नेपालीहरूको महान चाडका रूपमा रहेको दसैँ तिहार नेपालभित्र मात्र हैन सात समुन्द्रपारी पनि विदेशमा खुसीयाली बाँड्दै र आपसमा मायामोह साट्दै धूमधामका साथ मनाइन थालेको छ।
दसैँ र तिहारले बिट मार्दै गर्दा अस्ट्रेलियामा भने क्रिसमसको रौनक प्रारम्भ भइसकेको छ। डिसेम्बर महिनाभर क्रिसमसमा रौनकमा रमिने गोराहरूभन्दा हाम्रा नेपाली पनि विदेशमा चाडपर्वमा जम्ने विषयमा कम भने छैनन्।
लक्ष्मीपूजा र भाइटीका भव्यरूपमा मनाएका अस्ट्रेलियावासी नेपालीले आफ्नो चाडपर्वसँगै रितिरिवाजलाई पनि निभाउँदै देउसी र भैलो कार्यक्रमको आयोजना समेत गरेका छन्। अस्ट्रेलियाभर मात्र कम्तीमा पनि पचासौ दसैँ कार्यक्रमहरू आयोजना भए होलान्। कतै कलाकार त कही हाँस्यव्यंग्य केही डिस्को डान्स अनि अरु रात्रीभोजहरू।
नाम दसैँ भए पनि अस्ट्रेलियामा नेपालीहरूले विभिन्न रूप र पहिचानमा रमाइलो गर्दै दसैँ मनाए ।
अस्ट्रेलियाका भिन्न सहरहरूमा छरिएर रहेका नेपाली समाजले नेपालीहरूको महान चाड दसैँ तिहारलाई धूमधामका साथ मनाउने क्रम बढेको छ।
सिड्नीमा नेपालीहरूको बाक्लो बस्ती रहेको अर्वन, ग्रानभिल र रकडेल अनि कोग्राहमा धेरै घरहरूमा तिहारको झिलिमिली बत्ती समेत बालेर तिहारको स्वागत गरेको दृष्य अचेल सामान्य हुन थालिसकेको छ।
यहाँ रहेका विभिन्न नेपाली समुदाय र क्लबहरूले पनि देउसी, भैलो खेलेर परदेशमा पनि तिहारलाई भव्य रूपमा स्वागत गर्न थालेका छन्।
सिड्नीमा देउसी भैलो खेल्न हिँडेका ग्रानभिल राइनोज फुटबल क्लबका अध्यक्ष भिम बस्नेत आपसी सद्भाव र रितिरिवाज अनि चाडपर्वलाई जीवन्तता दिन सिड्नीमा पनि यो पर्वलाई मनाउन थालेको बताउँछन्।
नेपालमा जन्मे पनि यतै हुर्केका ग्रानभिल फुटबल क्लबका कप्तान सुपर गुरुङ देउसीको भाका टिप्दै आशिक दिन समेत भुल्दैनन्।
‘यो हाम्रो चाडपर्वको सुन्दरता पनि हो, यसले विदेशमा बसेर पनि हामीलाई मुलुकभित्रै बसेको आभाष दिन्छ र हरेक वर्ष हामी हाम्रा साथीभाइ र प्रियजनका गएर देउसी खेल्ने गर्छौं’, उनले भने।
समय र परिस्थिति बदलिँदै जाँदा अनि नेपाली समाज बाक्लिदै जाँदा हाम्रो कला संस्कृतिले पनि फराकिलो हुने अवसर पाएका बताउँछन् एनआरएनका उपाध्यक्ष नन्द गुरुङ ।
देउसीको रमाइलोमा रम्दै गरेका गुरुङले यसलाई कला,संस्कृति, परम्परा तथा आपसी पहिचानको विषय पनि भएकोले सबैले महत्त्व दिनुपर्ने बताए ।
यसअघि अर्को फुटबल क्लब वेष्ट युनाइटेडले पनि निकै आकर्षक देउसी भैलो कार्यक्रम आयोजना गर्दै सिड्नीका केही स्थानमा आफ्नो प्रस्तुति दिएको थियो।
ग्रानभिल समाजका अध्यक्ष रमेश थापा परदेशमा बसेर नेपालीपनमा चाडबाड मनाउन पाउनु भाग्यको विषय रहेको बताउँछन्।