विभिन्न कार्यक्रम र महोत्सवको नाममा गैर कलाकारको प्रवेश बढेसँगै अस्ट्रेलियाले नेपालीको भिसामा कडाई गरेको छ।
पछिल्लो समय अष्ट्रेलियाका हरेकजसो सहरमा आयोजना हुने मेला, महोत्सव र कार्यक्रमका नाममा कलाकारसँगै गैर कलाकार भित्र्याएर मानवतस्करी भइरहेको केही घटना सार्वजनिक भएसँगै अष्ट्रेलियाले सबै नेपालीको प्रवेशाज्ञामा कडाइ गर्न थालेको हो।
शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिसँग लाखौ असुलेर कलाकार भिसामा छिराउने गिरोह सक्रिय भएपछि केही चर्चित नेपाली कलाकारको समेत भिसा अस्वीकृत भएको छ।
कलाकार भिसामा पछिल्लो ८ महिनामा भित्रिएका दुई सय पचास मध्ये एक तिहाइ नेपाल फर्किएनन्।
अस्ट्रेलियन सरकारले दिएको सहुलियत बमोजिम यता आएर अध्ययन/अध्यापनमा सहभागि हुने पाउने प्रावधान आफैंमा नियमसंगत रहे पनि पैसाको कारोबारमार्फत आर्थिक प्रलोभनमा पारेर मानिस भित्र्याउनु गैर कानुनी हो।
पछिल्ला केही सांगीतिक कार्यक्रममा यस्तै आर्थिक प्रलोभनमा पारेर मानिस अस्ट्रेलिया भित्र्याउने गिरोह संलग्न रहेको छ। जसले वास्तविक कलाकारसँगै नक्कली व्यवस्थापक, मेकअप आर्टिस्ट तथा डान्सर अष्ट्रेलिया भित्राइरहेका छन्।
यसरी कलाकारको नाममा गैर कलाकार भित्र्याएर मानव तस्करी हुन थालेपछि यसले बदनामीका स्वर गुन्जिन थालेका छन्। जसको परिणामस्वरूप नेपाली कलाकारलाई अस्ट्रेलियाको भिसा पाउन निकै गाह्रो हुन थालेको छ।
यसरी कलाकारको नाम भजाएर हुने गरेको यस्ता लुकिछिपी मानवतस्करीले कालान्तरमा असरी कलाकारलाई बदनाम मात्र होइन यसक्षेत्रलाई समेत नकरात्मक असर पार्ने कमेडियन सन्दीप क्षेत्रीले बताए।
एनआरएनको कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आएका क्षेत्रीले यस्ता कार्यले कलाक्षेत्रको बदनामी मात्र होइन कलाकारको प्रवासी नेपालीसँग जोडिएको माया र सदभाव माथि पनि प्रहार भएको बताए।
‘पछिल्लो समय कलाकारको इमानदारिता भित्रको बेइमानीको पाटो फेला पर्न थालेको छ। यसले कालान्तरमा नेपाली कलाक्षेत्रको बदनामी मात्र होइन कलाकारको प्रवासी नेपालीसँग जोडिएको माया र सदभावसमेत टुट्नसक्छ,’ उनले भने।
केही अघि मात्र एक कार्यक्रममा आयोजकले आफूलाई एक जना मानिस पनि सँगै जाने र अध्यागमनले सोधेमा हाम्रै टिमको साथी हो, भनिदिन आग्रह गर्दा आफूले उक्त कार्यक्रमनै छाडेको तितो अनुभव सन्दीपले सेतोपाटीलाई सुनाए।
‘हामीलाई आयोजकले विदेशी कार्यक्रममा निमन्त्रण गर्दैगर्दा भिसा प्रक्रिया र अन्य विषयमा थाहा नहुने भएकाले यस्ता बेइमानी धन्धा मौलाइरहेका छन्’, उनले भने, ‘हामी कलाकारले पनि विदेशमा कसैले कार्यक्रममा बोलाउँदै गर्दा केही कुरा भने बुझ्न जरूरी रहेको छ। आयोजकका बारेमा र आफूसँग को-को जाँदैछन् भन्ने सामान्य विषयमा मात्र सोधपुछ गर्दा यस्ता विकृति कम हुनसक्छ।’
यस्तै अस्ट्रेलियाको तास्मानिया, ब्रिजबेन, सिड्नी, एडिलेड र पर्थमा कार्यक्रम सकेर नेपाल फर्कन लागेका गायक दिपक बज्राचार्यले यस्तो गलत कार्य तत्काल रोक्न सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने बताए।
‘दुई वर्षको कोरोनाकालमा निसासिएको कला क्षेत्र एकाएक विभिन्न मुलुक खुलेपछि आफ्नो पुरानोलयमा फर्कन खोज्दै गर्दा केही आयोजकले यसको गलत फाइदा लिएका छन्। यो नेपाली कलाक्षेत्रको बिडम्बना हो’, उनले भने,‘यसबारे सम्बन्धित क्षेत्रले बेलैमा नसोचे पछि नेपालीलाई यी देश भित्रनै ठूलो समस्या पर्नसक्छ।’
कला क्षेत्रमा विभिन्न संघ संस्था भए पनि यसबारे मौन रहेको उनले आरोप लगाए। ‘कला क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था छन्। तर उनीहरू यस्ता विषयमा किन मौन बसिरहेका छन् मैले बुझ्न सकेको छैन’, उनले भने, ‘विदेश भनेपछि केही विचार नगरी जुरूक्कै खुट्टा उचाल्ने केही ब्यक्तिका कारण यस्ता जाल बिच्छाएर गैर कलाकार भित्र्याउने गिरोहलाई सहज बनिरहेको छ।’
उनले यसरी कलाकारका नाममा गैर कलाकार भित्रिदै गर्दा वास्तविक कलाकारले ठूलो समस्या भोग्नुपर्ने बताए। ‘केही स्थापित कलाकारको भिसा नलागेको सुनेको छु, त्यो नेपाली संगीत क्षेत्रको लागि र्दुभाग्य हो’, दिपकले सेतोपाटीसँग भने, ‘हामीले यस्तो बास्तविकताका बारेमा कलाकारलाई जानकारी दिन जरूरि भइसकेको छ, किनभने कार्यक्रम गर्न बिदेश जादै गर्दा कतै हामी पनि गलत तत्वको शिकार त भएका छैनौं। यसबारे सचेत बन्नुपर्छ।’
कलाकारले कार्यक्रम गर्न विदेश जानुअघि कम्तिमा आयोजक र जाने कलाकारको बारेमा जानकारी लिन जरूरी रहेको अर्का कलाकार प्रकाश सपुतले बताए।
‘कलाकारलाई आफ्नै प्रस्तुती र दर्शकको चिन्ता हुन्छ। तर त्यस्ता बेइमानी गर्नेहरूको हजार वाटाहरू हुन्छन् जुन कुरा अरूलाई पत्तो हुँदैन, उनले भने, ‘भिसा कसले गर्छ र कार्यक्रममा को-को सहभागी हुँदैछन् भनेर हामीलाई थाहै हुँदैन । तर कम्तिमा विदेशको कार्यक्रममा जाँदा आयोजक र आफू सँगै जाने व्यक्तिको बारेमा जानकार हुनुपर्छ।’
नेपाल महोत्सवमा सहभागि हुन आएका लोक गायक प्रकाश सपुत अभाव र बेरोजगारी बीच सम्भावनाका खोजीमा बिदेशिनु बाध्यता भए पनि पैसाको लेनदेनमा गैर कलाकारलाई कलाकार भनेर ल्याउनु दन्डनीय विषय भएको बताए।
‘आयोजकले समय र पारिश्रमिकको टुंगोपछि भिसा प्रकृया थाल्छन् जुन कुरामा कलाकारलाई केही जानकारी हुँदैन’, गायक सपुतले भने, ‘पछिल्ला दिनमा यस्तो विषयमा चर्चा परिचर्चा हुन थालेपछि कलाकार पनि सजग हुनुपर्ने बेला आएको छ।’
विदेशमा मेला र महोत्सवका नाममा यसरी आर्थिक प्रलोभनमा पारी मानवतस्करी हुन थालेपछि यसको चर्चाले बजार निकै तातेको छ। नेपालका केही चर्चित कलाकारले भिसा नपाएको र केहीको रद्द भएको समाचारले पनि अहिले अस्ट्रेलिया कठिन बन्दै आएको छ।
पछिल्ला दिनहरुमा यसरी कीर्ते कागजपत्र र कीर्ते कामले नेपालीप्रति अस्ट्रेलियन सरकारको हेराइमा समेत फरक धारणा बनिसकेको छ। पछिल्ला दिनमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको उच्च शिक्षामा भिसा पाउन समेत निकै गाह्रो भइरहेको शैक्षिक परामर्शदाताहरु बताउँछन्।
भेट क्षेत्रको भिसा लगभग शुन्यको अवस्थामा रहेको छ भने विश्वविद्यालयमा अली अलि भिसा लागेको छ।
पछिल्लो अवस्थामा नेपाली विद्यार्थीले अस्ट्रेलियन उच्च शिक्षाको लागि दिने आवेदनमा प्रयोग हुने कागजातसमेत कीर्ते हुने गरेपछि भारतबाट एउटा प्रतिनिधि मण्डल नेपाल आएर त्यसमा छानबिन गरी प्रतिवेदन समेत बुझाएको थियो।
यस्तो कार्यले भोलिका दिनमा वास्तविक कलाकारको प्रवेशाज्ञामा समेत कठिनाइ हुने अस्ट्रेलियाका चिनिएको इभेन्ट कम्पनी नेपाली टचका संयोजक राज कुमार गोश्वामीले बताए।
‘यस्तो विकृति र विसंगतीले अस्ट्रेलियामा नेपालीको पहिचान माथिनै प्रश्न चिन्ह उठ्नसक्छ, यसैले यसलाई रोक्नुपर्छ’, अस्ट्रेलियामा नेपथ्य र नेपाल आइडलजस्ता महत्वपूर्ण इभेन्ट आयोजना गरिसकेको नेपाली टचका संयोजक गोश्वामीले भने, ‘यसका लागि सिंगो नेपाली समाजले वाचडगका रूपमा काम गर्नुपर्दछ नत्र भोलिका दिनमा देशको प्रतिष्ठामा समेत आँच आउनसक्छ।’
प्रवासमा आयोजना हुने मेला महोत्सव अनि कार्यक्रमहरू हाम्राका लागि नभइ राम्राको लागि हुनुपर्छ भन्ने हो। एउटा कार्यक्रमका नाममा आर्थिक चलखेलमा लागेर भिसा लगाउने र मानिस भित्र्याउने काम गरिन्छ भने त्यो बेइमानी र गैरकानुनी हो। यसले मुलुकको नाम समेत बदनाम हुने भएकाले कानुनी कठघरामा उभ्याउन नेपाली समाज बेलैमा सचेत हुनुपर्छ।