वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अस्ट्रेलियाको राजधानी क्यानबेरामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भवानी घिमिरेका छोरी महत्ता घिमिरेले अतिथिहरूलाई स्वागत गर्दै 'बुवा' कविता वाचन गर्दै कार्यक्रमको सुरूआत गरेकी थिइन्।
महत्ताले बुवा आदर्शले आफूलाई पनि कलम समाउन योग्य बनाएको बताइन्।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाश राज पोखरेलले कवि भवानी घिमिरेको सम्झना गर्दै उनीसँग प्रत्यक्ष साक्षात्कार नभए पनि उनको योगदानबारे धेरै कुरा जानकार रहेको बताए।
राजदूत पोखरेलले २०३६ सालको सडक कविता क्रान्तिको अगुवा, साहित्यिक प्रकाशन संघका संस्थापक अध्यक्ष, २०४० सालको भोक कविता आन्दोलनका नेतृत्वकर्ता, महानन्द पुरस्कारका संस्थापक रहेका घिमिरेको व्यक्तित्व आफैमा बहुआयामिक रहेको चर्चा गरे।
प्राध्यापक वरिष्ठ साहित्यकार डा.गार्गी शर्माले भवानी घिमिरेले नेपाली साहित्यमा पुर्याउनु भएको योगदान अविस्मरणीय रहेको चर्चा गर्दै साहित्यिक पत्रकारिताको उनको विशेष योगदान महत्वपूर्ण रहेको बताइन्।
साहित्यकार ज्ञानुवाकर पौडेलले भवानी घिमिरेको सम्झना गर्दै उनको राजनीतिक पक्ष र साहित्यिक पाटो दुबै सशक्त रहेको बताए।
त्यस्तैगरी साहित्यकार बसुधा नेपाल पोखरेलले कवि घिमिरेको सम्झनामा आफ्ना उत्कृष्ट दुई कविता सुनाएकी थिइन्।
साहित्यिक कार्यक्रममा प्रकाश सापकोटा, तुल्सा पाण्डे, मनोज रेग्मी, यज्ञ अधिकारी, प्रकाश लुइँटेल, किशोर भण्डारी, राजु अर्यालले सुन्दर कविता, गजल, मुक्तक वाचन गरेका थिए।
भानु परिवार नेपालकी प्रकाशक शिवानी घिमिरेले आफ्नो पतिको साहित्यिक यात्रा साहित्यक प्रेम चर्चा गर्दै उनीसँगका रोचक क्षणको स्मरण सुनाएकी थिइन्।
कार्यक्रममा नेपाली समाजमा अग्रजहरू कृष्ण हमाल, डा. विनोद उप्रेती, प्रकाश प्रसाईं, दत्त कँडेल, सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्ल, एनआरएनका संयोजक विक्रम सुवेदी, अभिषेक उप्रेती, राजन ढुंगेल, जीवन राणा, आदर्श जंग पाण्डे, सुवास सुवेदी, ललित मल्ल, कलम खड्का लगायतको उपस्थिति रहेको थियो।
क्यानबेरास्थित नेपाली राजदूतको निवासमा आयोजना भएको कार्यक्रम भानु परिवारद्वारा आयोजना तथा कवि भवानी घिमिरेको छोरी साहित्यकार महत्ता घिमिरे चापागाईंको संयोजनमा सम्पन्न भएको थियो।