अस्ट्रेलियालगायतका केही मुलुकबाट नेपाल पठाइने पैसा प्रकृयागत रूपमा वैद्य नदेखिएपछि यसको विषयमा बहस सुरू भएको छ।
अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशबाट बिदेशमा पैसा पठाउन कानुनी रूपमा वैद्य रहे पनि पठाउने र पाउनेको नामसहित विधिवत जाने रकमहरू सम्वन्धित ठाउँसम्म नपुग्नाले यसलाई नेपालजस्ता मुलुकमा हुण्डी अर्थात अवैद्य कारोबारका रुपमा लिने गरिन्छ।
अस्ट्रेलियाबाट बिदेशमा पैसा ट्रान्सफर गर्दा यहाँको सरकारी निकाय अस्ट्रेलियन ट्रान्जेक्सन रिर्पोर्टस एन्ड एनलाइसीस सेन्टर (अस्ट्रयाक) मा दर्ता हुनुपर्छ।
सम्वन्धित बैंकहरूले पनि बिदेशमा हुने पैसा रकमान्तरको प्रतिवेदन (अस्ट्रयाक) लाई पठाउनुपर्छ। तर, बैंकलाई खासै फाइदा नहुने र झन्झन्टीलो यो प्रकृयामा बैंक फस्न नचाहने हुनाले सकेसम्म मनी ट्रान्स्फर कम्पनीको खाता लामो समयसम्म टिक्दैन।
नयाँ नयाँ कम्पनी दर्ता गरेर प्रायः सबैजसो बैंकमा खाता खोल्ने र (अस्ट्रयाक) मा दर्ता गरी सुरु गरिने यो ब्यापार अस्ट्रेलियाको निकै ठूलो ‘धन्दा’ बनेको छ।
यताबाट पैसा पाउने र पठाउनेको नाम ठेगाना र फोन नम्बर सहितको प्रतिवेदन (अस्ट्रयाक) मा पठाएर यसलाई बैद्य बनाए पनि नेपाल पठाउन उठाइने पैसा हङकङ र ग्वान्जाउ अनि अन्य शहरमा पठाउने काम आफैंमा वैद्य भने होइन।
यदि बैंकमार्फत सो रकम सिधै नेपाल पठाउने हो भने त्यो ट्रान्सफरलाई अस्ट्रेलियन सरकारले दिएको नीति नियम भित्रको वैद्य कारोबार भन्न मिल्छ। तर, नेपाल पठाउने भनेर पैसा उठाउने नाम, ठेगाना र फोन उल्लेख गरिने तर पैसा भने अन्य देशमा जाने विषय आफैंमा बेइमानी हुनसक्छ।
नेपालमा रहेको कारोबारी पैसालाई उतै तह लाउने र यताबाट पठाएको पैसा हङकङ र चीन पठाएर कमिसन खाने काम हुने हुँदा यसप्रति नेपालको सम्वन्धित निकायले कारबाहीको दायरमा बाँधेको हो।
यतिखेर हुण्डीको स्वरूपमा केही परिवर्तन आएको छ, पहिले नेपालमा नगदमा कारोबार हुने हुण्डीले यतिखेर निजी बैंकहरूको पश्रय पाएको छ। यहाँबाट उठाएको रकम कहाँ पुग्छ थाहा हुँदैन। तर, ती पाउने सम्वन्धित ब्यक्तीको खातामा भने ४८ घन्टा भित्र रकम जम्मा हुन्छ।
नेपाल पठाउन उठाइने तर नपुग्ने यस्ता रकमहरूले मुलुकलाई दुई प्रकारले मारमा पारेको कुरा सीड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सीनाले बताए।
‘एकातीर मुलुक नपुगेपछि सिधा रुपमा राज्यले प्राप्त गर्ने राजस्व छलियो भने अर्को तिर अबैध रूपमा ब्यापारीको हातमा पुगेपछि भन्सार छल्ने काम हुने भयो,’ तिम्सिनाले भने, ‘दुई लाखको एलसी खोलेर पाँच लाख डलरको सामान आयात गर्ने ब्यापारीले कती भन्सार छल्छ र राज्यलाई कती घाटा होला त्यो सहजै अनुमान लगाउन सकिन्छ।’
त्यती मात्र नभएर यहाँबाट सम्वन्धित ब्यक्तिको नाममा पठाइएको रकम कही कतै अर्को देश पठाउँदा आतंकवाद गतिविधिमा जोडियो भने उनीहरू सिधै कसुरदार ठहरिने छन्, यसको खतरा पनि हुनसक्ने तिम्सीनाले बताए।
उनले सबैभन्दा खतरनाक खेलका रुपमा उनले मुलुकबाट अरबौ नेपाली रकमसमेत हुण्डीमार्फत बिदेशीएको खुलासा गरे।
बिदेशमा पैसा लान नपाइने मुलुकको कानुनी प्रकृयालाई ठाडो चुनौती दिँदै दोहोरो कमिसनको खेलमा यहाँ डलर उठाउने यतै दिने उता रकम बिदेश ल्याउन बुझ्ने उतै बाढ्ने काम समेत भइरहेको खुलासा गरे।
यतिखेर अस्ट्रेलिया मनी ट्रान्सफर ब्यापारीको लागि स्वर्गका रुपमा चिनिएको छ। पछिल्लो बीस वर्षदेखि यहाँ निर्वाध रूपमा यो कमाउ धन्दा चलिरहेको छ।
अहिले दिनहुँ करिब २० देखि पच्चीस करोड रूपैया अस्ट्रेलियाका बिभिन्न मनी ट्रान्स्फर मार्फत नेपाल जाने गर्छ। तर, धेरैले यो पैसा संकलन गरे पनि अन्त्यमा हातमा गन्न सकिने पाँचदेखि आठ जनाले मात्र सबै रकम बटुलेर कारोबार गर्दै आइरहेका छन्।
अहिले हुन्डीले केही फरक रुप लिने गरेको नाम नबताउने शर्तमा एक हुण्डी ब्यवसायीले सेतोपाटीसँग भने। यहाँ उठाएको रकम यही चिनियाँ ब्यवसायीलाई दिने र हङकङ तथा चीनमा आरएमबी लिने नयाँ खेल सुरू भएको उनले दाबी गरे। ‘यसो गर्दा बैकको झन्झटिलो प्रकृयाबाट पनि बचियो र कमिसनमा पनि वृद्धी भयो,’ ती व्यसायीले भने, ‘राज्यले बिधिवत रुपमा पैसा पठाउने प्रकृयालाई सहज रूपमा वाटो नबनाएको कारण पनि हुण्डी ब्यापारीहरुको अपार धन्दा शानदार रुपमा चलेको हो।’
यसैबीच नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकको अहितमा रहेको हुण्डी व्यवसायलाई निस्तेज पार्ने अभियानमा प्रहरी सदैव सजग रहेको बताए।
सेतोपाटीसँग कुरा गर्दै महानिरीक्षक खनालले केही समयअघि मात्र नेपाल प्रहरीले हुण्डी कारोबारीहरुलाई प्रक्राउ गरेको बताए। ‘हामी यस विषयमा संवेदनशील भएर लागेका छौ,’ उनले भने।