सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको पवित्र जनकल्याण कृषि सहकारी संस्थाको आफ्नै बिउ उत्पादन उद्योग छ। २०५८ सालदेखि कृषि क्षेत्रमा काम गर्दै आएको सहकारीले २०७२ सालमा बिउ उद्योग स्थापना गरेको हो।
बिउ उत्पादन गरी विभिन्न जिल्लामा पु¥याउने योजना बनाए पनि सहकारी जिल्ला भन्दा बाहिर जान नमिल्ने भएकाले उसले आफ्नै बिउ उद्योग दर्ता गरेको हो। अहिले सहकारीले ३० प्रकारका खाद्यान्न तथा तरकारीजन्य बिउ उत्पादन गर्छ। वार्षिक दुई सय मेट्रिक टन बिउ उत्पादन हुने गरेको छ।
तरकारी बालीतर्फ विभिन्न जातका मूला, केराउ, स्वीचाड, रायो, पालङगो, चम्सुर, प्याज, धनियाँ, गाजर, सलगम, गोलभेडा, सिमी, बोडी, भिन्डीको बिउसहकारीले उत्पादन गर्दै आएको छ। यस्तै खाद्यन्न बालीतर्फ जौं, मकै, धान र मसुरोको बिउउत्पादन सहकारीले गर्छ।
सहकारीले राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) बाट मूल बिउ किन्छ। उक्त बिउ किसानलाई दिएर थप उत्पादन गर्ने सम्झौता गर्छ। किसानले उत्पादन गरेको बिउ पनि सहकारी आफैंले खरिद गर्छ। नार्कबाट खरिद गरेको बिउ ५० प्रतिशत सहुलियतमा किसानलाई बिक्री गर्ने गरेको सहकारीका व्यवस्थापक चन्द्र ओझाले बताए।
‘हामीले नार्कबाट किनेको बिउ ५० प्रतिशत कममा किसानहरूलाई दिन्छौं, त्यसबाट उनीहरूले उत्पादन गरेको बिउ फेरि हामीले पूर्ण मूल्यमा किन्छौं,’ व्यवस्थापक ओझाले भने, ‘हामीले यसरी ७ सय भन्दा बढी कृषकहरूसँग गरेको सम्झौता गरेका छौं, कृषकबाट किनेको बिउ फेरि हामी विभिन्न जिल्लामा पुर्याउँछौं।’
सहकारीले देशका ३६ जिल्लामा आफूले उत्पादन गरेको बिउ पुर्याउने गरेको छ। सहकारीका अध्यक्ष चन्द्रकला गुरूङका अनुसार कर्णाली प्रदेशका डोल्पाबाहेक ९ वटा जिल्ला, सुदुरपश्चिमका ९ वटा जिल्लामा बिउ पु¥याईन्छ।
यस्तै लुम्बिनी प्रदेशका बाँके, बर्दिया, रुपन्देही, पाल्पा र दाङमा बिउपठाउने गरिएको अध्यक्ष गुरूङले बताइन्। गण्डकी प्रदेशका कास्की, म्याग्दी र पर्वत, बाग्मती प्रदेशका काठमाडौं, सिन्धुपाल्चोक, धादिङ र काभ्रे, मधेश प्रदेशको सर्लाही र कोशी प्रदेशका ओखलढुङ्गा, झापा, सुनसरी, इलाम र धनकुटा जिल्लामा पवित्र सहकारीले उत्पादन गरेको बिउ पुग्ने गरेको छ।
किसानले उत्पादन गरेको बिउ विभिन्न जिल्लामा विक्री गर्न थालेपछि सहकारीको आफ्नो आम्दानी पनि बढेको व्यवस्थापक ओझाले बताए।
उनका अनुसार सहकारीले आर्थिक वर्ष ०७९/८० मा मात्र ५ करोड बराबरको कारोबार गरेको छ।
सहकारीले सुर्खेत, कैलाली र काठमाडौंमा बिउ वितरण केन्द्र समेत स्थापना गरेको छ। अब नेपालगञ्ज र बुटवलमा वितरण केन्द्र स्थापना गर्ने योजना बनाएको उनले बताए। सहकारीले स्थानीय पालिकाहरू, एग्रोभेटहरू र बिउ कम्पनीमार्फत उत्पादित बिउ विक्री गर्ने गरेको छ।
सहकारीलाई बिउ उत्पादन र बजारीकरणमा सघाउने उद्देश्यले स्टोर निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ।
परियोजना कार्यान्वयन इकाई सुर्खेतका प्रमुख पुष्पराज पौडेलका अनुसार स्टोर निर्माणका लागि २३ लाख ८० हजार १६२ रुपैयाँ सहयोग गरिएको हो।
सहकारीलाई भण्डारण सुविधाको व्यवस्था गर्दा सुविधा विस्तारले नमूना बिउ उत्पादन केन्द्रका रूपमा स्थापित गर्ने विश्वास परियोजनाले लिएको पौडेलले बताए।
ऋण प्रवाह गर्दा सहकारीले बिउ खरिद र जग्गा भाडामा लिनका लागि मात्रै कृषकहरूलाई दिने गरेको व्यवस्थापक ओझाले बताए।
‘यसको मुख्य उद्देश्य भनेको मुल बिउ खरिद र जग्गा भाडामा मात्रै ऋण दिने छ, अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने सहकारीको नियम छ,’ उनले भने।
कृषकहरूले उक्त प्रयोजनका लागि ५० हजारदेखि २ लाख रुपैयाँसम्म ऋण पाउँछन्।
सहकारीमा हाल १ हजार १५३ जना शेयर सदस्य छन्। बिउ उत्पादनका लागि सहकारीले यो वर्ष ९० लाख रुपैयाँ किसानहरूलाई लगानी गरेको उनले बताए।