नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमा पर्यटन सम्वद्ध सरोकारवालाको उपस्थितिमा ‘नेपाल साँझ’ कार्यक्रम सम्पन्न भएको छ।
लन्डनस्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार बेलुका आयोजना गरेको कार्यक्रममा बेलायतीको पनि उल्लेख्य उपस्थिति थियो।
‘नेपाल इभिनिङ’ का रुपमा सञ्चालित कार्यक्रममा नेपालका आकर्षक पर्यटकीय गन्तव्यहरुका विषयमा प्रिजेन्टेसन गरी जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको पर्यटन कोभिडपूर्वकै अवस्थामा फर्किन लागेको जानकारी दिए।
नेपालको पुरानो मित्र राष्ट्रका रुपमा बेलायतले नेपालको पर्यटनमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उनले थप सहयोग अपेक्षित रहेको बताए।
नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले नेपाल सबै सिजनमा सबै उमेर समूहका पर्यटकको लागि उचित गन्तव्य रहेको बताए।
नेपालसँग रहेको पर्यटनको अथाह सम्भावनालाई सदुपयोग गर्न पर्यटन बोर्डले पहल गरिरहेको उनले जानकारी दिए।
त्यसअवसरमा नेपालमा समेत पर्वतारोहण गरिसकेका बेलायती पर्वतारोहीहरु सर क्रिस बोनिङटन र एलान हिंक्स ‘ओबिई’ ले आ-आफ्ना नेपाल अनुभवहरु सुनाए।
पर्वतारोहण र पदयात्रा दुवै प्रयोजनलाई नेपाल संसारकै उत्कृष्ट गन्तव्य रहेको उनीहरुको भनाइ थियो।
कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, नेपालको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसी, वर्ल्ड ट्राभल मार्केटमा भाग लिन आएका नेपाली डेलिगेटहरुका साथै उल्लेख्य ट्राभल व्यवसायसँग सम्बन्धित बेलायती व्यवसायी एवम् अधिकारीहरुको पनि उपस्थिति थियो।
सो अवसरमा स्थानीय नेपाली कलाकारले सारंगी, बांसुरीसहितका मौलिक नेपाली बाजाको सांगीतिक प्रस्तुति गरेका थिए भने कार्यक्रम सञ्चालन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन्।