सरकारले अस्ट्रेलियाका दुई राज्यमा वाणिज्यदूतको नियुक्ति गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका लागि सञ्जिव शर्मालाई र भिक्टोरिया राज्यका लागि निराजन गौलीलाई वाणिज्यदूत बनाउने निर्णय गरेको हो।
आफ्नो चार वर्षे कार्यकाल सकिनुअघि नै न्यूसाउथवेल्स राज्यका महावाणिज्यदूत दिपक खड्काले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए भने भिक्टोरियामा कार्यकाल सकिएपछि पूर्वमहावाणिज्यदूत चन्द्र योन्जन कार्यवाहक तोकिएका थिए।
नेपाल सरकारले न्यूसाउथवेल्स राज्यका लागि नियुक्त गरेका वाणिज्यदूत सञ्जिव शर्मा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका संस्थापक हुन्।
विश्वका विभिन्न २० देशमा शाखा कार्यालय रहेको एक्सपर्टले नेपालमा पनि १० भन्दा बढी कार्यालय रहेका छन् । एक्सपर्ट ग्रुपले नेपालको हाईड्रोपावर क्षेत्रमा पनि लगानी गरेको छ।
१० अर्बभन्दा बढीको लगानीमा नेपालको कर्णाली क्षेत्रमा एक्सपर्टको योजना निर्माणाधीन छ। यस्तै हालै रारा क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्ने योजना पनि एक्सपर्टले सार्वजनिक गरेको छ ।
भिक्टोरियाका लागि वाणिज्यदूत तोकिएका निराजन गौली इन्जिनियर हुन् । केही समय अघिसम्म अस्ट्रेलियाको काउन्सिलहरुमा काम गरिरहेका उनले वाणिज्यदूत नियुक्तिका लागि उक्त जिम्मेवारीबाट राजीनामा दिएका थिए। गौलीको अगुवाईमा अस्ट्रेलिया नेपाल पब्लिक इंक नामक संस्थाले विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।
मानसिक स्वास्थ्य र सडक सुरक्षाको क्षेत्रमा यसले नवआगन्तुकहरुको लागि तालिम दिँदै आएको हो। उनले सन् २०२१ मा एनआरएन अस्ट्रेलियाको कम्युनिटी लिटर एवार्ड समेत प्राप्त गरेका थिए।