ट्रेनमा भेटिएको २८ हजार ६ डलर र पासपोर्ट सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकोमा अष्ट्रेलियामा एक नेपालीलाई सिड्नी ट्रेनले इमानदारिताको लागि पुरस्कृत गरेको छ। भक्तपुरका नरेश अवालेलाई सिड्नी ट्रेनले पुरस्कृत गरेको हो।
नरेश र उनका सहकर्मी फहाद सेमलाई इमान्दार कर्मचारीको रुपमा सिड्नी ट्रेनका प्रमुखकार्यकारी अधिकृत हाबर्ड कोलिनले ‘बियोंड द ब्रिलेंस’ पुरस्कार प्रदान गरेका हुन्।
सिड्नी ट्रेनमा कार्यरत दशौं हजारमध्ये १४ जना ईमानदार कर्मचारीमा भक्तपुरका नरेश अवाले पनि पुरस्कृत भएका हुन् ।
'हामीले बेबारिसे पर्सका बारेमा जानकारी पायौ , मैले मेरो सहकर्मीलाई त्यो बेवारिसे पर्स यात्रु सहयोग कक्षमा ल्याउन भने । उसले ल्यायो । त्यसपछि हामीले यात्रु पहिचानका लागि त्यो पर्स खोल्यौ', नरेशले त्यो दिनको घटना सुनाउँदै भने, 'पर्स खोल्दा सय र पचासका धेरै नोटहरु देख्यौ । मेरा सहकर्मी हजारौ डलर देख्दा आत्तिए, किनकी त्यो उनको कामको पहिलो दिन थियो ।'
नरेश अवाले भन्छन,' जम्मा २८ हजार ६ सय डलर थियो । त्यसको साथमा सिड्नीको अबन इलाकामा भएको मनिट्रान्सफरबाट बुझेको रसिद पनि थियो । पर्सको अर्को गोजीमा चिनियाँ राहदानी थियो ।'
नरेश र उनका सहकर्मीले यात्रु पहिचान गरेपछि अबनको मनिट्रान्सफरमा सम्पर्क गरे । तर, यात्रु पत्ता लाग्न सकेन । केही समयपछि दुई चिनियाँ अनुहारका मानिस आएर ढोका ढकढक गरे ।
उनीहरुले पर्स हराएको बताए। पहिचानको प्रकृया पुरा गरेर चिनियाँ युवालाई उनले आफ्नो कक्षमा बोलाए।
कक्षभित्र पस्नासाथ टेबलमा हराएको रकम देखेर ती युवा निकै हर्षित बने। उनले हर्षका आँसु झार्दै नरेशका सहकर्मीको हात चुम्दै लगातार धन्यवाद भनिरहे ।
त्यसपछि उनले कार्यालयको प्रक्रिया पुर्याएर तथा रेकर्ड राखेर रकम हस्तान्तरण गरिदिए ।
खुसी हुँदै ती युवाले त्यही रकमबाट दुबैलार्इ केही रकम पुरस्कार दिन खोजे तर, उनहरूले लिएनन् ।
छ महिनाअघिको यो घटनाक्रमले पछिल्लो हप्ता अष्ट्रेलियामा निकै महत्व पायो ।
अघिल्लो हप्ता सिड्नी ट्रेनको मुख्यालयले नरेशलाई सिड्नी टावरमा आयोजित बिशेष समारोहमा उनका सहकर्मीसँगै पुरस्कृत गरे ।
पुरस्कृत भएको खबर अस्ट्रेलियाका सबै प्रमुख संचार माध्यममा छापिएपछि अहिले उनलाई बधाईको ओइरो लागिरहेको छ ।