क्यानाडाको क्यालगरीमा गत डिसेम्वर २५ (क्रिसमस) का दिनमा सम्पन्न तेरिया मगर एण्ड दिपक लिम्वु साँझ कार्यक्रमको आयव्यय शनिवार सार्वजानिक गरिएको छ ।
आयोजक संस्था नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगरी (एनसिएससी) ले कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै उक्त कार्यक्रमबाट करिब २२ हजार क्यानेडियन डलर संस्थाका लागि बचाउन सफल भएको बताएको छ।
एनसिएससि रिसोर्स सेन्टर निर्माण गर्ने उद्धेश्यसहित आयोजना गरिएको उक्त फन्डरेइजिङ्ग–सो बाट करिब ३७ हजार क्यानेडियन डलर आम्दानी भएको जनाईएको छ। कार्यक्रममा ६ सय ५० भन्दा बढी नेपाली तथा इन्डियन दर्शकहरुको उपस्थिति थियो।
कार्यक्रममा १७ हजार ३ सय ८० क्यानेडियन डलरको टिकट विक्री भएको थियो। त्यस्तै व्यवसायिक स्पोन्सरहरुबाट १० हजार, खाना तथा रिसोर्स सेन्टरका लागि व्यक्तिगत सहयोगबाट ९ हजार ७ सय गरि झन्डै ३७ हजार क्यानेडियन डलर आम्दानी भएको उक्त कार्यक्रमका आर्थिक व्यवस्थापन संयोजक विशाल ढुङ्गेलले बताए।
कार्यक्रमका लागि विभिन्न शीर्षकमा खर्च भएको करिब १६ हजार क्यानेडियन डलर कटाएर संस्थाका लागि करिब २२ हजार क्यानेडियन डलर बचत भएको छ। उक्त संकलित रकम एनसिएससी रिसोर्स सेन्टर खरिदका लागि उपयोग गरिने संस्थाका अध्यक्ष धुव्र राईले बताए।
कार्यक्रमले ऐतिहासिक सफलता पाएको खुशी व्यक्त गदै उनले भने, ‘यो कार्यक्रम क्यालगरीको इतिहासमा सवैभन्दा सफल र ऐतिहासिक रहयो’ उनले चर्चित नेपाली प्लेव्याक सिंगर दिपक लिम्वुले कार्यक्रमका लागि दिएको योगदानको प्रशंसा गरे ।
अध्यक्ष राईले अन्तर्ष्ट्रिय रूपमा ख्यातीप्राप्त कलाकार तेरिया मगरले निशुल्क रुपमा कार्यक्रम गरि क्यालगरीबासी नेपालीहरुलाई ठूलो गुन लगाएको समेत प्रतिक्रिया दिए।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, दाता, मिडिया, व्यवसायी तथा संघसंस्थालाई एनसिएससीको तर्फबाट धन्यवाद दिँदै कार्यक्रम संयोजक श्रीकान्त अर्यालले उक्त कार्यक्रमले क्यालगरीबासीमा थप उत्साह बढाएको बताए।