‘पर रहेको मेरो देश टपक्क टिपेर आखाँ अगाडि राखिदिन्छ ,त्यसैले त यो मन र दूरबिन उस्तै-उस्तै लाग्छ।’
‘बाको गुनासो छ, म ठाडो शिर गरेर कहिल्यै हिँडनै पाइन छोरा, उनलाई थाप्लाको ऋण र होचो दलिन उस्तै-उस्तै लाग्छ’ गजलकार सुशील शर्माले सिड्नीको गजल मुसायरा तताउँदै यस्तो चोटिलो गजल प्रस्तुत गरे।
राज गुरुङले लुकेको पीडालाई यसरी गजलमार्फत् पोखे, ‘जब/ जब आफ्नो काँधमा भार आउँछ, तब तब जीवनमा धार आउँछ।’
‘काटिएपछि घाटी र ओढेपछि कफन, फूलैफूलको मालाको बहार आउँछ।’
युवा लेखक निष्प्रभ सजीले विदेशिनुको पीडालाई यसरी गजलमार्फत् सुनाए, ‘मेरो पटमुर्ख साथी छ यता साघुँरो कोठामा कोचिएर बसेको छ, अनि उता गाउँमा एक्ली आमालाई बडेमानको घर बनाएको छ।’
गजल मुसायरका संयोजक जितेन्द्र मल्लले निकै कसिलो गजल प्रस्तुत गर्दै सुनाए ।
‘नसोध्नुस् बा चाहिन्छ कि आमा चाहिन्छ, बालकका अगाडि यति त सभ्यता चाहिन्छ।’
मल्लले श्रृंगारिक रस जोडदै थपे, ‘ओठ टोकी लजाउने त सुरू सुरूमा हो, नजिक पर्दा डराउने त सुरू सुरूमा हो, बानी परेपछि रित्तिने यै खल्ती नै हो , साथीहरूले पिलाउने त सुरू सुरूमा हो।’
मोती जयन्तीको अवसरमा आयोजना गरिएको गजल कार्यक्रम ‘गजल मुशायरा’को पाँचौ श्रृंखला आइतबार सिड्नीमा भव्यरूपमा सम्पन्न भएको छ।
गजल मुशायरा परिवार र बाबा एजुकेशनको प्रायोजनमा आयोजना भएको यो गजल कार्यक्रममा अष्ट्रेलियामा रहेका २५ जना गजलकारहरूले दुई दुई वटा गरी ५० वटा गजल वाचन गरेका थिए। निकै भिडभाड र साहित्यप्रेमी अनुरागीहरूबीच सम्पन्न गजल कार्यक्रममा केही गजलकारहरूले निकै उत्कृष्ट गजल प्रस्तुत गरेका थिए ।
गजल मुशायराको सिड्नीको यो पाँचौ श्रृंख उत्कृष्ट बनेको संयोजक जितेन्द्र मल्लले बताए ।
‘गजल मुशायरा परिवारका कार्यक्रम र नियमित गतिविधिलगायत सिड्नीमा हरेक वर्ष आयोजना हुने ‘गजल मुशायरा’को संयोजन हाल अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका गजलकार जितेन्द्र मल्लले गर्दै आएका छन् ।
गजल मुशायरा २०१८ मा सहभागी हुने गजलकारहरूमा सिड्नीबाट गणेश गौतम, गणेश कँडेल, शिवजी भण्डारी, सुशील शर्मा सापकोटा, गोविन्द दवाडी, निष्प्रभ सजी, नैना निर्झरा, सजल नयन, दिपक निरौला, राज गुरुङ, सिर्जना थापा, बुद्धिसागर दवाडी, निमेष भण्डारी, प्रेम अधिकारी, जितेन्द्र मल्ल, आदर्श खत्री, ओमकार अधिकारी र विष्णु प्रसाद अधिकारी, न्यू साउथ वेल्सबाट निरज जोशी, अल्बेरी न्यू साउथ वेल्सबाट दुर्गा प्रसाद रिमाल, क्यानबेराबाट विनायक अधिकारी, ब्रिसबेनबाट केशव शर्मा र मन्दिरा सापकोटा, क्विन्सल्याण्डबाट सन्तोषी लामिछाने, र एडिलेडबाट प्रकाश धमलाले आआफना गजल सुनाएका थिए ।
कार्यक्रममा गजल वाचनको अतिरिक्त निखिला चापागाईं, मनिषा न्यौपाने र शमिका जिसिको गजल नृत्य एवम् निशान ढकाल रियाजको गजल गायन पनि समावेश गरिएको थियो।
कार्यक्रमको अन्तमा गजलकार तथा सहयोगीहरूलाई एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारी, बाबा एजुकेशनका रविन्द्र कुमार शर्मा र नारी निकुन्ज न्यु साउथवेल्सकी संयोजक सन्ध्या शाहले प्रमाणपत्र प्रदान गरेका थिए ।