सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित हुनुलाई एउटा महत्वपूर्ण उपलब्धीको रूपमा लिनुपर्ने बताएका छन्।
पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले सिड्नीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नागरिकता विधेयकको गलत ब्याख्या गरिन नहुने जिकिर गर्दै अधिकारका लागि नागरिकता प्राप्ती महत्वपूर्ण उपलब्धि रहेको बताए।
उनले प्रवासी नेपालीको माग अनुसार नै एक पटकको नेपाली सधैको नेपालीको पहिलो खुटकीलोका रूपमा समेत यसलाई लिनुपर्ने बताए।
उनले रेशम चौधरीको रिहाइ कानुन अनुसार गरिएको निर्णय भएकोले आफूले यस विषयमा थप केही बोल्नु नपर्ने बताए।
'न्याय सबैलाई समान हुनुपर्छ, कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गर्नु हुँदैन', उनले भने,' रेसम चौधरी कानुन अनुसार रिहाई भएका हुन्। यसबारे थप केही भनिरहनु पर्दैन।'
उनले आफू भ्रष्ट्राचार विरोधी रहेको पटक पटक दोहोर्याउँदै सुशासनको अभावमा मुलुकमा भ्रष्ट्राचार मौलाएको तर्क गरे।
'सुशासनको अभावमा भ्रटाचार मौलाउने गर्छ। राजनीतिमा पनि मान, मर्यादा अनि इज्जत र प्रतिष्ठा हुन्छ त्यो पनि भुलेर भ्रष्टाचारमा संलग्न हुने अपराधी हुन्, उनीहरूलाई कारबाही हुनैपर्छ', उनले भने, 'मैले धेरै पटक सोधेको पनि छु, यत्रो पैसा कमाएर के गर्नुहुन्छ, उसिनेर नोट खानुहुन्छ?'
उनले मुलुकमा पछिल्लो समय धेरै परिवर्तन भएको भन्दै व्यवस्था सँगसँगै अवस्था पनि बदलिएको जिकिर गरे।
'मुलुकमा सबैबाट सबै कुरा पार लाग्दैन, त्यसैले ब्यवस्था बदलिए पनि अवस्था बदलिन नसकएिको आरोप लाग्छ। तर हाल मुलुकमा व्यवस्था सँगै अवस्था पनि बदलिन थालेको छ', उनले अगाडि भने, ' यसलाई अब यथार्थ र तथ्यमा ढाल्न बाँकी छ।'
विदेशमा बस्ने नेपालीको देशप्रतिको चिन्ता जायज रहेको भन्दै उनले सबैको सुझाब र सहयोगको अपेक्षासमेत राखे।
कार्यक्रममा संचारकर्मी र समुदायका अगुवाले राखेका बिविध प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री नेपालले विदेशमा सिकेको शिप र ज्ञानलाई नेपाल लैजान सके देशले ठूलो सफलता पाउने आशा राखे।
पछिल्लो समय विदेशबाट फर्किएका कयौं युवाहरू आधुनिक कृषि, उद्योग र व्यवसायमासमेत संलग्न भइरहेको भन्दै यसलाई आफूले शुभ शंकेतको रूपमा लिएको बताए।
पूर्व प्रधानमन्त्री नेपालले हुन्डी मुलुकका लागि घातक भएको भन्दै यसलाई विधिवत रूपमा सरकारी च्यानलमार्फत देशमा रेमिट्यान्स भित्राउनुपर्नेमा जोड दिए।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफू अस्ट्रेलिया आएपछि दुई देश बीचको कुटनीतिक र व्यवस्थापन सुधारमा गरेको कामबारे प्रकाश पारेका थिए।
उनले आफू आएपछि नगद लिने चलनमा रोक लगाउनुका साथै सहायक मन्त्रीको नेपाल भ्रमण, पासपोर्ट व्यवस्थापनमा घुम्ती सेवा, हुन्डी रोकथाम र प्रकृयागत बैंकिङ व्यवस्थापनमा जोड लगायतका महत्वपूर्ण कार्यको थालनी गरेको बताए।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष धर्मराज अधिकारीले विदेशी पासपोर्ट बोकेर नेपाली राजनीति र नेतालाई सराप्ने पवृत्ती आफैंमा ठिक नभएको तर्क गरे।
उनले गैर आवासीय नेपालीलाई प्रदान गर्ने नागरिकतामा भोटिङ अधिकारसमेत सहितको हुनुपर्ने आफूहरुको माग रहेको समेत सुनाए।
कार्यक्रममा प्रवासी एकता मञ्चका अध्यक्ष अच्यूत थपलिया, प्रवासी एकता मन्च अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव ध्रुब सुवेदी, जनसम्पर्क समितीका अध्यक्ष शुरेस गुरूङ, सामाजिक अभियन्ता गणेश तामाङ, सुमन खरेलले आफ्नो धराणा राखेका थिए।
कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष दुर्गा आचार्य, उपमहासचिव गणेश केसी, एनआरएएनका कोषाध्यक्ष अनिल पोखरेल, सचिव सन्ध्या शाह, पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मी, मञ्चका सल्लाहकार डा. राजु मानन्धर, एनएडीएफका पूर्व अध्यक्ष डिल्ली ढकाल, बालचन्द्र भट्टराई, सुरेन्द्र सापकोटालगायतको उपस्थिति थियो।
एक सातादेखि अष्ट्रेलिया भ्रमणमा रहेका अध्यक्ष नेपाल भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।