छक्कापञ्जा -३ को प्रचार र प्रदर्शनका लागि सिड्नी आइपुगेका दिपक राज गिरी र दिपाश्री निरौलाको सिड्नीमा भब्य स्वागत गरेको छन्।
रकडेल व्वाइज र कमेरो इभेन्ट्सको आयोजनामा मंगलबार सीड्नीमा कलाकार दिपकराज गिरी, दिपाश्री निरौला र अनुराग कुवँरको भब्य स्वागतसहित चलचित्रको रेड कार्पेट प्रिमियर गरिएको छ।
अष्ट्रेलियामा चलचित्र लोकप्रीय भएपछि रकडेल व्वाइजले कलाकारको सम्मानका लागि रात्रिभोजसमेत आयोजना गरेको छ।
कार्यक्रममा दिपकराज गिरीले अष्ट्रेलियाका दर्शकको अपार माया पाएकाले आफूहरु यहाँ आएर अष्ट्रेलियाली दर्शकलाई प्रत्यक्ष धन्यवाद दिएको जानकारी दिए।
उनले प्रवासी नेपालीको मायाले नेपाली चलचित्र उद्योगले बढावा पाएको समेत बताए। दिपकले कार्यक्रममा निकै गहकिलो विषयको उठान गर्दै भने, ‘अब बिदेशमा नेपालीहरुको पुस्ता नै हराउन थालिसकेको छ, संसार ग्लोबल भिलेज भइसकेको छ मानिस जहाँ बसे पनि कुनै फरक पर्दैन। तर, आफ्नो संस्कार र भाषा, संस्कृति भुलेन भने केही फरक पर्दैन।’
पुस्ता हराए पनि भाषा नहराओस् भन्ने आफ्नो चाहना रहेको गिरीले बताए। ‘भाषा बिर्सियो भने देश पनि बिस्तारै बिर्सन थालिन्छ, भोलि नातीहरुले मेरो हजुरबुबाको देश भनेर गाइड खोज्नु नपरोस्, कम्तीमा नेपाली बोल्ने पुस्ताको निमार्ण अहिलेको प्रवासी चुनौती पनि हो,’ उनले भने।
चलचित्र र गीत संगीतले नयाँ पुस्तालाई रहनसहन र भेष भुषाका बारेमा पनि सजग बनाउने भएकोले नेपाली चलचित्रहरु बिदेशमा प्रदर्शन गर्नु महत्वपूर्ण विषय भएको दिपकले बताए।
चलचित्रकी निर्मात्री दिपाश्री निरौलाले दर्शकको माया र प्रेमका कारण छक्का पञ्जाले सफलता पाएको भन्दै अस्ट्रेलियाका दर्शकलाई नमन गर्न आइपुगेको बताइन्।
कार्यक्रममा आयोजक रकडेल ब्वाइजका सितल खाँड गिरीले चलचत्रिले स्तरीय कथाबस्तु बोकेको र यसको आकर्षक प्रस्तुतीले सफलता पाएको बताए।
उनले आगामी दिनमा पनि सिड्नीबासीलाई स्तरीय चलचित्र पस्कने बाचा गरे।
कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व आइजीपी सिंह बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश प्रमुख त्रिभुवन पौडेल र फोटो पत्रकार राम गुरूङलाई सम्मान गरिएको थियो।
उनीहरूलाई पोखरा समाजका अध्यक्ष राजकुमार अधिकारी तथा आयोजक शितल खाँडले खादा तथा प्रमाणपत्रका साथ सम्मान गरेका थिए।
कार्यक्रममा स्थानीय कलाकार निखिला चाँपागाईलगायतले नृत्य तथा गायकी प्रस्तुती गरेका थिए। कार्यक्रममा एनआरएन ओसेनिया संयोजक धर्मराज अधिकारी, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल , एनआरएनका उपाध्यक्ष नन्द गुरुङलगायतले दिपकराज गिरी, दिपाश्री निरौला र अनुराग कुँवरलाई सम्मान गरेका थिए।