अस्ट्रेलियाको पर्यटकीय नगरी सिड्नीमा नेपाली समाज बढ्दै गर्दा यहाँको सबैखाले व्यवसायमा नेपालीहरूको सहभागिता उल्लेख्य बन्दै गएको छ।
सिड्नीको टाउन हल क्षेत्रको सार्क होटलको तल्लो तलामा यसै साता लामो समयको प्रयासपछि नेपालीको लगानीमा 'माया लाउन्ज एन्ड बार' सञ्चालनमा आएको छ।
कार्यक्रमको सिलसिलामा सिड्नी आइपुगेका मह जोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले अनौपचारिक रूपमा यस पवको उद्घाटन गरेका थिए।
उनीहरूले नेपाली व्यवसायीले अस्ट्रेलियाको सिड्नीमा समेत यति विशाल पव सञ्चालनमा ल्याउनु अर्थपूर्ण र महत्वपूर्ण भएको बताए।
करिब तीन सय क्षमता भएको माया लाउन्ज बारको औपचारिक रूपमा नेपालको चर्चित अग्लिज ब्यान्डको संगीतसँगै शुक्रबार औपचारिक सुरूआत हुने भएको छ।
सिड्नीको रात्रि जीवनमा नेपालीपन झल्काउने र मनोरन्जनको आभास दिने माया लाउन्ज पहिलो पव हुने यसका सिद्धार्थ पौडेल बताउँछन्।
‘विदेशी भूमिमा करिब तीन सय क्षमता भएको र सहरको मुख्य चोकमा रहेको मायाको सुरूआत मायालुहरूको लागि अविस्मरणीय हुने विश्वास लिएका छौं,’ पौडेलले भने।
सहरको मुख्य चोकमा रहेको माया पव नेपालीहरूको लागि मात्र नभई अस्ट्रेलियनहरूको लागि पनि फरक स्वादको अलग लाउन्ज बन्ने उनले विश्वास व्यक्त गरे।
‘करिब तीन वर्षदेखि योजनामा रहेको माया लाउन्जले निकै व्यवधान पार गर्दै आफ्नो स्वरूप उजागर गर्न पाएका छौं। यसका लागि नेपाली मायासँग जोडिएका नामलाई पनि हामीले खानेकुरा र पेयका विभिन्न परिकारसँग जोडेका छौं, जस्तो रानीमहल ककटेल होस् या ठेट नेपाली स्वादका परिकार,’ पौडेल भन्छन्।
यसको विशेषता भनेको नेपाली गीत संगीत र नेपालीपनको पहिचान अनि प्रवर्द्धन पनि हो, लगानीकर्तामध्ये एक राम श्रेष्ठ बताउँछन्।
‘हामीले धेरै अघिदेखि यसको तयारी थालेका थियौं तर प्राविधिक र अन्य समस्याले केही ढिलो भएको छ तर हामी आशावादी छौं, किनभने माया लाउन्जले नेपाली तथा अस्ट्रेलियनहरूको माया पाउने कुरामा हामी विश्वस्त छौं,’ रामले भने।