गैर आवासीय नेपाली संघ(एनआरएन) अस्ट्रेलियाले सिड्नीमा आयोजना गरेको ‘नेपाल महोत्सव’ कार्यक्रममा ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ, विश्वको कुनाकाप्चा हेर त्यहाँ राजारानी हुन्छ’ भन्ने गीत गाएपछि आयोजकले नियतबस नगरिएको भन्दै क्षमा मागेको छ।
महोत्सवमा पञ्चायतको अन्त्यतिर चर्चित रहेको राजारानीको स्तुतीगान प्रस्तुत भएपछि अस्ट्रेलियाको नेपाली समुदायमा विरोधका स्वरहरू गुञ्जन थालेका थिए। लोकप्रिय स्थानीय गायक समिर आचार्यले सो गीत गाएका थिए।
यस पटकको नेपाल महोत्सवमा नेपाली राजदूतावासलगायत अस्ट्रेलियाका सबै सामाजिक संघसंस्थाले मिलेर सहकार्य गरेका थिए। राजदूतावास समेतको सहभागिता रहेको कार्यक्रममा राजारानीको गीत गाएपछि जनजाति महासंघ लगायतले त्यसमा विरोध गरेको थियो।
एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा फेस्टिबलका संयोजक नन्द गुरुङले वक्तव्य प्रकाशित गरी एक कलाकारले नेपालको संविधान र लोकतन्त्रविरूद्ध हुने गीत प्रस्तुत गरेकोमा दुःख व्यक्त गर्दै नियतबस नभएको स्पष्ट पारेका छन्।
महोत्सवमा नेपाली खाना, भेषभूषा तथा नेपाल चिनाउने‘नेपाल घर’ र परेडको निकै प्रशंसा भएको थियो।
महोत्सवमा अस्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोल्मनसहित उच्च नेताहरू तथा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको पनि उपस्थिति थियो ।