मोती जयन्तीको अवसरमा आयोजना हुने विशुद्ध गजल कार्यक्रम ‘गजल मुशायरा’को पाँचौ श्रृंखला आगामी २३ सेप्टेम्बर आइतबारका दिन सिड्नीमा आयोजना हुने भएको छ।
गजल मुशायरा परिवारको आयोजनामा र बाबा एजुकेशनको प्रायोजनमा आयोजना हुन लागेको गजल कार्यक्रम हर्षभिलस्थित सिभिक थिएटरमा हुन लागेको हो।
नेपाली गजल लेखन र वाचनको एउटा साझा थलोको रूपमा गजल प्रेमी माझ चिनिएको गजल मुशायराको अष्ट्रेलियामा यो सातौ श्रृंखला हो। यहाँसम्म आइपुग्दा सिड्नीमा ४ वटा र सिड्नी बाहिर ब्रिसबेनमा सन् २०१७ मा र एडिलेडमा सन् २०१८ मा गरी ६ वटा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भैसकेका छन्।
यो श्रृंखला बिशेष हुने यसका संयोजक जितेन्द्र मल्ल बताउँछन्। जसमा अष्ट्रेलियामा रहेका २५ जना गजलकारहरूले दुई/दुई वटा गरी ५० वटा गजल वाचन गर्नेछन्।
‘गजल मुशायरा परिवार’का कार्यक्रम र नियमित गतिविधिहरू लगायत सिड्नीमा हरेक वर्ष आयोजना हुने ‘गजल मुशायरा’को संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् ।
परम्परागत शैली भन्दा पृथक रहेर गजल प्रस्तुत गर्ने गजलकारहरूको नाम कार्यक्रम अघि सार्वजनिक गर्नु, गजल कार्यक्रम भएकाले गजलकारहरूलाई नै स्थान एवं सम्मान दिनु, गजलको स्तरीयतालाई प्राथमिकता दिनु र गजल वाचन, गायन र नृत्यसहितको सम्पूर्ण गजल कार्यक्रम प्रस्तुत गर्नु गजल मुशायराका विशेषता भएको यसका संयोजक जितेन्द्र मल्लले बताए।
गजल मुशायरा २०१८ मा सहभागी हुने गजलकारहरूमा सिड्नीबाट गणेश गौतम, गणेश कंडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयनलगायत छन्।
कार्यक्रममा गजल वाचनको अतिरिक्त निखिला चापागाईं, मनीषा न्यौपाने र शमिका जिसिको गजल नृत्य एवम् निशान ढकाल रियाजको गजल गायन पनि समावेश गरिएको छ।