प्रवासमा नेपालका नाममा आयोजना हुने मेला हुन् या महोत्सव, यिनीहरूले मुलुकको पहिचान बढाएकै हुन्छन्।
विश्वभर छरिएर रहेको नेपाली समाज आफ्नो पहिचान अभिवृद्धिसँगै मुलुकको विकास र विस्तारका लागि जतिखेर जे गर्न पनि तयार रहन्छन्।
अष्ट्रेलिया यतिखेर नेपालीहरूको आकर्षक गन्तव्य बनिरहँदा यहाँको नेपाली समाज पनि द्रुत गतिमा फैलिरहेको छ ।
सत्तरीको दशकबाट सुरू भएको नेपालीको बसाइसराइ पछिल्लो दस वर्षमा ह्वात्तै बढेको छ।
अहिले करिब एक लाखको हाराहारीमा नेपाली अष्ट्रेलियामा रहेको देखिन्छ।
नेपाली समाज बाक्लिदै गर्दा यहाँ नेपालीपनले पनि प्रशस्तै महत्व पाएको छ । चाँहे त्यो गीत,संगीत होस् वा चलचित्र,अष्ट्रेलिया सबैको पुहुँचमा पुगेको देखिन्छ । हरेक हप्ताजसो हुने कार्यक्रमले अष्ट्रेलियामा नेपालीपन मात्रै होइन नेपाली मनको पनि व्याख्या गरिसकेको छ ।
यस्तै गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा एक पटक आयोजना गर्ने नेपाल महोत्सव भने मुलुक चिनाउने महत्वपूर्ण मेलाका रूपमा प्रमाणित हुँदै आएको छ । हरेक दुई वर्षमा अष्ट्रेलियाभर मनाइने नेपाल महोत्सवमा हजारौं नेपाली तथा विदेशी दर्शकले नेपालीपनको स्वाद चाख्ने गर्छन्। चाहे त्यो खाना वा गाना नै किन नहोस् ।
एनआरएन अष्ट्रेलियाको महत्वाकांक्षी योजनाका रूपमा रहेको नेपाल फेस्टिवलको सिड्नी संस्करण सबभन्दा व्यापक र महत्वपूर्ण मानिन्छ।
करिब एक करोड रुपैयाँको बजेटमा सञ्चालन हुने यो महोत्सवमा नेपालबाट कलाकारसहित नेपाली खाना र कला,संस्कृतिको पहिचानको लागि पनि महत्वपूर्ण रहेको छ ।
यस पटक आउँदो नोभेम्बर २४ तारिखमा सिड्नीमा नेपाल महोत्सव हुन गइरहेको छ।
सिड्नीको पर्यटकीय क्षेत्र अर्थात् केन्द्रमा रहेको टुम्बालोङ पार्कमा आयोजना हुने यो महोत्सवमा नेपालबाट राजेश पायल राई , विश्व नेपाली,तृष्णा गुरुङ ,पुशपति शर्मा, आचँल शर्मा र शिव हमालको सहभागिता हुने यस कार्यक्रमका संयोजक तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले बताए ।
‘एक देश ,कथा अनेक’ नाराका साथ यसपटक हामीले नेपाल महोत्सवलाई भव्य र सभ्य बनाउन तयारी सुरू गरिसेकका छौं र आधाउधि काम पनि पूरा भैसकेको छ’, उपाध्यक्ष गुरुङले भने।
उनले मुलुक चिनाउने महत्वपूर्ण माध्यमका रूपमा महोत्सव रहेको हुँदा व्यापकरूपमा अष्ट्रेलियनहरूको सहभागिताको प्रयास भैरहेको सुनाए।
कार्यक्रमका लागि विभिन्न समिति र उपसमितिहरूले आआफ्नो काम अगाडि बढाइसकेको र महोत्सवमा अष्ट्रेलियाका राजनीतिक दलका नेताहरूको समेत सहभागिता रहने टुंगो लागिसकेको गुरुङले बताए।
‘वास्तवमै हामी विदेशमा बसेर मुलुकका लागि गर्नसक्ने भनेको यही नै हो, हामी मुलुकको पर्यटन प्रवर्द्धनका लागि महोत्सवमार्फत् नेपालको सुन्दरता र नेपालीको आदरभावलाई अष्ट्रेलियामा फैलाउने भरपुर प्रयास गर्नेछौं,’ संयोजक गुरुङले भने।
महोत्सव एनआरएन अष्ट्रेलियाकै अत्यन्तै महत्वपूर्ण अंग भएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता तथा प्रायोजक संयोजक डिला खरेलले बताए।
मुलुकको कला,संस्कृति र हाम्रो खानालाई अष्ट्रेलियामा फैलाउने हाम्रो अभियानसँगै नेपाललाई अष्ट्रेलियनहरूबीच चिनाउने र नेपाल भ्रमणको लागि प्रोत्साहन गर्ने यसको मुख्य लक्ष्य रहँदै आएको छ।
‘प्रत्येक वर्ष तीस हजारभन्दा बढी दर्शक स्रोताको उपस्थित हुने यो मेला साच्चीकै विदेशमा हुने मेला वा महोत्सवमध्येकै उत्कृष्ट पनि हो र यसले देश चिनाउने काम पनि गर्दै आएको छ’, खरेलले ठोकुवा गरे ।