एनआरएनए अस्ट्रेलियाको निर्वाचन अन्तर्गत सिड्नी रहेको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ।
आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि एनएसडब्लु राज्यमा संयोजकका लागि राज गुरूङ, रोशन भट्टराई र उषा किरण बारिया (पोखरेल) ले प्यानलसहित उम्मेदवारी दिएका छन्।
एनएसडब्लु राज्यमा २३ पदका लागि तीनै जना उम्मेदवारले आ-आफ्नो प्यानल घोषणा गरेका हुन्।
को हुन् उम्मेदवारहरू
टिम रोशन भट्टराई
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद्को आगामी कार्यकालका लागि रोशन भट्टराईले आफ्नो प्यानल घोषणा गरेका छन्।
केन्द्रमा सन्जिव गोर्खाली ढकाललाई राखेर भट्टराईले राज्यमा आफ्नो प्यानल घोषणा गर्दै प्रचार प्रसारलाई तीव्र पारेका छन्।
एक दशकभन्दा बढी समयदेखि अस्ट्रेलियामा रही सामाजिक सेवामा सक्रिय रहँदै आएका भट्टराई विद्यार्थी हकहित र पारदर्शी नेतृत्वको पक्षमा आफूले उम्मेदवारी दिएको बताउँछन्।
यस पटकको निर्वाचनमा उनी विद्यार्थी समस्यालाई प्राथमिकतामा राख्दै विद्यार्थी काउन्सिललाई अझ प्रभावकारी बनाउने, पारदर्शी नेतृत्व स्थापित गर्ने लगायतका योजनासहित चुनावी मैदानमा उत्रिएका छन्।
झापाको केचनामा जन्मिएका भट्टराई काठमाडौं हुँदै सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए। हाल करिअर काउन्सिलरको रूपमा कार्यरत उनले अस्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट समेत गरिरहेका छन्।
हाल एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्य भट्टराई एक दशकदेखि सामाजिक कार्यमा संलग्न हुँदै आएका छन्। एस ह्युम्यानिटी नामक परोपकारी संस्थाको महासचिव भएर काम गरेको लामो अनुभव उनीसँग छ।
• रोशन भट्टराई – राज्य संयोजक
• सुमन खत्री – उप–संयोजक
• सन्दीप अधिकारी– सचिव
• हिमाल पोखरेल– संयुक्त सचिव
• मिल्टन पौडेल– कोषाध्यक्ष
• केशव सिंह– युवा संयोजक
टिम राज गुरूङ
यस्तै केन्द्रमा सन्तोष कुँवरलाई राख्दै राज गुरूङले ‘डेमोक्रेट टिम’को प्यानल घोषणा गरेका छन्।
जनसम्पर्क मञ्च अस्ट्रेलिया, एनएडिएफलगायत संस्थाहरू र अभियन्ताहरूको सक्रिय सहकार्यमा निर्माण भएको भनिएको उक्त टिमलाई जनसम्पर्क समिति अस्ट्रेलियाका केन्द्रीय सभापति सुरेश रानसिंह गुरूङ उपाध्यक्ष राजेश केसी, एनएसडब्लु संयोजक शितल गिरी, तथा टिम संयोजक सत्यराज कडेलको सहमति र अगुवाइमा अघि सारिएको हो।
राज गुरूङ हाल एनआरएनए अस्ट्रेलिया, NSW राज्य परिषद (SCC) मा सह–सचिवका रूपमा कार्यरत छन्। २०१६ मा अस्ट्रेलिया आएका उनी सामाजिक र संस्थागत क्षेत्रमा निरन्तर सक्रिय छन्।
चितवनको माडी नगरपालिका–१ निवासी गुरूङ विद्यार्थी जीवनदेखि नै सामाजिक, राजनीतिक र नेतृत्व क्षमतामा सक्रिय थिए।
उनले जुलाई २६ को निर्वाचनलाई व्यक्तिगत आकांक्षा नभएर समुदायप्रतिको जिम्मेवारीको रूपमा लिएको बताएका छन्। सबैलाई समेट्ने समावेशी नेतृत्वमार्फत अगाडि बढ्ने उनको चाहना छ।
• राज गुरूङ – राज्य संयोजक
• गणेश केसी – उप–संयोजक
• मञ्जिल खड्का– सचिव
• विवेक पुरी– संयुक्त सचिव
• अनन्त गुरूङ– कोषाध्यक्ष
• सुदीप सिंह विष्ट (काजी)– युवा संयोजक
• आशा श्रेष्ठ– महिला संयोजक
टिम उषाकिरण
यस्तै आगामी कार्यकाल (२०२५–२७) का लागि हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय नेतृत्वमा भैरव ढकाललाई राखेर न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा उषाकिरणले प्यानल घोषणा गरेकी हुन्।
परिवर्तनको एजेन्डा र समुदायमैत्री नेतृत्वको संकल्पसहित अगाडि बढेको टिम एकता एनएसडब्लु फर चेन्ज समूहको नेतृत्वमा सामाजिक क्षेत्रमा सक्रिय पोखरेलले राज्य संयोजक पदमा उम्मेदवारी दिएकी हुन्।
विद्यालय जीवनदेखि नै नेतृत्व क्षमताको अभ्यास गर्दै आएकी पोखरेल नेपाली समुदायमा निडर, कर्मठ र स्पष्टबक्ता समाजसेवीको रूपमा चिनिन्छिन्। विशेषतः महिला, युवा र परिवारसँग प्रत्यक्ष सरोकार राख्दै आएकी उनी प्रवासी नेपाली समाजभित्र विशिष्ट स्थान बनाउन सफल भएकी छन्।
‘हामी सँगै हिँड्यौं भने मात्रै उठ्न सक्छौं,’ पोखरेलले भनिन्, ‘नेतृत्वको मूल आधार सेवा हो, पद होइन।’
समूहले ‘परिवर्तनका लागि एकता’ भन्ने मूल नारासहित सामाजिक समावेशिता, पारदर्शिता र जबाफदेही संस्थागत संरचना निर्माणमा प्राथमिकता दिने जनाएको छ।
• उषा किरण बारिया पोखरेल – राज्य संयोजक
• चण्डिका ओली ओदारी – उप–संयोजक
• प्रताप पन्थी – सचिव
• विजय घिमिरे – संयुक्त सचिव
• अनिल त्वनाबासु – कोषाध्यक्ष
• रमेश सिंह – युवा संयोजक
• सनीता लामा – महिला संयोजक