बेलायती महारानी एलिजावेथले राज्यारोहण गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा गत सप्ताहन्तमा बेलायतमा अतिरिक्त सार्वजनिक विदासहित राष्ट्रिय उत्सवकै रूपमा समग्र बेलायत ‘पार्टीमय’ बन्यो।
महारानीको दरवार ‘बकिंगहम प्यालेस’ अगाडि दसौं हजार मान्छेहरू जम्मा भएर विशेष कन्सर्ट लगायत बेलायतका सबै शहरहरू बेहुलीझै सिंगारिए।
बेलायतका जनताहरुले महारानीको अनवरत देश सेवाको लागि धन्यवाद ज्ञापन गर्दै राजसंस्थाप्रतिको सम्मान व्यक्त गर्दा सिंगो बेलायत उत्सवमय रह्यो।
यसैबीच बेलायतमा बस्ने नेपालीले पनि एउटा विशेष समारोहको आयोजना गर्दै नेपाली शैलीमा महारानीको प्लाटिनम जुब्ली पृथक तरिकाले मनाएका छन्।
बेलायत मिडल्याण्डको सिर्जनशील नेपाली समाजले आयोजना गरेको समारोहमा स्थानीय बेलायती सांसद, मेयरसहित सयौंको संख्यामा बेलायतभरका नेपाली समाजसेवी तथा आम नेपालीहरु कार्यक्रममा सरिक भएर नेपाली शैलीमा ‘पार्टी’ मनाएका छन्।
नेपाली शैलीमा पञ्चे बाजाको धुनसहित झन्डै ७ सय नेपालीको उपस्थितिमा नेपाली मौलिक सांस्कृतिक माहोलले ‘प्लाटिनम जुब्ली’ समारोह पृथक बनाएको थियो। नेपाली भेषभुषा, सांस्कृतिक कार्यक्रम, गीत संगीत र नाचगानलाई लिएर बेलायती जनप्रतिनिधि दंग देखिन्थे।
सिर्जनशील लेष्टर नेपालले सोमबार साँझ लेष्टरमा गरेको विशेष कार्यक्रममा महारानीको दीर्घजीवनको कामना गर्दै बेलायतका नेपालीले रानीलाई बधाई दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली शैलीमा आयोजित कार्यक्रमले बेलायत तथा नेपालबीचको दुई देशको सम्बन्धको ऐतिहासिक विशिष्टता झल्काएको जनाए ।
स्थानीय बेलायती सांसद क्लडिया वेब, लेस्टरका मेयर जर्ज कोल लगायतका बेलायती अतिथिले महारानीको प्लाटिनम जुब्लीलाई उत्सवका रुपमा मनाउने बेलायतका नेपालीप्रति आभार व्यक्त गरे।
कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिम्खडा र युरोप उपसंयोजक दयानिधि सापकोटा, बीबीसी मास्टर सेफ सन्तोष साह, एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेल, काउन्सिलर जीत रानाभाट, साझा नेपाली समाज यूकेका कार्यवाहक अध्यक्ष कृष्ण खरेल, सिर्जनशील लेष्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेललगायत वक्ताले मन्तव्य राखेका थिए।
कार्यक्रमका सभापति एवं आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा बेलायतभरबाट उपस्थित नेपाली समुदायका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा लेष्टर र मिडल्याण्डका पिटरबरो, नटिङहम, बर्मिङहम, ग्रान्थम, वुल्भरह्याप्टन, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए।
महासचिव पुण्डरी अर्यालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिँदै सचिव शिव पराजुलीले संस्थाको परिचय सहित ‘प्लाटिनम जुब्ली’ कार्यक्रमको सोचबारे जानकारी गराएका थिए।
कार्यक्रममा नेपालबाट आएका आधा दर्जन बढी नेपाली कलाकारले नेपाली लोक सांस्कृतिक प्रस्तुती दिएका थिए। स्थानीय कलाकारको नेपाली नृत्य साथै नेपाली पञ्चे बाजाको प्रस्तुतिले कार्यक्रममा रोचकता थपेको थियो ।