि धेरै युवा गुमनाम रहन्छन्।
पढाइ र भिसा बिग्रिएपछि जाउँ त कुन मुखले जाँउ भन्दै अस्ट्रेलियामा उही कुलतमा फसेकाको संख्या बढ्दो छ।
अस्ट्रेलियाको महंगो डलरका विषयमा लेख्दै गर्दा डर्टी, डिफीकल्टी अनि डेन्जर्सका विषयमा चर्चा गर्न भुल्नु हुन्न।
यहाँ आउने विद्यार्थीका लागि फिसको जोहो र खान बस्न यिनै काम नगरी भने हुँदैन।
हातको औलामा गनिने केही प्रतिशतबाहेक प्रायः प्रवासीको डलरको खेती यस्तै कर्मबाट प्राप्त हुन्छ।
समयसँगै कुद्ने अस्ट्रेलियामा अर्लामको घन्टीसँगै जीवनलाई ढाल्नुपर्ने बाध्यता छ। यो शहरमा रेल, समय र अवसरले कसैलाई पनि पर्खंदैन। त्यसैले पनि प्राप्त अवसरलाई खेर जान नदिइ पढ्ने, मिहिनेतीको लागि भने यो गुमनाम होइन धुमधाम पनि छ अस्ट्रेलिया।