राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अस्ट्रेलियामा रहेका नेपालीको समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन्।
मेलवर्नस्थित ग्लेनरोयमा रहेको नेपालका लागि भिक्टोरियाका वाणिज्यदूतको कार्यालयमा भएको कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नेपालीका समस्याबारे सम्बन्धित निकायमा जानकारी गराउने बताए।
‘म अहिले कुनै कार्यकारी पदमा छैन। तर यहाँ रहेका नेपालीहरूले पासपोर्ट बनाउनका लागि भोग्नुपरेको समस्याबारे मैले कुरा उठाउँछु,’ उनले भने, ‘स्थायी बसोबास गर्ने नेपालीहरूको पनि समस्या छन्। त्यसलाई पनि सम्बन्धित निकायमा पुर्याउने काम गर्छु। आवश्यक परेमा संसदमा समेत कुरा उठाउँछु।’
विदेशमा रहेका नेपालीहरूको लगानी सुरक्षित गर्नका लागि आफूले आवाज उठाउने उनले बताए।
भुगोलको नेपाल र भावनाको नेपाल गरी दुई वटा नेपाल रहेको भन्दै उनले विदेशमा बस्ने नेपालीलाई पनि भावनात्मक रूपमा देशको माया उत्तिकै रहेको बताए।
भिक्टोरियाका लागि वाणिज्यदूत तोकिएका निराजन गौलीले पासपोर्ट नविकरणका लागि डकुमेन्ट संकलनको काम वाणिज्यदूतको कार्यालयले सहजीकरण गर्न सके थुप्रै नेपाली लाभान्वित हुने बताए। त्यसका लागि पहलकदमी लिन गौलीले आग्रह गरेका थिए।
‘पासपोर्ट बनाउनका लागि क्यानभेरा जान पर्ने या नेपाल जान पर्ने भएकाले झन्झटिलो छ। कम्तीमा वाणिज्यदूतको कार्यालयलाई डकुमेन्ट जम्मा गर्ने जिम्मा दिए सहज हुन्थ्यो,’ उनले भने, ‘यहाँको नागरिकता लिइसकेकाहरू नेपाल जान पर्यो र ५ महिनाभन्दा धेरै बस्न पर्यो भने अप्ठ्यारो छ। त्यसका लागि समेत पहल गर्न पाए सहज हुन्थ्यो।’
'अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन' (एन्जा) का अध्यक्ष चिरन्जीवी राज देवकोटाले वाणिज्यदूत नियुक्त गर्ने तर अधिकार नदिँदा समस्या भएको बताए।
उनले पासपोर्ट नविकरणका लागि केही जिम्मेवारी दिए भिक्टोरियामा बस्ने नेपालीलाई सहज हुने बताए। अस्ट्रेलिया जस्ता विकसित देशमा आउँदा नेताहरूले यहाँको पूर्वाधार क्षेत्रको विकास लगायतका विषयमा अध्ययन गर्नुपर्ने समेत उनले सुझाव दिए।
एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोतानेले नेपालबाट आएका नेताहरूलाई आफूहरूका समस्या सुनाउँदा/सुनाउँदा थाकिसकेको बताए।
‘तपाईंहरूले हाम्रा समस्या त सुनुहुन्छ। तर उपलब्धि केही छैन। मेरो २८ वर्षको अनुभवले हो,’ उनले भने, ‘हामीलाई दिएको आश्वासनको कार्यान्वनबारे के कस्ता प्रयास भए भनेर समेत खोज्ने बेला आएको छ।’
एनआरएनए अस्ट्रेलियाका भिक्टोरिया सह-संयोजक महादेव धानुकले एनआरएन नागरिकता दिइए पनि त्यो अनुसारको काम नभएको गुनासो गरे।
अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर गान्धीप्रसाद भट्टराईले अस्ट्रेलियामा रहेका झण्डै २ लाख नेपालीले गरेको योगदानको फाइदा नेपालले लिन नसकेको बताए।
अस्ट्रेलियाको विकासमा अनि कर तिरेर समेत नेपालीले योगदान गरेको भन्दै उनले कूटनीतिक रूपमा दिगो सम्बन्ध कायम गर्न सके त्यसको फाइदा नेपालले लिन सक्ने तर्क गरे।