यतिखेर अस्ट्रेलियामा एउटा फोटो निकै भाइरल भएको छ।
एउटा आधुनिक ट्रेनको डिब्बामा माथिल्लो क्याबिनभर नेपाली अभिभावकहरू नेपाली पहिरनमा यात्रा गरिरहेको यो फोटो आकर्षक मात्रै हैन अच्चम लाग्दो पनि छ।
नेपालमा प्रधानमन्त्रीले रेल कुदाउने अभियान घोषणा गर्दैगर्दा आधुनिक ट्रेनभरि ढाकाटोपी, कुर्तासुरुवाल र साडीमा सजिएर यात्रा गरिरहेका यात्रुको यो तस्बिर मुलुकका लागि कसैले व्यंग्य गरेको हो कि भन्ने जस्तो पनि छ। तर साँच्चीकै यो फोटो कहाँबाट कसरी आयो भन्ने विषयमा खोजी गर्यौं हामीले।
सिड्नीको टेम्पे पार्कबाट वनभोज सकेर आआपनो बासस्थान रकडेल कोग्रातिर जाँदै गर्दा सिड्नी ट्रेनको एउटा डिब्बाभरि नेपाली अभिभावक बसेको यो फोटो सँगै यात्रा गर्ने एकजना नेपालीले खिचेर फेसबुकमा पोष्ट गरेका रहेछन्। त्यसपछि त फोटो जतासुकै फेसबुकका भित्ताभरिमा रंगियो।
कसैले नेपाली ट्रेनमा आमाबाबु सरर भने त कसैले कता हो कता यस्तो उल्का अचम्म भनेर अड्कल काटे।
नेपाली अभिभावक कल्याण समाज अस्ट्रेलियाले हरेक सोमबार यहाँ आइपुगेका नेपाली अभिभावकको स्वागत र बिदाइ कार्यक्रम आयोजना गर्ने गर्छ।
‘छोरा छोरीको निम्तामा अस्ट्रेलिया आइपुगेका नेपाली अभिभावकहरूलाई नेपालीपनको अभाव नहोस् र एकलोपन महशुस नहोस् भनेर आइतबार घुमफिर र सोमबार पार्कमा भेटघाट कार्यक्रमको आयोजना गर्ने गरेका छौं,’ समाजका अध्यक्ष बोधविक्रम दवाडीले भने।
उक्त फोटो शनिबार भिजन फर मोटिभेसनको सहयोगमा टेम्पे पार्कमा वनभोज कार्यक्रम राखिएको र वनभोज सकेर घर जाने क्रममा खिचिएको उनले बताए।
‘भिएफएम, इन्द्रेणी फंङसन सेन्टर , शुभकामना, एभेरेष्ट बुचरीको सहयोगमा हामीले बनभोज गरेपछि सबै एकै पटक ट्रेनमा फर्किंदा संयोग माथिको डिब्बा सबै खाली रहेछ र एक दुई जनाबाहेक हामी सबै त्यही बस्यौं र घर गयौं तर सोमबार बिहानै सबैले फोन गर्न लागे। फोटो त फेसबुकमा भाइरल भएछ,’ दवाडीले फोटोको कहानी सुनाए।
सिड्नीमा रहेको भिजन फर मोटिभेसनका संस्थापक महेश प्रसाईं(म्याक्स) विद्यार्थी र अभिभावकको हितमा आफूहरू काम गर्दै आइरहेको बताउँछन्। सिड्नीमा दु:खमा परेका विद्यार्थी र सामाजिक काममा सहयोग गर्न अगाडि सरेका युवाहरूको संस्था भिएफएम पछिल्लो समयमा निकै लोकप्रिय रहेको छ।