इलामस्थित फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न बित्छ।
बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको मेल सक्नुपर्छ। उनले सानाठूला गरी ४२ गाईभैंसी पालेकी छन्। बिहानमात्र होइन, दिनसमेत उनको त्यहीँ गाईभैंसीको स्याहारमै बित्छ।
उनले आफूले मात्र सबै काम नभ्याउने छाँट देखिएपछि फार्ममा केही कामदार पनि राखेकी छन्। घरका प्रायः काम भने उनले नै भ्याउँछिन्। गत पाँच वर्षअघि यो फार्म पाँचवटा गाईबाट सुरूआत गरिएको हो।
उनका श्रीमान (सरोज) अर्थोपार्जनका लागि विदेश गएका थिए। सन्तान साना थिए। घरमा साना बच्चाबच्ची हुर्काउने बाध्यता ममताका काँघमा थियो। श्रीमान घर फर्किएपछि व्यवसायिक तवरले गाई पाल्ने सल्लाह भयो। एकातिर बालबच्चा पढाउनमा समस्या थियो भने अर्कातिर स्वदेशमै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्यो।
वैदेशिक रोजगारीका क्रममा कमाएको रकम लगानी गर्नकै लागि श्रीमानश्रीमती मिलेर सुरूमा फार्म सुरू गरे। खासै धेरै रकम थिएन। फार्म दर्ता गर्न पाँच वटा गाई चाहिन्छ भन्ने बुझेपछि ऋणपान गरेर त्यति नै गाई किने।
दिनानुदिन वस्तु पाल्नमा आकर्षण बढ्दै गयो भने आकर्षणसँगै फाइदा पनि। त्यतिकै मात्र पाँचबाट सात, सातबाट नौ गर्दै अहिले पाँच भैँसी र ३० गाईसँगै केही बाच्छा र पाडा छन्।
अहिले ममताका श्रीमानको विदेशिने सोच पनि छैन। उनलाई पनि नयाँ काम गर्नुपर्ला जस्तो लाग्दैन। एकातिर आफ्नै फार्ममा काम हुन्छ भने अर्कातिर डेरी पनि आँगनमै छ। गाउँको दूध भेला पारेर त्यही डेरीमा घिउ र छुर्पी बनाइन्छ।
यसका लागि धेरै कसरत पनि गर्नु परेन। घिउ र छुर्पी बनेपछि घरबाटै बिक्छ। ममता र उनका श्रीमानको ५० गाईभैँसी पाल्ने सोच छ।
आफ्नै बाँझो बारीमा घाँस लाएका छन्। आउँदै निजी नम्बरी जग्गा पनि अहिले सदुपयोग भएको छ।
केही वर्षअघिसम्म चिल्ला पहाड लडेको ठाउँमा अहिले धुस, अम्रिसोलगायत घाँसजन्य वस्तु रोपिएको छ। यसैले घाँस खोज्न टाढा जानु पर्दैन। आफ्नै बारीको संरक्षण भएको छ भने गाईभैंसीलाई घाँस पनि। अहिले ममताको डेरी र फार्मबाट मासिक रु ५० हजार आम्दानी हुन्छ। यो रकम विगतमा गाई किन्दा डेरी र गोठ निर्माणमा लागेको खर्च तिर्दैमा सकिन्छ।
गाईभैंसी पाल्ने जाँगर बढेपछि बैंककबाट रकम निकालेका छन्। यसको साँवाब्याज पनि तिरिसकिएको छैन। ममताका बारीमा अहिले अलैंची, अदुवालगायत खेती पनि कमै मात्र छ।
गाईभैंसी पाल्न घाँस चाहिने भएपछि घरको घुरेनसम्म घाँसै रोपिएको छ। अहिले दम्पतीलाई नै यो पेशाबाट सन्तुष्टि छ। अहिले खासै फाइदा नभए पनि भविष्यमा केही हुन्छ भन्ने विचार छ। ममताले चार जनालाई काम पनि दिनुभएको छ। आफ्नो मात्र नभई यहाँबाट अरूको समेत परिवार पालिएको छ।
पछिल्लो समय जिल्लाभर नै भैंसी दुर्लभरूपमा मात्र पालिन्छ। हैरानी हुने भएपछि भैंसीपालन घटेको छ। ममताको फार्ममा भने भैंसी नै भैंसी पालिएको छ। भैंसीको दूधमा चिल्लो पदार्थ गाईको भन्दा बढी हुने भएकाले भैंसी पालेको ममताको तर्क छ।
धेरै गाईको दूधमा केही भैंसीको दूध मिसाउँदा दूधमा क्रिम राम्रो बस्ने बुझेपछि भैंसीपालन थालिएको हो। डेरी र फार्मको ऋण तिर्न ममतालाई केही समय लाग्छ। तर हिम्मत हार्नुभएको छैन। यसैको आम्दानीले छोराछोरी पनि पढिरहेका छन्। निरन्तर काम गरिरहेकाले पनि होला व्यवसाय सहजजस्तो भएको छ।
दुग्ध उद्योगमा लीलाको लगानी
सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी लीलादेवी भट्टराईको दिनचार्य अहिले पहिलेजस्तो छैन। आफ्नै घरमा भएको डेरीमा बिहान सबेरैदेखि खट्नुपर्ने हुन्छ। विसं २०३३ मा पाँचथर जन्मेकी लीला एक सङ्घर्षशील महिलाका रूपमा चिनिन्छन्।
सानैदेखि सामाजिक कार्यमा रुचि भएकी उनलाई विवाहपश्चात् समेत केहीले छेकेन। विवाहपछिका अनेकौं चुनौतीलाई पार गर्दै अहेव अध्ययन गरिन्। महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्य गर्दै नौ वर्षसम्म अहेवको करारमा जागिर खाएकी लीला सामाजिक सङ्घसंस्था, सहकारी, महिला समूह गरी १० वटाभन्दा बढी सङ्घसंस्थामा आबद्ध भई कार्य गर्थिन्।
पढेर जागिरै खाए पनि लीलालाई चित्त बुझेन। आम्दानी राम्रो हुने यत्रतत्र सुनेपछि घरमै गाई पाल्ने सोच बनाइन्। आजभन्दा पाँच वर्षअघि रु पाँच लाखको पुँजीमा स्थापना गरेको भट्टराई कृषि पशुपालन तथा डेरी उद्योगमा सञ्चालन गरेको सालमा पहिलोपटक गोठ बनाउनका निमित्त रु पाँच हजार अनुदान पाएपछि हिम्मतका साथ कार्य गर्न अघि बढिइन्।
परम्परागत डेरीबाट दैनिक ३०० लिटर दूधको दैनिक १२ किलो घिउ र छुर्पी उत्पादन गर्दै आएकी उनी मासिक १२० किलो घिउ र छुर्पी उत्पादन हुने यसबाट किसानको पेमेन्ट कामदारको तलबबाहेक रु ३० हजार नाफा हुँदै आएको बताउँछिन्।
आधुनिक डेरीको सञ्चालनपश्चात् करिब एक हजार लिटर दूध उत्पादन हुने र यसबाट मासिक रु एक लाख आम्दानी हुनेछ। हाल तीन पुरुष र दुई महिला गरी पाँचजनाले रोजगार पाइरहेका छन्।
दूध वृद्धि भएपश्चात् थप तीन गरी जम्मा नौजनाले रोजगार पाउनेछन्। यसको आम्दानीले परिवार धानेको छ भने छोराछोरीको उच्च शिक्षा पढ्न धोको पनि पूरा गरेको छ।
केही वर्षअघि उन्नति परियोजनाले सहयोगपछि भने व्यवसाय धान्न झनै सहज भएको छ। उन्नतिकै कारण गाईवस्तु पाल्न सिक्न पाइयो भने सामग्री जोड्न सफल भएको लीलाको भनाइ छ।
लीला कहाँ आधुनिक ढङ्गको आधुनिक डेरीसमेत सञ्चालन हुँदैछ। आधुनिक डेरी उद्योग पूर्ण सञ्चालनपश्चात् एक हजार लिटर दूध तयारी खपत गर्ने उनको योजना छ। रासस