पछिल्ला केही वर्षयता अस्ट्रेलियामा हिंसात्मक घटनाहरू, जस्तै छुरा आक्रमण, कार जलाउने, र सार्वजनिक स्थानमा गोलीकाण्डजस्ता गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको छ।
यस्ता घटनाहरू विशेषगरी सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, र क्यानबेराजस्ता सहरहरूमा बढ्दो अवस्थामा देखिएका छन्।
प्रहरी रिपोर्टहरू र विश्लेषणलाई आधार मान्ने हो भने यस्ता घटनामा संलग्न व्यक्ति विभिन्न पृष्ठभूमिका छन्— कोही युवा गिरोहमा छन् भने कसैमा मानसिक स्वास्थ्य समस्याहरू प्रमुख कारक देखिएका छन्। यद्यपी आप्रवासनका कारण अपराध दरमा वृद्धि भएको भन्ने दाबीलाई पुष्टि गर्ने ठोस प्रमाणहरू भने हालसम्म भेटिएका छैनन्।
सन् २०२४ को जनगणना अनुसार, अस्ट्रेलियाको कुल जनसंख्याको करिब ३१ प्रतिशत हिस्सा विदेशमा जन्मिएका व्यक्तिहरूले ओगटेका छन्। विशेष गरी सन् २००० पछिका आप्रवासीहरूले जनसंख्या, श्रमशक्ति, तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्। तर कतिपय हिंसात्मक घटनामा आप्रवासी पृष्ठभूमिका व्यक्ति संलग्न देखिएपछि यहाँका केही कट्टरपन्थी समूहहरूबीच आप्रवासीप्रति असन्तोष र विरोधको भावना चुलिएको छ।
३१ अगस्टको प्रदर्शन:
त्यसै सन्दर्भमा, ३१ अगस्ट २०२५ मा अस्ट्रेलियाका प्रमुख सहरहरूमा 'मार्च फर अस्ट्रेलिया' नामक विरोध प्रदर्शन आयोजना हुँदैछ। यस र्यालीमा आयोजकहरूले 'मास आप्रवासन अन्त्य गरौं, अस्ट्रेलियाको पहिचान फिर्ता ल्याऔं' भन्ने नारा अघि सारेका छन्।
उनीहरूको मुख्य चिन्ता जनसंख्या वृद्धि, आवास अभाव, पूर्वाधारमाथिको दबाब, र सांस्कृतिक परिवर्तन हो। तर विरोधीहरू र मानव अधिकारकर्मीहरूले यो आन्दोलनमा दक्षिणपन्थी र चरमपन्थी समूहहरूको प्रभाव रहेको आशंका व्यक्त गर्दै यसले सामाजिक विभाजन र घृणा फैलाउने जोखिम रहेको बताएका छन्।
प्रधानमन्त्री एन्थनी अल्बानीज र गृहमन्त्री टोनी बर्क ले यस विरोध प्रदर्शनमा चरमपन्थी घुसपैठको सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् र चासो व्यक्त गरेका छन्।
सार्वजनिक शान्ति र सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा उपायहरू अपनाउने घोषणा सरकारले गरिसकेको छ। विपक्षी लिबरल पार्टीले शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकारको पक्षमा उभिँदै, अनावश्यक हस्तक्षेपबाट लोकतान्त्रिक मूल्यमाथि असर पर्न सक्नेतर्फ सरकारलाई सचेत गराएको छ।
नेपाली समुदायको दृष्टिकोण
अस्ट्रेलिया बहुसांस्कृतिक राष्ट्र हो, जहाँ नेपाली समुदायसहित विभिन्न जाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरू मिलेर बसेका छन्। यस्ता प्रदर्शनहरूले आप्रवासी समुदायहरूमा डर, असुरक्षा र विभाजनको भावना बढाउने खतरा रहन्छ।
नेपाली विद्यार्थी, व्यवसायी, र आप्रवासीहरूले यस्तो आन्दोलनले समाजमा नकारात्मक सन्देश फैलाउने र आप्रवासीहरूलाई लक्षित गर्ने प्रयासको रूपमा बुझेका छन्। यस्तो बेला नेपाली समुदायले दुई वटा सम्भावित जोखिम देखेको छ:
१. केही चरमपन्थी समूहहरूबाट लक्षित व्यवहार वा दुर्व्यवहारको खतरा।
२. सामाजिक सञ्जाल वा सञ्चार माध्यममा भ्रामक, नफरतपूर्ण वा तोडमोड गरिएको जानकारीको फैलावट।
सतर्कता र सजगता जरूरी
अस्ट्रेलियाको संविधानले शान्तिपूर्ण प्रदर्शनको अधिकार र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अन्तर्गत सुरक्षित भए पनि, यदि कुनै आन्दोलनले जातीय द्वेष, हिंसा वा सामाजिक अशान्ति निम्त्याउने खतरा रहेमा सरकारले नियन्त्रणको उपाय अपानउनु अनिवार्य हुन्छ।
त्यसैले, नेपाली समुदायलाई यस परिस्थितिमा कुनै पनि प्रकारको अप्रत्याशित गतिविधिमा नफस्न र केही सतर्कताका उपया अपनाउन आग्रह गर्न सकिन्छ।
• सार्वजनिक स्थानमा जानुअघि स्थानीय समाचार र प्रहरी सूचनालाई ध्यान दिनुपर्छ।
• प्रदर्शन हुने सम्भावना रहेका ठाउँबाट सजग र टाढा रहनपर्छ।
• सामाजिक सञ्जालमा फैलिने अफवाह वा घृणात्मक सामग्रीलाई सचेत रूपमा मूल्यांकन गर्नुपर्छ।
• आवश्यकता परेमा स्थानीय समुदाय, दूतावास, वा नेपाली संघसंस्थासँग सम्पर्कमा रहन जरूरी छ।
३१ अगस्टको र्याली अस्ट्रेलियाको बहुसांस्कृतिक मूल्य र सामाजिक सहअस्तित्वको लागि एक परीक्षा बन्न सक्छ। यस्तो समयमा नेपाली समुदायले संयम, सुरक्षा र सकारात्मक सोचसहित सजग नागरिकको भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।
(लेखक गैरआवासीय नेपाली संघ (एनआरएनए)का सचिव हुन्। उनी अस्ट्रेलियाको सिड्नीमा बस्छन्)