पाकिस्तानमा आमनिर्वाचनको मतगणना जारी छ।
बिहीबार दिउँसो सम्पन्न राष्ट्रिय र प्रान्तीय निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ।
मतदान सम्पन्न भएपछि निकै ढिला गरी मतगणना सुरू भएकोमा शुक्रबार दिउँसो ३ बजेसम्म १०७ वटा राष्ट्रिय सभा निर्वाचन क्षेत्रहरूको नतिजा सार्वजनिक भएको छ।
पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई)ले अग्रता लिएको छ।
पाकिस्तानको निर्वाचन आयोगले पिटिआइ पार्टीलाई चुनाव चिन्ह ‘क्रिकेट ब्याट’ नदिने निर्णयलाई सर्वोच्च अदालतले कायम राखेपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
सत्तारूढ पाकिस्तान मुस्लिम लिग (पिएमएल-एन) दोस्रो र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो स्थानमा छ।
१०७ मध्ये पिटिआईका ४२, पिएमएल-एनका ३४ र पीपीपीका २७ उम्मेदवार विजयी भएको पाकिस्तानको निर्वाचन आयोगले आफ्नो वेभसाइटमार्फत जानकारी दिएको छ।
बाँकी साना तथा क्षेत्रीय दलहरूका उम्मेदवार निर्वाचित भएका छन्।
पाकिस्तानमा राष्ट्रिय सभाका ३३६ सिटमध्ये २६६ सिटका लागि निर्वाचन भएको हो।