अस्ट्रेलियाको मेलवर्नमा पहिलो पटक इन्द्रजात्रा मनाइएको छ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलवर्नमा रहेको नेपाली बहुसांस्कृतिक केन्द्रमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको हो।
नेवा गुठी मेलवर्नले आयोजना गरेको इन्द्रजात्रामा ३ हजारभन्दा धेरैको उपस्थिति रहेको इन्द्रजात्रा उत्सवका निर्देशक राजन मास्केले सेतोपाटीलाई बताए।
इन्द्रजात्राको लागि मेलवर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट अग्लो श्वेत भैरवको प्रतीमा, लाखे, पुलु किसि, धिमे बाजागाजा लगायतको प्रस्तुतीले जात्राको रौनक थपेको थियो। त्यस्तै नेवारी परिकारहरू समेत उपलब्ध थियो।
इन्द्रजात्रा उत्सवका निर्देशक मास्केले अस्ट्रेलियामै हुर्किएका र लामो समयदेखि नेपाल जान नपाएकाहरूलाई जात्राले रमाइलो बनाएको बताए।

'म इन्द्रजात्रा हेरेरै हुर्किएको हो। म लगायतका थुप्रैले अस्ट्रेलियामा आएर जात्रा देख्न पाएका थिएनौं। हामीले यसपटक परम्परा र संस्कृति चिनाउन प्रयास गर्यौं,' उनले भने, 'विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिन्छ भनेर सन्देश दिएका छौं। वास्तवमै इन्द्रजात्रा कस्तो हुन्छ भनेर हेर्न नेपाल जान मन लागोस् भनेर पनि हामीले यो प्रयास गरेको हो।'
यस इन्द्रजात्रा उत्सवलाई नेवा गुठीको अगुवाइमा नेवा पुच, मिषा पुच, एएनएमसी, बाजा खलः, महागुठी, वृष्टि मन्दिर लगायतका संस्थाहरूले साथ दिएका थिए।

