डेनमार्कको राजधानी कोपनहेगन महानगरपालिका (कम्युन) नगर परिषद सदस्यमा पहिलो पटक नेपाली हरि न्यौपाने चयन भएका छन्।
संसारकै चर्चित मध्यमा पर्ने यो सहरको नगर परिषदमा चुनावमार्फ़त यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन्।
१ वर्षअघि २०२१ नोभेम्बर १६ तारिखमा भएको स्थानीय चुनावमा १ मतले उनी पछि परे पनि अहिले सदस्य छनोट भएका छन्।
नोभेम्वर १ मा भएको संसदीय चुनावमा सत्तारूढ सोसियल डेमोक्रेट पार्टीबाट नगर परिषदको सदस्य रहेका मेटे रेसम्यान (एस) सांसद चुनिएपछि उनको ठाउँमा न्यौपाने चयन भएका हुन्। नगर परिषदमा सदस्य खाली भएमा सबैभन्दा बढी मत प्राप्त गर्नेलाई चयन गर्ने व्यवस्था छ।
गत वर्ष भएको स्थानीय चुनावमा सत्तारूढ सोसियल डेमोक्रेट पार्टीबाट उम्मेदवार भएर न्यौपानोले ९०४ प्राप्त गरेका थिए। उनीभन्दा १ मत बढी पाएर मार्कुस भेस्टागर विजयी भएका थिए। कोपनहेगन महानगरपालिकामा ५५ सदस्यीय नगरपरिषद छ। जसमध्ये अब न्यौपाने पनि एक हुन्।
‘विदेशी भूमिमा राजनीति गरेर यो स्थानमा पुग्दा खुसी लागेको छ’ न्यौपानेले सेतोपाटीसँग खुसी साटे, ‘मलाई धेरै ठूलो सहयोग गर्ने डेनमार्कको नेपाली समुदायलाई विशेष धन्यवाद दिन चाहन्छु।’
चितवन घर भएका उनी उच्च शिक्षा हाँसिल गर्न सन् २००५ मा डेनमार्क आएका थिए।
कोपनहेगन कम्युनको नगर परिषदमा अर्को साता उनको परिचयात्मक कार्यक्रम र प्रशिक्षण हुनेछ। त्यसपछि कार्यभार सम्हाल्ने न्यौपानेले जानकारी दिए।
एकै पटकको मेहनतमा भने उनी यहाँ पुगेका हैनन्। दोस्रो पटक चुनाव लडेपछि बल्ल सफलता हात लागेको हो। सन् २०१७ मा २ सय मत नपुगेर सदस्य चयन हुन् सकेका थिएनन्।
नगर परिषदमा चयन भएसंगै डेनमार्कको नेपाली समाजमा खुसी छाएको छ। ग़ैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी (शैलु)ले नेपालीहरुको सहयोगको कारण न्यौपानेले सफलता हात पारेको भन्दै अब काम गरेर देखाउनु पर्ने आवश्यकता औंल्याए।
डेनमार्कमा झण्डै ५ हज़ारको संख्यामा नेपाली छन् । कोपनहेगन महानगरपालिकामा बस्नेले मतदान गरेका थिए भने अन्य ठाउँका नेपालीले पनि सहयोग गरेका थिए। ‘हरि जिताऔं अभियान’ बनाएर जुटेका थिए ।
स्थानीय चुनावलाई डेनिस राजनीतिमा महत्वका साथ हेरिन्छ। ‘थिंक ग्लोबल्ली एन्ड यक्ट लोकल्ली’ भने झैँ डेनमार्कको सिंगो विकासमा सोचें पनि काम चाहिँ हरेक स्थानीय तहबाट सुरु गर्ने यहाँको पद्दति छ। हरेक स्थानीय क्षेत्रको विकास हुँदा सिंगो देशको विकास हुन्छ भन्ने डेनिस राजनीतिको मान्यता पाइन्छ।
‘नीति नियम पनि स्थानिय तहबाटै नै तय गरिन्छ, विशेष अवस्थामा मात्रै संसदीय भवनको हस्तक्षेप रहन्छ,’ न्यौपानेले प्रष्ट पारे। स्थानीय नेता पदमा विजयी भएका उनले स्थानीय नीति निर्माण तह, संस्कृति र वातावरण संरक्षणका साथै डेनिस समाजको विकासका लागि काम गर्नुपर्ने हुन्छ। उनलाई अब सेवा सुविधामा राम्रै तलब भत्ता र छुट्टै कार्यकक्ष प्राप्त हुन्छ।
‘यहाँको खासगरी स्थानीय नीति निर्माण गर्ने मुख्य थलोमा पुगेको छु’ न्यौपानेले भने, ‘नेपाली र अरु आप्रवासीको हितमा सकेजति काम गर्ने मेरो प्रयास रहनेछ ।’ नेपाली विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उनी सरकारी कम्पनीमा ग्राहक सेवा प्रतिनिधि, दोभाषे तथा कोपनहेगन कम्युनमा मेन्टरका रुपमा कार्यरत थिए।
न्यौपानेले कानुनी जटिलता र भाषा लगायतका समस्यामा यहाँका नेपाली र अरु देशका केही आप्रावासीलाई कानुनी प्रक्रिया, भिसा समस्या र दोभाषेको रुपमा सहयोग गर्दै आएका छन्।
कोरोना महामारीको बेलामा पनि उनले सूचना आदानप्रदान र सरकारले प्रदान गरेका राहात सहयोग लगायतमा पनि राम्रो सहयोग पुर्याएको भन्दै नेपाली तथा अन्य देशका आप्रावासीले न्यौपानेको खुलेर तारिफ गर्ने गरेका थिए।
डेनमार्कमा समानुपातिक र प्रत्यक्ष गरि मिश्रित निवार्चन प्रणाली छ। मतपत्रमा पार्टी र मन परेको उम्मेदवारलाई मत दिन पाइन्छ।
कुल खसेको मतमा जति प्रतिशत मत पार्टीले पाउँछ त्यसै अनुपातका आधारमा पार्टी बीचमा सिट बाँडिन्छ । र, उम्मेदवार जसले धेरै मत लिएको छ ऊ विजयी हुन्छ ।
१ वर्षअघि भएको चुनावमा बामपन्थी धारको रेड-ग्रीन पार्टी कोपनहेगनमा पहिलो पार्टीको रूपमा विजयी हुँदै १५ सिट पाएको थियो। उसले खसेको मतमध्ये २४.६ प्रतिशत प्राप्त गरेको हो। आप्रावासीमैत्री, वातावरण र मजदुरको पक्षमा उसले उठाएका मुद्दाका कारण सहरी क्षेत्रमा यो पार्टी लोकप्रिय छ । दोस्रो ठूलो पार्टी बने पनि कोपनहेगनको मुख्य मेयरमा भने सोसियल डेमोक्र्याटकी उम्मेदवार सोफी हर्सटर्प एन्डारसन छिन् ।
तेस्रो ठूलो पार्टी बनेको कन्जरभेटिभले करिब १३.१ प्रतिशत मत जित्दै ८ सिट छ ।
सोसियल डेमोक्र्याट, रेड-ग्रीन लगायतका पार्टीको रातो गठबन्धनले सोफीलाई पहिला नै मुख्य मेयर घोषणा गरेको थियो। अन्य ५ मेयरमा रेड-ग्रीन र अन्य पार्टीका छन् ।
नेपालमा छँदा वामपन्थी राजनीतिमा चासो राख्ने ४४ वर्षीय न्यौपाने यता बस्दाबस्दै समाजसेवा तथा राजनीतिमा पनि सक्रिय रुपले लागेका हुन्। सन् २०१२ मा सत्तारुढ सोसियल डेमोक्रेट पार्टीको सदस्यता लिएर डेनिस भाषा राम्रो बुझ्न थालेपछि राजनीतिमा होमिए ।
अब अर्को पटक सांसदको चुनाव लड्ने योजना समेत सुनाए । ‘यसपाली कोपनहेगन कम्युनमा पुगे अब ४ वर्षपछी पार्लेमेन्ट मेम्बरमा लड्ने प्लान छ ।’ उनले भने ।त्यसपछि युरोपियन युनियन संसदसम्म पुग्ने उद्देश्य रहेको बताउँछन्। उनले आप्रावासीको हक हितमा काम गर्ने भन्दै राजनीतिक पाइला अघि बढाएको बताए।
आप्रवासीको हक र हितका मुद्दा प्रमुख रुपमा उठाएका न्यौपानेले पार्टीले विदेशीलाई हेर्ने नीति आप्रवासीमैत्री बनाउनेमा विशेष भूमिका निर्वाह गर्ने बताउछन्। विकास निर्माण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका नीति निर्माण गर्न सक्रियतापूर्वक लाग्ने उनको भनाइ छ।
नगर परिषद सदस्य रुपमा कोपनहेगनमा प्रत्येक वर्ष १० हजार भन्दा बढी व्यक्तिहरुको आगमन भएकाले भाडामा बस्ने सस्ता अपार्टमेन्ट बनाउने नीति, सोसल कन्ट्रोलले आफ्नो बच्चा र परिवारका सदस्यहरुमा नराम्रो असर पर्ने भएकाले यसको विषयमा आफ्ना मुद्दाहरुलाई अगाडि दमदार हिसाबले अघि बढाउने योजना रहेको सुनाए।