सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
'महामारी' शब्दलाई बृहत नेपाली शब्दकोशले हैजा, प्लेग आदि जस्ता संक्रामक रोग भनेर अर्थ्याएको छ। सामान्य बुझाइमा पनि महामारीले धेरैलाई मार्न सक्ने भन्ने बुझाइ हुन्छ। यो शब्दले आफैंमा एउटा व्यापक अर्थ बोकेको छ।
महामारी कुनै नौलो विषय होइन। विश्वको पुरानो भाषामध्यको एक संस्कृतमा समेत दैबी शक्तिले गर्ने विनाश भन्ने अर्थ बोकेको यस अवस्थाले आदिकालमा पनि मानिसलाई क्षति पुर्याइरहेको भन्ने बुझ्न सकिन्छ। विश्व समुदायमा केही समय अगाडि देखिएका महामारी भनेका जीका, इबोलाहरू नै होलान्।
सन् २००५ देखि २०१२ सम्म एचआइभीको महामारी पनि हामी सबैको स्मरणमा ताजै हुनुपर्छ। अनेकौं नाम गरेका फ्लुहरू बेलाबेला निस्किरहन्छ। यी कुनै पनि महामारीले अहिले देखिएको कोरोना भाइरस सिर्जित कोभिड १९ को जस्तो अवस्था सिर्जना गरेनन्।
सन् १९१८ को स्पेनिस फ्लु अर्थात प्लेग व्यहोरेका मानिस अहिलेको समयमा सायद छैनन् होला। त्यसैले अहिलेका मानिसले महामारीका कारण यो अवस्था सिर्जना होला भनेर कहिल्यै अनुभव गर्ने मौका पाएका थिएनन्। मानिसहरू ठानिरहन्थे कि अहिलेको स्वास्थ्य विज्ञान र डाक्टर भएपछि कुनै पनि त्यस्ता महामारी आउने छैनन र तिनले केही बिगार गर्न सक्ने छैनन्।
हाल भइरहेको कोरोनाको महामारीले मानव समुदायका विभिन्न वर्ग समुदाय, तह र तप्कामा असर पुर्याएको हामीले देखिरहेका छौं। कुन कुन क्षेत्रमा के-कस्तो असर पुर्यायो भन्ने बारे हामी सबै जानकार छौं। सबैले भन्न सकिन्छ किनकि आजभोलि टेलिभिजनका न्युज च्यानल तथा अन्य सामाजिक संजालका माध्यममा हुने बहस भनेको यिनै विषयमा हो। कतिलाई त्यस्ता बहस सुन्दा वाक्क दिक्क पनि लागिसकेको छ। तर यी सबै असर पर्ने क्षेत्रमध्यको सबै भन्दा कम बहस हुने मानसिक क्षेत्र हो। नियालिएको कम तर असर ठूलो ल्याउने भएकाले कोभिडको 'अन्डररेटेड' क्षेत्र बनेको छ मानसिक क्षेत्र।
नेपालको कुरा गर्ने भने आज लकडाउनकाे दुई महिना बितिसक्दा मानिस घरभित्रै छन्। फाट्टफुट्ट बाहिर निस्केका मानिस पनि एक दिनमा शारीरिक अभ्यास नै पुग्ने गरी भने हिँड्न पाएका छैनन्। यो भनेको मानिस अनलाइन प्ल्याटफर्म तथा मोबाइल ल्यापटप मै छन् भन्नु पनि हो। अब सोचौं, दिनमा थुप्रै तरिकाले शारीरिक रूपमा व्यस्त रहेका नेपालीहरूको मनमा के बितिरहेको होला? शारीरिक तरिकाले सावधानी अपनाइरहेका हामी मानसिक तरिकाले ठीक छौं त?
कोभिडले गर्दा मानिसको मनमा निकै खलबली उत्पत्ति भएको छ। वास्तवमा मानिस लकडाउन अघि जे गर्दै थिए, त्यसकै आधारमा सोचिरहेका छन्। यसैमा आधारित रहेर समाजका विविध वर्ग, समुदाय, पेशा कर्मीहरूको मानसिक अवस्थाबारे यहाँ विवेचना गर्न गइरहेको छु।
सबैभन्दा आनन्दित देखिएका कक्षा १० भन्दा तलका विद्यार्थीलाई समेत बिदा धेरै भइसकेको छ। उनीहरू नयाँ साथी, पुराना साथी, नयाँ पुस्तक तथा कयौं नयाँ सुरूवातका लागि आतुर छन्। उनीहरूको मन मस्तिष्कमा शैक्षिक अभ्यास कहिले सुरू होला भनेर अत्यास लाग्न थालेको छ।
यो महामारीको अवस्थाको अन्त्य नहुने बेलासम्म कक्षा १०, ११ र १२ को परीक्षा नहुने सम्भावना बढी छ। यी सबै बोर्डको परिक्षा दिने विद्यार्थीको मनमा अनेकौं कुराहरू चलिरहेको छ। परीक्षा कहिले हुने भन्ने कुरा नै अन्यौलमा रहँदा राम्रो तयारी गर्न सकिँदैन। अर्को, परीक्षा सकेर कयौं कुराको तयारीमा लाग्ने सोचेका विद्यार्थीले भने कुनै कुरा सम्भव नहुने यस अवस्थामा एक किसिमको हतास महशुस गरेका छन्। भविष्य अन्यौल देखेर समेत चिन्तित भैरहेका छन्। उनीहरूको अबको विकल्प भनेको घरमै तयारी गर्नु र सरकारको निर्णय कुर्नु हो।
नियमित रूपले काम गरिरहेका कर्मचारीहरू बिदाको आनन्दबाट निस्किसकेका छन्। यस्तो अवस्था सिर्जना हुनुपूर्व कहिले बिदा होला भनेर भित्तेपात्रोमा आँखा लगाइरहने कर्मचरीहरू अहिले अफिस गएर काम गर्न इच्छुक छन्। उनीहरूको मन पनि तरंगित नै छ। कतिपय क्षेत्रका कर्मचारीहरू आफू व्यस्त भइरहेको कार्य क्षेत्रको उपलब्धि कम देखिनाले कार्यालय नै बन्द हुने हो की जस्तो ठान्छन् भने कतिपय क्षेत्रका कर्मचारीहरू बचत गरेर राखेको पैसा पनि सकिने बेलासम्म लकडाउन खुलेन भने के गर्ने होला भन्ने कुराले चिन्तित छन्।
'वर्क फ्रम होम' सबै क्षेत्रमा सम्भव नहुने भएकाले उनीहरू अब कोभिड र लकडाउनको समाप्ती नै कुरिरहेका छन्। स्वास्थ्य क्षेत्रका पेशाकर्मीहरूलाई एक हिसाबले भन्नु पर्दा मानसिक सोचाई मात्र होइन मानसिक तनाब नै उत्पन्न भइसक्यो। एकातिर कोभिडका बिरामीलाई जोगाउनु छ, अर्कोतिर आफू सुरक्षित रहनु छ। मन मष्तिस्कमा उत्पन हुने सोचाईं उनीहरूमा पनि कम छैन। पेशा छोड्न त्यति सजिलो छैन। अर्कोतिर सबैलाई बचाउँदा आफू सुरक्षित हुन सकिएन भने?
नेपालमा निकाे हुनेकाे संख्यामा आएको उल्लेख्य सुधार देख्दा हर्षित हुने अवस्था छ तर संक्रमित बढिरहेको अत्यन्तै चिन्तित पनि छन्। आफ्नो घरबाट टाढा बसेर काम गर्ने डाक्टर, नर्सलाई घरबेटीको तर्फबाट आएका घर छोड्ने दबाबबारे हामी सबै अवगत नै छौं। कतिपय स्थानमा त्यस अवस्थाबाट डाक्टरहरूले आफ्नो आत्मविश्वास गुमाएका पनि छन्। घरबेटीको त्यस्तो व्यवहार सह्य छैन्। तर अहिलेको अवस्थामा उनीहरूलाई राम्रोसँग व्यवहार गर्नु र उनीहरूले राम्रोसँग उपचार दिनु जरूरी छ।
मजदुर तथा श्रमिकहरू सारै दयनीय अवस्थामा छन्। उनीहरूको मनमा अहिले एउटा मात्र प्रश्न उठेको छ- आजको दिन बाँच्ने कसरी? श्रमिकहरू प्रायः दैनिक ज्यालादारीमा निर्भर हुन्छन्। प्रायः उनीहरूको बचत न्यून वा शून्य नै हुन्छ। सानासाना कुरामा खुसी हुने मजदुर वर्गहरू अहिलेको अवस्थामा निरास छन्। उनीहरूको मनमा अहिले रोगले भन्दा भोकले मर्ने डर छ। उनीहरूको परिवारमा सामान्य खाना समेत खान कठिन भइरहेको अवस्था छ।
एउटा सानो बच्चालाई पोषणयुक्त खाना पुर्याउन नसक्दा उनीहरूको मनमा कयौं कुराले प्रहार गरिरहेका हुन्छ्न्। दैनिक ज्यालै भए पनि आम्दानी भइरहँदा टेलिभिजन, रेडियो जस्ता संचार माध्यमहरूबाट दैनिक खबरहरू सुन्न पाइरहेका हुन्थे। अहिले आम्दानी नहुँदा संचार सम्पर्कबाट पनि बन्चित हुनुपरेको छ। अर्थात, उनीहरू कोभिडका सुरक्षा उपायबारेका सन्देशहरूबाट समेत बन्चित भएका छन्। यस्ता कयौं समस्याले प्रहार गरेका श्रमिकहरू मानसिक रूपले सबलचाहिँ पक्कै छैनन्।
कृषि क्षेत्रको कुरा गर्दा, कृषि उत्पादन राम्रोसँग बजारमा जान नपाउँदा कृषकहरूमा निराशाको भाव छ। मानसिक रूपले उनीहरू खर्च नउठ्ने चिन्तामा छन्। उत्पादन भइसकेका वस्तुहरू खेर नजाओस् भन्ने सोचेका छन्। सकारात्मक कुरा के भने, अन्य पेशा समूहका मानिसहरू भन्दा उनीहरू केही ढुक्क देखिन्छन्। उनीहरू खानाका निम्ति चिन्तित छैनन्। हुनु पनि पर्दैन।
कुनै समय बजारतिर बसाइँसराइ गर्न नपाएको चिन्ता गर्ने उनीहरू अहिले सबै मान्छे गाउँ फर्केको देख्दा खुसी पनि भएका छन्। आफ्नो माटो माथि गर्व महशुस गरेका छन्। कृषि नै देश विकाशको मेरूदण्ड हो भन्ने कुरामा थप विश्वास गरेका छन्। लामो समयदेखि बाँझो राखिएका खेतबारीमा समेत कृषिजन्य उत्पादन बढाउने योजना बनाउन थालेका छन्।
महिलाहरू प्रायः घरको व्यवस्थापन र सम्पूर्ण कार्यमा व्यस्त हुन्छन्। उनीहरूलाई सधैं घरका सम्पूर्ण सदस्यको चिन्ता हुन्छ। यस अवस्ठामा त्यस्तो चिन्ता निकै बढेको छ। एकातिर आर्थिक व्यवस्थापन मिलाउन कठिन छ, अर्कोतिर कोरोनाले मिलाइदिएको पारिवारिक अवस्थामा हुने व्यस्तता अति नै बढी छ। महिलाहरूमा आफ्नो बालबच्चाको भावी पढाइको निरन्तरतादेखि आउने दिनमा देखिन सक्ने संकटले चिन्ता उत्पन्न गराएको छ। गर्भवती अवस्थाका महिलाहरूमा भने स्वास्थ्य सेवा र सुरक्षित सेवा पाइँदैन कि भन्ने त्रास छ।
एक सुत्केरी कोरोना संक्रमित भएर ज्यान गुमाउनु परेको समाचार आएदेखि उनीहरूमा झन् त्रास देखिन लागेको हो। यस्ता अनेकौं कुराले चिन्तित भइराखेका महिलाहरूको मानसिक अवस्था पनि निरन्तर कम्जोर हुँदै गइरहेको छ।
कोरोना महामारी कारण सृजित लकडाउनको अवधीमा घरेलु हिँसाका घटनाहरू निकै सुन्नमा आएका छन्। भारतमा अत्याधिक रूपमा देखिएको यो समस्या नेपालमा पनि देखिन सुरू गरेको छ। प्रायःजसो घरमा सामान्य खानपान पनि नपुगेका बेला श्रीमानले मादकपदार्थ सेवन गरेर आउने र घरमा झगडा गर्ने हुँदा हुँदै मारपिटसम्म पुग्ने अवस्था देखिएको छ।
विशेषगरी बिना आम्दानी खर्च गरिदिने र आम्दानीका लागि अनुचित दबाब दिने यस अवस्थामा घरका अन्य सदस्यहरू पनि शारीरिक र मुख्यगरी मानसिक अवस्थाबाट पीडित भएका छन्। एकातिर उनीहरू कोरोनाका कारण जुटेको पारिवारिक जमघटमा रमाउन पाउँदैनन्। अर्कोतिर उनीहरूलाई आर्थिक समस्याले पिरलिरहेकाे हुन्छ। मानसिक रूपमा उनीहरूको पीडा पनि चरम अवस्थामा छ।
कोभिडको 'अन्डररेटेड' पक्ष अर्थात यो मानसिक पक्षलाई अलिक गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आएको छ। जर्मनका अर्थमन्त्री थोमस स्काफरले कोभिड पछि जर्मन अर्थतन्त्रमा गिरावट आउने देखेर यत्तिकै आत्महत्या गरेका छैनन्।
अहिलेका हरेक व्यक्तिको मानसिक पक्ष कोभिडले निम्त्याएको एउटा निकै संवेदनशील विषय हो। यसलाई सार्वजनिक र खुला बहस छलफल गरिनु पर्छ। ताकि यस समस्याको समाधान राम्ररी गर्न सकियोस्। त्यसैले, मुखले 'घरमा बसौं, सुरक्षित बसौं' भन्ने मात्र होइन यो महामारीमा मान्छेको मनले 'घरमा बसौं, सुरक्षित बसौं र मानसिक रूपले सबल होऔं' भन्न जरुरी छ।
(शाश्वोत शर्मा अमरसिंह माध्यमिक विद्यालय, पोखरामा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)