गेर आवासीय नेपाली संघ, डेनमार्कले बिभिन्न समय र प्रयोजनमा नेपाली समुदायबाट संकलन गरेको आर्थिक रकमको हिसाबकिताब आइतबार सार्बजनिक गरेको छ।
गत ११ फेब्रुवरीमा कोपन्हेगनमा निधन भएका प्रमोद अधिकारीको पार्थिव शरीरलाई नेपाल स्थित उहाँको परिवारलाई पठाउने क्रममा लाग्ने आर्थिक सहयोगका निम्ति डेनमार्कस्थित संम्पुर्ण नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली राजदुतावास र डेनमार्क बसोबास गर्ने नेपालीहरुको संयुक्त प्रयासवाट संकलित राहत रकम र त्यसको उपयोगबारे संघले हिसाब सार्बजनिक गरेको छ। सो प्रयोजनका लागि आह्वान गरिएको सहयोग मार्फत कुल १ लाख २ हजार १ सय २ डेनिस क्रोनर संकलन भएको देखाइएको छ। पार्थिव शरीर नेपाल पठाउने प्रक्रियादेखि हवाई टिकट, परिवारका सदस्यका लागि यात्रा लगायतमा ६० हजार ७ सय १४ डेनिस क्रोनर खर्च भएको र बाँकी रहन आएको ३१ हजार ३ सय ८८ क्रोनर १९ अगस्टका दिन गैर आवासीय नेपाली संघ डेनमार्कको कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थितिमा सम्बन्धित परिवार (लक्ष्मी बेलबासे अधिकारी) लाई हस्तान्तरण गरिएको जानकारी संघले गराएको छ। त्यस्तै, आवस्यक रकम नउठेको खण्डमा प्रयोग गरिने गरि संघको सामाजिक कोषबाट छुट्टयाइएको १०००० डेनिस क्रोनर आवस्यक रकम सहयोगदाताबाटै उठेकोले सोहि कोषमा फिर्ता गरिएको पनि स्पष्ट पारेको छ।
त्यसैगरी, बिगत नौ वर्षदेखि डेनमार्कमा वसोबास गरि सामाजिक रुपमा सक्रिय रहदै आउनुभएका सामाजिक व्यक्तित्व तथा गैरअावासीय नेपाली संघ, डेनमार्कका पूर्व सल्लाहकार एवं प्रवासी नेपाली मञ्च डेनमार्कका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको २३ मे २०१७ का दिन असामयिक निधन भए पश्चात उहाँको पार्थिव शरिरलाई अन्तिम संस्कारको लागि मातृभुमी पठाउन अावश्यक पर्ने अार्थिक सहयोगका निम्ति गैरअावासीय नेपाली संघ, डेनमार्कले गरेको अपिल अनुसार डेनमार्कस्थित सामाजिक संघ-संस्था, व्यक्तित्वहरुबाट संकलित रकमको व्यहोरा र खर्च विवरण पनि संघले सार्वजनिक गरेको छ। सो प्रयोजनमा १ लाख ४ हजार २ सय ६ डेनिस क्रोनर जम्मा भएको र लागेको खर्च ४८ हजार ६ सय ७२ डेनिस क्रोनर कटाई बाँकी रहन आएको ५५ हजार ५ सय ३४ डेनिस क्रोनर १९ अगस्टकै दिन गैर आवासीय नेपाली संघ डेनमार्कको कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थितिमा उहाको परिवार (जानकी भण्डारी पौडेल) लाई हस्तान्तरण गरिएको संघले जानकारी गराएको छ।
दुवै पटकका सहयोग आह्वानमा हातेमालो गरिदिने सम्बन्धित सबैलाई संघले धन्यबाद ज्ञापन गरेको छ। सहयोगदाताको नाम र संकलित रकम तथा खर्चका शिर्षक र रकम समेतको विवरण उल्लेखित हामीलाई प्राप्त जानकारी संघका सचिव एबम प्रबक्ता रमेश काफ्लेले संघको फेसबुक पेजमा समेत राखेका छन्।
अर्कातर्फ, नेपाल- डेनमार्क दौत्य सम्बन्ध स्थापनाको स्वर्ण महोत्सबको सन्दर्भमा गत मे २१ तारिखका दिन नेपालको राष्ट्रिय भलिबल टिम र डेनमार्कको भिदौर भलिबल क्लब बीच भएको मैत्रीपूर्ण भलिबल खेलका दौरान संकलित रकमको आर्थिक विवरण पनि आइतबारै एक फरक कार्यक्रमका बीच सार्बजनिक गरियो। गैर आवासीय नेपाली संघ डेनमार्क, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद, नेपाली दुतावास, भिदौर भलिबल क्लब, सिपिएच एडु ट्राभल र डेनमार्कस्थित नेपाली संघ-संस्थाको सामुहिक सहयोग र पहलमा भएको राष्ट्रिय गौरब र प्रतिष्ठाको युरोपमै पहिलोपटक भएको ऐतिहासिक खेलमा सहयोग गर्ने सहयोगदाताहरुलाई नेपाल पर्यटन बोर्डका डेनमार्क स्थित मानार्थ प्रतिनिधि दिपक सापकोटाले सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गरे।
सो अबसरमा आर्थिक सहयोग गर्ने सहयोगदाता र रकम तथा खर्चको विवरण एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले प्रस्तुत गरे। सहयोगदाताबाट ७६ हजार ९ सय ३० क्रोनर संकलन भएकोमा खेलाडीको भिसा, हवाई टिकट लगायतमा जम्मा १ लाख ६ हजार ९६ क्रोनर खर्च हुन गएकोले कबोल गरेका तर हालसम्म उपलब्ध नभएका सहयोग रकम उठेमा २९ हजार १ सय ६६ क्रोनार व्ययभार परेको जानकारी गराइयो। कार्यक्रममा व्ययभार पूर्ति गर्ने उपायहरुबारे पनि छलफल भए।
अनलाइनमा लाइभ समेत देखाइएको खेल ८० हजार भन्दा बढीले हेरेका र राष्ट्रिय गौरबको ऐतिहासिक खेल सफल रुपमा सम्पन्न भएकोमा आफुलाई सन्तुष्टि मिलेको बताउंदै सापकोटाले घाटा रकम सम्भावित परिपूर्तिका उपायबाट पूर्ति नभई आफ्नै खल्तीबाट हाल्नु परे पनि गुनासो नहुने बताए।