हिजबुल्लाहले उपमहासचिव नइम कासिमलाई नयाँ प्रमुख घोषणा गरेको छ।
इसराइलले सेप्टेम्बर २७ मा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारेपछि कासिमलाई नयाँ प्रमुख बनाइएको हो। लेबननस्थित उक्त समूहले मंगलबार एक विज्ञप्ति निकाल्दै ७१ वर्षीय कासिमलाई नयाँ प्रमुख चुनेको जनाएको छ।
नसरल्लाहपछि प्रमुख हुने ठानिएका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि चार साताअघि इसराइलले हत्या गरेको थियो।
इसराइलले अक्टोबर २२ मा विज्ञप्ति निकाल्दै सफिइद्दिन मारिएको पुष्टि गरेको थियो। उक्त हमलामा सफिइद्दिनसहित हिजबुल्लाह समूहको गुप्तचर शाखा प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना नेता र लडाकूहरू मारिएको दाबी इसराइलले गरेको थियो।
सफिइद्दिन पनि मारिएपछि सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका जीवित नेतामध्ये सबभन्दा वरिष्ठ उपमहासचिव नइम कासिमलाई नयाँ प्रमुख बनाइएको हो।
नसरल्लाह र सफिइद्दिनको हत्यापछि कासिम नै हिजबुल्लाह समूहमा सबैले चिन्ने नेता हुन्। तर उनी नसरल्लाह र सफिइद्दिन जति लोकप्रिय छैनन्।
नसरल्लाह र सफिइद्दिन दाजुभाइ हुन्। उनीहरूका आमा दिदी-बहिनी हुन्। नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित रहेकाले सफिइद्दिन जोगिएका थिए। त्यसपछि उनी हिजबुल्लाहका नयाँ प्रमुख हुने अपेक्षा गरिएको थियो।
केही वर्षअघि नै नसरल्लाहपछि सफिइद्दिन हिजबुल्लाह प्रमुख हुने तय भएको मानिन्छ। उनी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को विदेशी समूह (हमास, हिजबुल्लाह, हुथी) परिचालन गर्ने कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीसँग पनि नजिक थिए।
सुलेमानीको सन् २०२० जनवरीमा इराकको राजधानी बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले हत्या गरेको थियो। त्यसको केही महिनापछि उनकी छोरीसँग सफिइद्दिनका छोराको विवाह भएको थियो।
अक्टोबर ३ को इसराइली हमलापछि सफिइद्दिन हिजबुल्लाहको सम्पर्कमा नआएको समाचारहरू आएका थिए। हमला भएको ठाउँमा हिजबुल्लाहले उद्धारकर्मी पठाउन नसकेकाले उनको मृत्यु पुष्टि भएको थिएन।
नसरल्लाह प्रमुख हुनुअघि कासिम उनीभन्दा वरिष्ठ थिए। अब्बास अल मुसावी महासचिव (प्रमुख) हुँदा नै कासिम उपमहासचिव थिए। तर १९९२ मा दक्षिणी लेबननमा इसराइलले मिसाइल हानेर मुसावीको हत्या गरेपछि कासिमलाई प्रमुख नबनाएर हिजबुल्लाहले नसरल्लाहलाई प्रमुख बनाएको थियो। कासिम त्यसपछि पनि उपमहासचिव कायम रहे।
लोकप्रिय नभएको लगायत कारणले त्यति बेला प्रमुख नबनाइएका कासिम नसरल्लाहपछि पनि प्रमुख बन्ने सम्भावना थिएन। तर इसराइलले सफिइद्दिनलाई समेत मारेपछि उनी प्रमुख बनेका हुन्।
इसराइलले लगातार आक्रमण गरेर प्राय: सबै वरिष्ठ नेता र कमान्डर मारेको र हतियार भण्डार तहसनहस बनाएका बेला हिजबुल्लाहको नेतृत्व गर्नु उनका लागि चुनौतीपूर्ण हुनेछ।
हिजबुल्लाहले कासिमलाई प्रमुख बनाएको घोषणा गर्नेबित्तिकै इसराइलले उनको पनि हत्या गर्ने धम्की दिइसकेको छ।
इसराइली रक्षामन्त्री योआभ ग्याल्यान्टले सामाजिक सञ्जाल 'एक्स' (ट्वीटर) मा मंगलबार पोस्ट गर्दै उनको नियुक्ति अस्थायी भएको र लामो समय नरहने भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)