गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा राकेश प्रसाद महतो निर्वाचित भएका छन्।
लामो समयदेखि मलेसियामा रहेका व्यवसायी महतो एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष समेत हुन्।
महतोको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन भएको एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि प्रसाद भट्टराईले जानकारी दिए।
यस्तै, उपाध्यक्षमा राजु तामाङ, नारायण अधिकारी, बिनोद पाण्डे र अनिल कुमार चौधरी, महिला उपाध्यक्षमा लिला मगर, युवा उपाध्यक्षमा सन्तोष पौडेल, महासचिवमा विशु प्रसाद बराल, सचिवमा उमेश कोइरी महतो र रमेश पौडेल, कोषाध्यक्षमा खेमराज खत्री र सहकोषाध्यक्षमा सुरेश कुमार देवकोटा चयन भएका छन्।
युवा संयोजकमा राजन हायु राई र महिला संयोजकमा शोभा कुमारी खड्का चयन हुँदा कार्यसमिति सदस्यहरूमा हरि बहादुर बस्नेत, कैलाश विष्ट, रूपेश वि.क, बाबुराम थापा मगर, टिपेन्द्र बुढामगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्र बहादुर थापा, दिपक प्रसाद यादव चयन भएका छन्।
विधि विधान र पद्धति अनुसार आफूहरू सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्न सफल भएको एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि प्रसाद भट्टराईले बताए।
'नयाँ कार्यसमिति चयन भएर शपथ पनि भइसकेको छ। यो कार्यसमितिले मलेसियामा रहेका श्रमिकको हकहितमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ,' उनले भने, 'यहाँ रहेका सबै समुदायसँग हातेमालो गर्दै मलेसियाबाट नेपालमा लगानी लैजाने वातावरण बनाउन एनआरएनए मलेसिया सफल हुनेछ।'
नवनिर्वाचित अध्यक्ष महतोले पनि संक्षिप्त मलेसियामा रहेका सबै एनआरएनहरूलाई एकताबद्ध बनाएर काम गर्न आफूले भरपुर प्रयास गर्ने बताए।