गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि दुईसाता लामो गृहकार्य सफल नभएर आइतबार भएको निर्वाचनमार्फत गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले नयाँ कार्यकालका लागि पदाधिकारी टुंगो लगाएको हो ।
सन् २०१७ देखि २०१९ का लागि काम गर्न इच्छा जनाएका उम्मेदवारबीच सहमति नभएका पदमा निर्वाचन भएको निर्वाचनले विजयी भएकाहरूले फराकिलो मतान्तरबाट प्रतिद्वन्द्वीलाई हराएका छन् ।
सहमति हुन नसकेका पदमध्ये उपाध्यक्षमा शिवप्रसाद पौडेल र सरोजकुमार खत्री निर्वाचित भएका छन् । पौडेलले चार हजार २७६ र खत्रीले तीन हजार ९५८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । महिला उपाध्यक्षमा अनिता गुरुङ सहमतिमा विजयी भएकी थिईन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा टासीवाङदी लामा, वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी, महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिका थापा सहमतिमा दुईसाताअघि विजयी भए पनि अन्य पदमा आइतबार साँझसम्म निर्वाचन भएको थियो ।
सचिवमा प्रतिद्वन्द्वी वासुदेव लामिछानेलाई हराउँदै जनकविक्रम शाहीले तीन हजार ७७४ मत पाएर विजयी भए । लामिछानेको पक्षमा जापानभरबाट तीन हजार १९१ मत खसेको थियो । सहकोषाध्यक्षमा एकल उम्मेदवार भएर रामबहादुर थापा दुईसाताअघि निर्वाचित भएका थिए ।
त्यस्तै, पाँचजना सदस्यका लागि २१ जना प्रतिस्पर्धी भए पनि निर्वाचनमा खसेको सात हजार ५०३ मतमध्ये हस्त लामाले तीन हजार एक मत पाएर विजयी भए। बालकृष्ण कँडेलले दुई हजार ५८७, लालबहादुर रावलले दुई हजार ५६२, नारायण खड्काले दुई हजार ४४४, राजनकुमार पौडेलले दुई हजार ४१२ मत पाएर विजयी भए ।
त्यस्तै, एकजना महिला सदस्यमा सिर्जना पाण्डेले प्रतिद्वन्द्वी गीता आचार्य र कमला गैरेलाई फराकिलो मतान्तरबाट हराए । पाण्डेको तीन हजार ३४० मत थियो भने पराजय भोगेका आचार्यको दुई हजार ८५५ र गैरेको पक्षमा ७८६ मत खसेको थियो ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा अनुज थापा, डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि साताअघि नै निर्विरोध चयन भएका थिए ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा साताअघि टुंगो लागेपनि अन्य पदका उम्मेदवार निर्वाचनमा जाने भनेपछि आइतबार बेलुकासम्म विद्युतीय मतदानमार्फत निर्वाचन भएको थियो । रासस