गैरआवासीय नेपाली संघ एनआरएनएले जेनजीले गरेको शन्तिपूर्ण प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेको छ।
प्रहरीले चलाएको गोलीका कारण हालसम्म १९ जनाको मृत्यु भएको र ३४७ जना व्यक्ति घाइते भएका खबरहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो। एनआरएनएले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
‘लोकतान्त्रिक मुलुकका हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्ने संवैधानिक अधिकार प्रत्याभूत हुन्छ। यसर्थ गैरआवासीय नेपाली संघ घाइतेहरुको निशुल्क उपचार गर्न, मृतकका परिवारलाई अविलम्ब राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, ‘जेनजी’ पुस्ताले उठाएका उचित मागहरूको समयमै सम्बोधन गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न, भोलिका दिनमा हुनसक्ने यस्ता किमिसका प्रदर्शनपूर्व नै उच्च सुरक्षा सतर्कता अपनाई जीउ–ज्यानको सुरक्षा सुनिश्चित गर्न, शान्तिपूर्ण प्रदर्शनहरूमा अत्यधिक बल प्रयोग नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।
संविधानप्रदत्त गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल नहुने गरी व्यवस्था गर्न सरकारलाई अनुरोध समेत गरेको छ।