नेपाल अष्ट्रेलियन युथ एशोसिएशन (नया)को पाँचौ वार्षिकोत्सव स्थानीय एसफिल्ड पार्कमा धुमधामका साथ मनाइएको छ।
संस्थाले वर्षभरि गरेका सामाजिक काम कारबाहीको फेहरिस्त र सहयोगी संघ संस्थाहरूको भूमिकासहितको भेटघाट कार्यक्रममा सहभागीहरूले नयाको आगामी कार्यकाल उपब्धिमुलक रहने विश्वास व्यक्त गरे।
आगामी दिनमा यसले परोपकारी कार्यमा थप कार्यक्रमहरू अगाडि बढाउने चर्चा गर्दै सहभागीहरूले नयाको उत्तरोत्तर प्रगतिको कामना गरे।
कार्यक्रममा बोल्दै एनआरएन आइसीसी सदस्य दिनेश जोशीले नयाले अष्ट्रेलियामा छरिएर रहेका युवाहरूलाई समेटेर सफल नेतृत्व दिन सकेकोमा बधाइ दिँदै आगामी दिनमा यसले युवा वर्गलाई हौसला प्रदान गर्न थप योजना अगाडि बढाउने विश्वास व्यक्त गरे।
आइसीसी सदस्य जोशीले अगाडि भने, ‘प्रवासमा रहेर नेपाली युवाहरूले खेलुकद तथा सामाजिक कार्यमार्फत् आफूलाई चिनाउने काम गर्नु निकै महत्त्वपूर्ण विषय हो, यसैले पनि नया सबैको धन्यवादको पात्र बनेको छ।’
कार्यक्रममा एनआरएनका सचिव देव गुरुङले नयाको सफलताको कामना गरे भने पूर्व एनआरएन ओसेनिया संयोजक महेन्द्र लम्सालले युवा वर्गलाई समेटेर अगाडि बढेको यस संस्थाले नेपाली समाजका युवावर्गलाई सशक्तिकरण अभियान थालेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नयाले स्थापनादेखि निकै महत्त्वपूर्ण कार्य गर्दै आएको र अष्ट्रेलियामा विशेष पहिचान कायम गरेको बताउँदै आफूहरूले यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा नयाका अध्यक्ष प्रकाश खरेलले सिड्नीमा छरिएर रहेका युवाहरूको सहभागितामा खुलेको यस संस्थाले आफूले सके र भ्याएसम्म परोपकारी कार्य गर्दै आएको बताए।
खरेलले भने, ‘नेपाली समाजको माया र सुझाव र सल्लाह आफूहरूको लागि महत्त्वपूर्ण भएको बताए। कार्यक्रममा प्रायोजकको तर्फबाट चिरन तिवारीले नयाको कार्यमा सहयोग गर्न पाउनु आफूहरूको लागि अवसरका रूपमा रहेको बताए।
नयाका महासचिव प्रकाश अर्यालले कार्यक्रम सञ्चालन गर्दै नयाको सोच अष्ट्रेलियामा छरिएर रहेको युवा वर्गलाई एकैस्थानमा समेटर खेलकुद तथा परोपकारको माध्यमबाट आपसी भाइचारा अभिवृद्धि गर्नुका साथै सहयोग आदान प्रदान गर्नु भएको बताए ।