कौसी खेती गरेर पनि पुरस्कार पाइन्छ?
४८ वर्षीया भगवती श्रेष्ठले कहिल्यै सोचेकी थिइनन्।
हलोखबर डटकमले बागमती प्रदेश स्तरीय 'कौसी क्वीन–२०७७' फोटो प्रतियोगिता गरेपछि उनलाई अचम्म लागेको थियो। छोरीको साथीमार्फत उनले प्रतियोगिताबारे थाहा पाएकी थिइन्। छोरीले नै प्रतियोगितामा फोटो पठाइदिन्।
कौसी खेती प्रवर्द्धनका लागि गरिएको प्रतियोगितामा सर्वोत्कृष्ट भएपछि त घरको छतमा खेती गरेर पनि पुरस्कार पाइन्छ भन्ने पत्याउन उनलाई करै लाग्यो।
पुरस्कार स्वरूप उनले ५५ हजार ३ सय रुपैयाँ बराबरको कौसी खेती सामग्री पाउनेछिन्।
काठमाडौं, ठूलो भर्याङ बस्ने भगवतीको जन्मघर रामेछाप हो। उतै साधारण लेखपढ गरेकी उनको २०४७ सालमा बिहे भयो। बिहेपछि काठमाडौंको जीवन गृहिणी बन्दैमा बित्यो।
त्यही समयमा उनले खेतीको आफ्नो सोख विस्तार गरिन्। क्षेत्रपाटीमा भाडा बस्दा जम्मा चारवटा गमलामा तरकारी रोपेकी थिइन्। पछि २०६० सालमा ठूलो भर्याङमा घर बनाएपछि ती चार गमला साथै ल्याइन्।
कोठा लिएर बस्दा त गमलामा तरकारी फलाउने भगवतीले घर भएपछि छतलाई बारी नै बनाइन्। वरिपरि खाली जग्गा भएकाले माटोको चिन्ता भएन।
'त्यतिखेर यहाँ अहिलेजस्तो घर थिएनन्। खुला जमिन थियो, जहाँबाट जति माटो निकाले पनि हुन्थ्यो,' उनले भनिन्।
कौसी खेती गर्दा उनलाई सबभन्दा बढी मिहेनत परेकै माटो बोकेर छतमा लैजान थियो। छोराछोरी सानै, श्रीमान काममा जाने भएकाले एक्लै छतसम्म माटो बोकेर सिँढी उक्लेको सकस उनलाई हिजो जस्तै लाग्छ।
'मैले बिस्तारै माटो ओसारेँ। घर फोहोर होला कि भन्नेमा पनि होसियार थिएँ,' उनले भनिन्, 'दुःख गरेर बनाएको घर बिग्रिन्छ, फोहोर हुन्छ भन्ने चिन्ताले जस्ता पातामाथि बोरामा माटो राखेर तरकारी रोपेकी छु।'
कौसी खेतीका लागि कति नै माटो चाहिएला भन्नुहोला। भगवतीको कौसी-बारी हेर्ने हो भने कुनै नर्सरीभन्दा कम छैन।
उनले कौसीमा मौसम अनुसारका सबै प्रकारका तरकारी रोपेकी छन्। सागसब्जी, अम्बा, कागती, निबुवा, भोगटे, लसुन, प्याज, धनियाँ, कर्कलो, टमाटर, सिमी, फर्सी, मूला, घ्यूकुमारी जस्ता थुप्रै तरकारी-फलफूल फलेको छ। अझ आलु पनि छतमै फल्छ। घरमा खान ल्याउँदा टुसा लागेका आलु काटेर रोप्छिन् उनी।
झन् लसुन, अदुवा र खुसार्नी त एक पटक लगाएपछि परिवारलाई एक वर्षसम्म खान पुग्छ।
सुरूमा भगवतीले केही तरकारीका बिरूवा बजारबाट किनेर ल्याएकी थिइन्। पछि आफैंले फलाएको फलबाटै बिउ राख्न थालिन्। त्यसपछि उनलाई बिउ किन्न त्यति परेको छैन।
'आफैंले राखेको बिउले राम्रो उत्पादन दिँदैन भन्छन्। तर मलाई त राम्रै भएको छ,' उनले आफ्नो अनुभव सुनाइन्।
उनको तरकारी लगाउने तरिका भने अलि भिन्न रहेछ।
उदाहरण दिँदै भनिन्, 'एउटा खुर्सानीको बोट मान्छेहरूले दुई-चार वर्षसम्म राख्छन्। मलाई भने सालैपिच्छे नयाँ बोट रोप्न मजा लाग्छ।'
यसमा उनको कामप्रतिको मोह झल्किन्छ।
कौसी खेती सुन्दा आकर्षक र सहज लागे पनि समस्याबिहीन हुँदैन। भगवतीले पनि गर्दै, सिक्दै, सुधार्दै यहाँसम्म आइपुगेकी हुन्।
सुरूसुरूमा त जस्ता पातामाथि सिधै माटो राखेर लगाएको तरकारी पानी पर्दा सबै बग्थ्यो। निराश नभइकन उनले उपाय खोजिन्- जस्तामाथि बोरा ओछ्याउने, बोरामै पनि रोप्ने। अहिले उनको छतमा करिब एक सय बोरामा तरकारी रोपिएको छ। घामपानीले बिगार्ने हुँदा ६-६ महिनामा बोरा फेर्छिन्। श्रीमानको कारखाना भएकाले बोरा किनिरहन पनि पर्दैन।
कौसीमा घामपानी सबै मिल्ने भएकाले भाँती पुर्याएर रोप्न जाने जमिनमा भन्दा राम्रो फल्ने भगवतीको अनुभव छ। यो खेतीमा धेरै खर्च पनि नलाग्ने उनी बताउँछिन्।
तरकारीमा हाल्ने मल पनि किन्न पर्दैन उनलाई। घरमै निस्केका कुहिने फोहोरबाट आफैं मल बनाउँछिन्। फोहोर बोरामा राखे छिट्टै कुहिने उनको अनुभव छ। अरूलाई पनि बाल्टिनमा भन्दा बोरामै राख्न सुझाउँछिन्, 'पहिला मैले पनि बाल्टिनमा राख्थेँ। बाल्टिनमा राख्दा चिप्लो भएर गनाउने रहेछ।'
भगवतीको कामप्रतिको लगन यतिमै सीमित छैन। उनले घरमा कुखुरा पनि पालेकी छन्। ४ वटा खोरमा ३२ कुखुरा छन्।
'सुरूमा एउटा मात्रै खोर थियो। पछि थप्दै गएँ,' उनले भनिन्, 'तरकारीमा हाल्ने मलकै लागि कुखुरा पालेकी हुँ भन्दा फरक पर्दैन। कुखुरा पालेपछि मासु, अन्डा, मल केही पनि बाहिर किन्न परेन।'
उनले पालेका कुखुरा 'लोकल' हुन्। तिनलाई बजारको दाना नभई घरकै खाना खुवाउँछिन्।
'सानो चुलो बनाएकी छु। घरमै भएका बाल्न मिल्ने कुरा बालेर पकाउने हो। कुखुरालाई चुलोमै भात दिन्छु,' उनले भनिन्, 'आफूलाई चाहिने पानी पनि त्यही चुलोमा उमाल्छु। तातो पानी भइहाल्छ, यसले खाना बनाउँदा ग्यास पनि कम लाग्ने रहेछ।'
कहिलेकाहीँ तरकारीमा लाही कीरा लाग्छ। कुखुराको मल मिलेन भने माटोमा पनि सेतो कीरा बस्छ। उनका अनुसार यसको समाधान गाईको गहुँत र खरानी हो। उनलाई गहुँत घरमा दूध ल्याइदिने मान्छेले ल्याइदिन्छन्।
यो खेतीले उनलाई मुख्यतया दुइटा ढुक्क भएको छ- भान्सामा 'अर्ग्यानिक' तरकारी र पैसा बचत। आफूले नफलाएका केही फरक स्वादका तरकारी खान मन भए मात्र उनी बाहिर किन्छिन्।
'दैनिक तरकारी किन्न गाह्रै हुन्छ। फेरि बेमौसमी तरकारी महँगा हुन्छन्,' उनले भनिन्, 'आफूलाई तुरून्त चाहिएका बेला बजार जानुभन्दा कौसीबाट टिपेर पकाउँदा छुट्टै आनन्द आउँछ। स्वस्थकर पनि।'
भान्साको खर्च कम गर्न छत हुनेले कौसीखेती गर्न उनी सुझाउँछिन्। माटो एकपटक ल्याएपछि भइहाल्छ। अहिले त माटो बिनाका प्रविधि पनि आएका छन्।
'पानी हाल्ने र कहिलेकाहीँ गोडमेल गरे पुगिहाल्छ,' उनले भनिन्, 'आफूले मिहिनेत गर्यो भने केही खर्च लाग्दैन। उल्टो तरकारी किन्ने मासिक १०–१५ हजार बच्छ।'
आफ्नो कौसीबारी देख्नेले गरेको प्रशंसाले उनलाई अझै हौसला थपिन्छ। तर कसैले भने 'यसरी तलमाथि हिँडिरहँदा पछि घुँडा खिइन्छ, किनेर खाँदा भइहाल्यो, के दुःख गर्या' पनि भन्दा रहेछन्। उनलाई ती कुरामा विश्वास छैन।
भन्छिन्, 'यसरी काम गर्दा त शारीरिक व्यायाम पो हुन्छ। मन पनि खुसी रहन्छ।'
आजभोलि उनको मन अझै खुसी छ, कौसी खेतीको पनि राम्रो मूल्यांकन हुन थालेको छ। उनले त पुरस्कारै पाइसकिन्। अनि केही आफन्तहरू पनि सिको गर्न थालेपछि उत्साहित छिन्।
भन्छिन्, 'म त सकुन्जेल कौसी खेती निरन्तरता दिन्छु। यसले मलाई सन्तुष्टि दिएको छ।'